logo

bar

निर्वाचन परिणामको शल्यक्रिया

नयाँ पत्रिका | पुष ०३, २०७४

निर्वाचन परिणामको शल्यक्रिया – कांग्रेसको वर्तमान नेतृत्वले अब पार्टी, देश र जनतालाई समय र युवा चाहनाअनुसार विचारसहितको नेतृत्व दिन सक्दैन । जसले कांग्रेसलाई अघि बढाउन सक्छ, कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक जनता सबैलाई एकताबद्ध गराई पार्टीलाई पुनर्जीवन दिन सक्छ, उसैलाई अब नेतृत्वमा ल्याउनुपर्छ ।

संकटमोचनमा कांग्रेसको भूमिका

नेपालको राजनीतिक इतिहासमा कांग्रेसले राष्ट्र र जनतालाई संकट पर्दा पटक–पटक निकास दिएको छ । जनतालाई रैतीबाट नागरिक बनाउने २००७ सालको जनक्रान्तिको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो । निर्दलीय पञ्चायत अन्त्य गरी प्रजातन्त्र पुनस्र्थापित गर्ने ऐतिहासिक जनआन्दोलन पनि कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो । ०५२ सालमा सुरु भएको सशस्त्र विद्रोहबाट १७ हजारभन्दा बढी नेपाली नागरिक मारिए । कैयौँ बेपत्ता भए भने कैयौँ अंगभंग भए । कैयौँ विस्थापित भए । यस्तो विकराल समस्या समाधानको नेतृत्व पनि कांग्रेसले नै गरेको थियो ।

दोस्रो जनआन्दोलनपछि भएको संविधानसभाको पहिलो निर्वाचनमा माओवादी पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो पार्टी बने । पहिलो माओवादी र तेस्रो एमालेबाट प्रचण्डजी, बाबुरामजी, माधवजी, झलनाथजी प्रधानमन्त्री बन्नुभयो । तर, उहाँहरूको नेतृत्वमा संविधान बन्न सकेन, देश अन्योलमा गयो । देश भाषण र गफको चौघेरामा बन्दी बन्यो । अन्ततः संविधान नबन्दै पहिलो संविधानसभा विघटन भयो । जब दोस्रो संविधानसभाको निर्वाचन भयो, तब मात्र कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो नेतृत्वमा एकातिर एमाले र अर्कातिर माओवादीजस्ता पार्टीलाई साथमा लिएर संविधान निर्माणको नेतृत्व गर्नुभयो ।

यसरी संविधान निर्माण गर्नु जति कठिन थियो, कार्यान्वयनको चरण पनि त्यति नै कठिन थियो । दक्षिण अफ्रिकामा संविधान बनाउनुअगाडि जति हिंसा भयो, त्योभन्दा पनि बढी हिंसा संविधान कार्यान्वयनको चरणमा भयो । र, हामी पनि संविधान कार्यान्वयनको अप्ठ्यारो घेरामा फस्यौँ । त्यस अप्ठ्यारोबाट देश र जनतालाई निकास दिन कांग्रेसले कहिले माओवादी अध्यक्ष प्रचण्डजीको नेतृत्वमा त कहिले आफैँले नेतृत्व गरेर स्थानीय तहको निर्वाचन सम्पन्न गरायो ।

स्थानीय तहदेखि, प्रदेश र केन्द्रसम्मको निर्वाचन गराएर संविधान कार्यान्वयन तथा संकटकालीन अवस्थाबाट नेपाललाई निकास दिन कांग्रेसकै नेतृत्वको अहम् भूमिका रह्यो । कांग्रेसकै नेतृत्वमा आज एमाले र माओवादीको वाम गठबन्धनलाई बहुमत प्राप्त भएको छ । यी सबै प्रजातन्त्रका अत्यन्त राम्रा पक्ष हुन् । कांग्रेसले देशलाई संकट परेको समयमा आफू अल्पमत वा बहुमत जहाँ भए पनि त्यसलाई भुलेर देशलाई निकास दिएको छ ।

पार्टीको कमजोर नतिजाको कारण

स्वर्णाक्षरमा लेखिनलायक यति राम्रो इतिहास हुँदाहुँदै पनि हामी कहाँनेर चुक्यौँ ? हामीबाट कहाँनेर गल्ती भयो ? कहाँनेर हाम्रो कमजोरी रह्यो ? यस विषयमा अब हामीले खुला मनले समीक्षा गर्नुपर्ने भएको छ । विगतमा हामीले आफ्नै नेतृत्वमा संविधान त निर्माण ग¥यौँ तर आफैँले निर्माण गरेको संविधानलाई अब समृद्धिको बाटोमा कसरी हिँडाउने, देशलाई समृद्धिसित कसरी जोड्ने, जनतालाई विकास कसरी दिने भन्ने विषयमा हामी किन चुक्यौँ ? र, हाम्रा प्रतिपक्षीहरू कम्युनिस्ट हुन् भन्ने किन बुझेनौँ ? विगतमा अरुण तेस्रो किन र कसका कारण बन्न सकेन ? बुढिगण्डकी किन फिर्ता गर्नुप¥यो ? अरुण तेस्रो र बुढिगण्डकीसित नेपाल र नेपालीको सम्बन्ध के हो तथा यसले देश र जनतालाई कहाँ र कसरी सम्पन्नतामा लान सक्छ ? यसलाई हामीले विकाससित जोडेर जनतामाझ पु¥याउनै सकेनौँ ।

हामीले संविधान संशोधन प्रस्ताव त अघि बढायौँ, तर सो प्रस्तावले न तराई मधेसलाई खुसी गरायो, न त पहाडलाई नै विश्वासमा लिन सक्यो । संविधान संशोधन प्रस्तावमार्फत हामीले दुवै पक्षलाई असन्तुष्ट गरायौँ । सो प्रस्ताव असफल भइसकेपछि पनि हामीले फेरि संशोधनकै कुरा ग¥यौँ । यसले मधेसी र पहाडी दुवै समुदायलाई चिढ्यायो । संशोधनको विषयमा बोल्दै गर्दा हामीले नेपाल र नेपाली जनतामा यसको कस्तो प्रभाव पर्छ भन्नेबारे सोच्दै सोचेनौँ । भारतले गरेको नाकाबन्दीको समयमा पनि त्यस्तै भयो ।

चन्द्र भण्डारी

हामीले सो नाकाबन्दीका कारण नेपाली जनताले कति सास्ती भोग्नुप¥यो भन्नेतर्फ खासै ध्यान नदिएजस्तो सन्देश जनतामाझ गयो । भारतले हाम्रा हरेक मुद्दामा खुला रूपमा गरेको हस्तक्षेपले हामीलाई के असर गरिरहेको छ, भारतका कारण कांग्रेसलाई कहाँनेर फाइदा र कहाँनेर घाटा भयो ? बिपीदेखि सुशील कोइरालासम्म त्यसको कस्तो प्रभाव प¥यो, देश, जनता र स्वयं कांग्रेसलाई कहाँनेर घाटा भयो ? सुशील कोइरालाजस्ता संविधान जारी गराउन नेतृत्वदायी भूमिका खेल्ने नेताले हार्ने निश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीमा उठेर पराजयको बाटो किन रोज्नुप¥यो ? यस्ता गम्भीर प्रकृतिका विषय र प्रश्नको हामीले गम्भीरतापूर्वक समीक्षा गर्नै सकेनौँ वा आवश्यक नै ठानेनौँ । हामी जहिल्यै सत्ताको खेलमा लाग्यौँ ।

आफू र आफ्ना मान्छेलाई मन्त्री बनाउने प्रवृत्ति पार्टी राजनीतिमा हाबी भयो । राम्रा होइन, आफ्ना मानिस खोज्नमा गौरव ठान्ने प्रवृत्तिलाई हामीले बढावा दियौँ । हामीले ६४ जनाको जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुँदै गर्दा पत्रकारलाई अझै बढाउँछौँ भनेर सगौरव जवाफ दियौँ । नेपाली समाज र पार्टी जीवनमा त्यसको के र कस्तो असर पर्छ भन्नेबारे हामीले अलिकति पनि आँकलन गर्न सकेनौँ । देश र जनतालाई संकटबाट पटक–पटक निकास दिने कांग्रेसनेतृत्व सत्ता सञ्चालनमा भने पटक–पटक चुक्दै आयो । हामीले कहिले प्रधानन्यायाधीशमाथि महाभियोग लगायौँ, कहिले आइजिपी प्रकरणमा मुछियौँ । यस्ता अनेकौँ विषयलाई नेपाली जनताले सूक्ष्म ढंगले मूल्यांकन गरे । र, त्यसको प्रभाव निर्वाचन परिणाममा देखियो ।

हामीले आफूसित भएको इतिहास, विचार, दृष्टिकोण र समृद्धिको भिजन जनतामाझ पु¥याउन सकेनौँ । परिणामतः हामीले सोचेजस्तो, चाहेजस्तो नतिजा प्राप्त गर्न सकेनौँ । विगतमा हामीले कहिले एमालेलाई सँगै लिएर हिँड्यौँ भने कहिले माओवादीलाई । यसले गर्दा दुवै शक्तिसितको मित्रतामा हामीले स्थायित्व प्राप्त गर्न सकेनौँ । कसैसितको सम्बन्ध पनि लगातार लामो समयसम्म अघि जान सकेन । हामीलाई नेपाल, नेपाली जनता र नेपाली युवाको चाहना र आवश्यकता पनि थाहा थियो । कन्जर्भेटिभ राष्ट्रियताका आधारमा अहिलेको ग्लोबल भिलेज चलिरहेको छ भन्ने पनि हामीलाई थाहा थियो । त्यसैका नतिजा हुन् भारत, युरोपेली युनियन वा अमेरिका । तैपनि, जनतालाई कुन वा कस्तो विचारले छुन्छ भन्नेतिर हामीले ध्यानै दिएनौँ ।

पुगनपुग तीन करोड जनसंख्या भएको नेपालका झन्डै ५२ लाख युवायुवती विदेशमा सस्तो मूल्यमा श्रम बेचिरहेका छन् । जति नेपाली बिदेसिन्छन्, त्यति नै गरिबीले भन्दा पनि उनीहरूलाई राष्ट्रियताको विषयले छुन्छ । त्यही राष्ट्रियताका लागि हामी आजीवन लडिरह्यौँ । लिपुलेकको विषयमा नेपालका कुनै पनि राजनीतिक दलले बोल्न सकेनन् । हामीले चीन जाँदा होस् या भारत जाँदा होस्, त्यसबारे प्रस्ट अडान लियौँ ।

तर, आफूले गरेका यति राम्रा कुरालाई जनतामाझ पु¥याउने सन्दर्भमा चाहिँ हामी यसपटक पनि चुक्यौँ । कालिगण्डकी, बुढिगण्डकी, फास्ट ट्र्याक, लिपुलेक, कोसी, गण्डकी सम्झौता, सिमाना अद्यावधिक गर्ने विषयमा आफूले सबैभन्दा जोडले उठाएका आवाजलाई जनतामाझ लान हामीले सक्दै सकेनौँ । त्यति मात्र नभई आफैँले बनाएको घोषणापत्रबारे पनि जनतासम्म पर्याप्त र सही सूचना हामीले पु¥याउन सकेनौँ । हामी सबै निर्वाचनमा संलग्न त भयौँ । तर, ककसले त्यसको व्यवस्थापन गर्ने, कोको प्रचार प्रसारमा खटिने र आफूमाथि प्रतिपक्षीले लगाएका आरोपको जवाफ कसरी दिने जस्ता पक्षको व्यवस्थापनमा पार्टीपंक्ति चुक्यो ।

यो निर्वाचनमा प्रत्यक्षतर्फ पपुलर मत पाँच लाखभन्दा बढी र समानुपातिकतर्फ कांग्रेस पार्टीलाई आममतदाताको मजबुत समर्थन र सद्भाव हुँदाहुँदै पनि प्राविधिक रूपमा हामीले प्रतिनिधिसभा तथा प्रदेश सभामा बलियो उपस्थिति देखाउन सकेनौँ । कुन स्थानमा कस्तो व्यक्तिलाई उम्मेदवार बनाउने र कहाँ कोसित तालमेल गर्ने भन्ने पक्षमा पनि हामी चुक्यौँ । अहिलेका युवा वाम गठबन्धनप्रति किन आशावादी देखिए ? यस्ता पक्षमा पनि हामीले ध्यान पु¥याउन सकेनौँ । यो नै अहिले देखिएको हामी सबैको कमजोरी हो ।

पार्टीले लिनुपर्ने दिशा

प्रत्यक्ष निर्वाचनतर्फ देशव्यापी रूपमा प्रतिकूल नतिजा आएको समयमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा अब हाम्रो समग्र ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । यतिखेर सिंगो पार्टीपंक्ति अत्यन्तै चुनौतीपूर्ण घडीमा उभिएको छ । आगामी दिनमा कांग्रेसलाई पुनः पहिलेकै अवस्थामा पु¥याउन हामीले त्यति धेरै मिहिनेत गर्नुपर्ने अवस्था थिएन । किनकि, कांग्रेसका कार्यकर्ता केवल पार्टीलाई भोट मात्र दिन्छन्, नेतृत्वबाट धेरै आशा गर्दैनन् र विचलित पनि कहिल्यै हुँदैनन् ।

त्यस्ता कार्यकर्ताको पनि हामीले व्यवस्थापन गर्न सकेनौँ । र, विकासका इन्जेक्सन त दियौँ, तर चर्को रूपले विचारका इन्जेक्सन भने दिन सकेनौँ । विगतको हिंसाको समयमा मौन बस्दा पनि जनताले कांग्रेसलाई राम्रो मत दिएका थिए । अहिले पनि कांग्रेस मौन मात्र बसिदिए पनि उसलाई माया गर्ने जनताको यहाँ कुनै कमी छैन । उसले समयानुकूल देश र जनताका पक्षमा सत्ताबाहिरै बसेर बोलिरह्यो भने जनताले फेरि पनि कांग्रेसलाई मत दिनेछन् । किनकि, कांग्रेसले हिंसा गर्दैन, जबर्जस्ती चन्दा असुली गर्दैन, कसैमाथि हातपात गर्दैन, जनअधिकार र लोकतन्त्रविरुद्ध कहिल्यै जाँदैन भन्ने जनतालाई राम्ररी थाहा छ । यति हुँदाहुँदै पनि कांग्रेसको वर्तमान नेतृत्वले अब पार्टी, देश र जनतालाई समय र युवा चाहनाअनुसार विचारसहितको नेतृत्व
दिन सक्दैन ।

अबका दिनमा पार्टीमा नयाँ नेतृत्व तथा नयाँ विचार र दृष्टिकोणको आवश्यकता छ । यसको अर्थ बाहिर बसेर नेतृत्वको तथानाम आलोचना गर्नुपर्छ भन्ने होइन । तर, पार्टीभित्र नेतृत्व, विचार, दृष्टिकोण र लक्ष्यबारे भने बहस हुनैपर्छ । जसले कांग्रेसलाई अघि बढाउन सक्छ, जसले कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुक जनता सबैलाई एकताबद्ध गराई पार्टीलाई पुनर्जीवन दिन सक्छ, उसैलाई अब नेतृत्वमा अगाडि ल्याउनुपर्छ । यति गर्न सकियो भने मात्र अहिलेको चुनौतीपूर्ण घडीमा पार्टीलाई अघि बढाउन सकिन्छ ।

कांग्रेसको चुनौती अहिले पनि आफैँ हो, आफूकेन्द्रित राजनीति हो, राजासँग नझुकेका कार्यकर्तालाई दक्षिणासहित झुकाउन खोज्ने र सत्तामा छँदा आफ्ना साथीलाई नदेख्ने प्रवृत्ति हो । राष्ट्रका निम्ति विचार र दृष्टिकोण राख्दा कहिले नेतृत्वको काँधमा चढेर, कहिले हेलिकोप्टर त कहिले सीमांकनको गोलीबाट आफ्ना साथीहरूलाई घायल गर्ने कार्यबाट यो पंक्तिकार पनि अहिले उठ्न सकेको छैन । सबैलाई अपनत्व दिलाउन समान अधिकारका रूपमा लिइएको समानुपातिक प्रणालीलाई धनी बाबुआमाले बाँड्ने दाइजोरूपी प्रवृत्तिले धेरै कांग्रेसीजनलाई निरुत्साहित गराएको छ । अब सच्चिनुपर्छ भागबन्डाबाट । अन्यथा, पार्टी अझै ठुल्ठूला अप्ठ्यारामा फस्न सक्छ । कांग्रेसभित्र प्रशस्त पालुवा छन्, तिनलाई लहलहाउन असल मालीको आवश्यकता छ । त्यस्तो मालीको खोजी नै यतिखेर कांग्रेसको सबैभन्दा ठूलो आवश्यकता हो ।
(भण्डारी कांग्रेस केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया