logo

bar
logo
Advertisment
SKIP THIS

गठबन्धन सरकारका चुनौती र अवसर

नयाँ पत्रिका | पुष ०३, २०७४

गठबन्धन सरकारका चुनौती र अवसर – भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले वाम गठबन्धनको पक्षमा स्पष्ट जनमत दिएको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा दुईतिहाइ सिटमा गठबन्धनले जित हात पारेको छ । जनता जनार्दन हुन् भन्ने उखान चरितार्थ भएको छ । जनता परिवर्तन, स्थिरता, आर्थिक समृद्धि र विकास चाहन्छन् । छिमेकी मुलुकसँग आत्मीय सम्बन्ध राख्न चाहन्छन्, सुशासन चाहन्छन् । जनाताले अब बन्ने वामपन्थी गठबन्धनको सरकारबाट यिनै कुराको अपेक्षा गरेका छन् ।

जितबाट उन्मादित हुनु र हारबाट हतोत्साही हुनु अहिलेको आवश्यकता होइन । जितका कारण पहिचान गर्नु वाम गठबन्धनको पहिलो कार्य हो भने हारको समीक्षा गरी आगामी कार्यदिशा तय गर्नु लोकतान्त्रिक गठबन्धन अर्थात् कांग्रेसको अबको बाटो हो । जनताले अब बन्ने सरकारबाट धेरै कुराको अपेक्षा गरेका पनि छैनन् । शान्ति, स्थिरता, समृद्धि विकास र सुशासन नै जनताको प्रमुख अपेक्षा हुन् । यिनै उद्देश्य परिपूर्तिका लागि जनताले ०७४ को निर्वाचनमार्फत पाँच वर्षका लागि स्थिर सरकार सञ्चालन गर्ने अभिभारा वाम गठबन्धनलाई सुम्पेका हुन् ।

कांग्रेसले मुलुकमा लामो समयसम्म शासन गर्ने मौका प्राप्त ग¥यो । ०१५, ०४८ र ०५६ मा स्पष्ट बहुमत प्राप्त गरी सरकार सञ्चालन गर्ने जिम्मेवारी पायो । तर, दुर्भाग्य नै भन्नुपर्छ, तीनैपटक पूर्ण बहुमतको सरकार पाँच वर्ष पनि चल्न सकेन । यसका पछाडि धेरै कारण हुन सक्छन् । तर, जनता र मुलुकले स्थिर सरकार नपाएको चाहिँ पक्कै हो । यसको अर्थ मुलुकमा ०४६ को प्रजातन्त्र पुनस्र्थापनापछि विकास निर्माण र समृद्धितर्फ केही नभएको भन्ने होइन ।

उदारवादी अर्थतन्त्र र निजी अर्थतन्त्रलाई प्रोत्साहन गर्ने कार्य कांग्रेसको सरकारबाटै प्रारम्भ भएको हो । तर, राजनीतिक स्थिरता नभएकाले हुनुपर्ने विकास र समृद्धि नभएको धरातलीय यथार्थलाई हामीले बिर्सनु हुँदैन । अर्को महŒवपूर्ण सवाल अल्पमतको सरकार र संयुक्त सरकारका अभ्यास पनि मुलुकमा ०४६ पछि नै देखिएको हो । त्यसमा एमाले र माओवादी केन्द्रको संलग्नता पनि रहेकै हो । तीनै प्रमुख दलको सहकार्य तथा सहमतिमा मुलुकले ०७२ मा संविधानसभामार्फत नयाँ संविधान पाएकै हो । त्यही संविधान कार्यान्वयन गर्ने सिलसिलामा लोकतान्त्रिक अभ्यासअन्तर्गत संघीय संरचनाअनुसार स्थानीय, प्रदेश र संघको निर्वाचन भएको हो ।

इतिहासबाट जनताले धेरै शिक्षा लिएका छन् । ११ वर्षमा १० वटा सरकार गठन भएको तीतो यथार्थ हाम्रो विगत हो । वर्तमानले त्यसलाई स्वीकार गरेन । त्यही यर्थाथबाट सिकेर स्थिरता तथा समृद्धिका लागि आगामी पाँच वर्ष वाम गठबन्धनलाई जनताले स्पष्ट बहुमत दिएका छन् । यो निर्णय कुनै लहड र लोभमा परेर रातारात भएको होइन भन्ने हेक्का अब बन्ने सरकारले राख्नुपर्छ ।

कांग्रेसको पराजयका कारण

कांग्रेसको पराजयबारे अहिले राजनीतिक वृत्तमा अनेकाँै चर्चा चलेका छन् । बारम्बार बहुमतको सरकार बने पनि पाँच वर्षसम्म सरकार सञ्चालन गर्न नसक्नु, पुरानै अनुहारको बाहुल्य हुनु, आफूले सरकारमा बस्दा गरेका राम्रा कार्यबारे जनतामा सम्प्रेषण गर्न नसक्नु, निर्वाचनमा नौलो एजेन्डा प्रस्तुत गर्न नसक्नु, जनताले नबुझ्ने क्लिष्ट शब्दावली अधिनायकवादको अत्यधिक प्रयोग गर्नु, ०५२ सालको प्रधानमन्त्रीकै नेतृत्वमा सरकार र चुनावी अभियान सञ्चालन गरिनु, जनता आकृष्ट गर्ने चुनावी नारा नहुनु र बारम्बारको परीक्षणमा असफल हुनु कांग्रेस पराजयका मुख्य कारण हुन् ।

यसका साथै, भारतले लगाएको नाकाबन्दीको समयमा रक्षात्मक स्थितिमा बस्नु र वाम अधिनायकवादको भूतलाई जनताले नपत्याउनु, अधिनायकवादी मसला बजारमा बिक्री नहुनु तथा कांग्रेसी सरकारका अलोकप्रिय काम, मधेसको आधार जोगाउन नसक्नु, गैरकम्युनिस्ट मत आकर्षित गर्न नसक्नु, जनतामा भन्दा ज्योतिषशास्त्रमा विश्वास गर्नु, तदर्थवादी शैलीमा पार्टी चलाउनु, भूकम्पपीडितलाई राहत उपलब्ध गराउन नसक्नु र लोकतान्त्रिक पद्धति तथा आचरण प्रदर्शन नगर्नु नै कांग्रेसको पराजयका प्रमुख कारण हुन् ।

गठबन्धनको जितका कारण

करिब ६५ प्रतिशत वामपन्थी हुँदाहुँदै पनि टुटफुटका कारण कमजोर देखिँदै आएका वामपन्थी पार्टी एमाले र माओवादी केन्द्रले निर्वाचनको पूर्वसन्ध्यामा एकाएक गठबन्धन गरी पार्टी एकीकरण हुने घोषणासमेत गर्नुले जनतामा ठूलो आशा जगायो । अन्ततः त्यही नै गठबन्धनको विजयको आधार बन्यो । वामपन्थीप्रति जनताको समर्थन एकै रातमा उर्लिएको होइन । विगत तीन–चार वर्षदेखि नै दलका गतिविधिलाई जनताले नियालिरहेका थिए ।

जीवनप्रकाश शर्मा

भारतीय नाकाबन्दीविरुद्ध र संविधान जारी गर्ने क्रममा भारतीय प्रभावविरुद्ध केपी ओलीले लिएको अडानले आमजनतामा वामपन्थीप्रति आशा जगाएको थियो । यसैले एमाले–माओवादी केन्द्रबीच भएको एकता, ओली र दाहालको व्यापक र आक्रामक चुनावी अभियान, विकास र समृद्धिका लागि स्थिर सरकारको नारा नै वामपन्थी गठबन्धन विजयी हुनुका प्रमुख कारण हुन् । बारम्बारको अस्थिर सरकारबाट पीडित जनताले स्थिर सरकारका लागि नै वामपन्थी गठबन्धनलाई यो निर्वाचनमा बहुमत दिएको तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन ।

चुनौती र अवसर

यस निर्वाचनले अब वामपन्थी गठबन्धनको पक्षमा सरकार बन्ने स्पष्ट देखिएको छ । तर, सरकारको स्थायित्वसामु चुनौतीका पहाड छन् । यी चुनौतीलाई अवसरका रूपमा परिणत गर्नु नै अबको सरकारको पहिलो दायित्व हो । गठबन्धन नरुचाउने र भाँड्न खोज्ने शक्ति पनि छन् । ती तŒवबाट नेताहरू सतर्क हुनैपर्छ । अब संक्रमणकालको बहानामा जनतालाई ढाँट्ने दिन सकिए । त्यसैले चुनावमा गरिएका विकास र समृद्धि, स्थिरता र सुशासनका प्रतिबद्धतालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्ने चुनौती आगामी गठबन्धनको सरकारसामु छ ।

त्यसैले बिहानीको घामबाट दिउँसोको मौसम अनुमान गरिएझैँ अब बन्ने सरकारका क्रियाकलाप पनि जनताले सजिलै मूल्यांकन गर्न सक्छन् । संघीयताको सफल कार्यान्वयन आगामी सरकारको अर्को चुनौती हो । यसैले संघीयताको उचित व्यवस्थापन, राजनीतिक स्थायित्व, स्थिर सरकार, विकास र आर्थिक समृद्धि र सुशासनजस्ता प्रमुख चुनौतीलाई अवसरका रूपमा बदल्दै अगाडि बढ्नुमै अबको सरकारको सफलता निर्भर रहनेछ ।

(शर्मा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक हुन्)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु