logo

bar

सम्पादकीय : हाम्रो सामाजिक परिवेश

नयाँ पत्रिका काठमाडाैँ | पुष ०३, २०७४

सम्पादकीय : हाम्रो सामाजिक परिवेश – काठमाडौंको वनस्थलीबाट माइक्रो चढ्दा यात्रुहरू लाममा उभिएर पालो पर्खन्छन् । पालोअनुसार बसेपछि गाडी आउनासाथ धकेलाधकेल ठेलमठेल हुँदैन । यसबाट यात्रु र चालक दुवै पक्षलाई सजिलो भएको छ । यस्तो पनि समाचार बनेको एक सातापछि भृकुटीमण्डप बसपार्क छेउमा पनि त्यसै गर्न थालियो भन्ने खबर आयो । यतिवेला त उपत्यका ट्राफिक कार्यालयले थप दश ठाउ“मा यात्रुलाई लाइनमा बसेर बस या माइक्रो बस चढ्न लगाउने निर्णय नै गरेर कार्यान्वयनमा ल्याउन लागेको छ ।

सुन्दा र पढ्दा पनि अलि अनौठो लाग्ने हुँदो रहेछ यस्ता समाचार पनि । जे गर्न खोजिएको छ, त्यो उहिल्यै हुनुपथ्र्यो । जे हुँदै थियो, त्यस्तो कहिल्यै हुनुहुन्थेन । तर, हामीले त्यस्तो गरेनौँ, उल्टो ग¥यौ“ । त्यसैमा बानी प¥यो । यातायातको भरपर्दो व्यवस्था नभएको, एउटा सवारी गएपछि अर्को कतिवेला आउँछ भन्ने टुंगो नहुने, फेरि आउँछ नै भन्नेसमेत निश्चित नहुने, हतार भइरहने र त्यसभन्दा बढी मानिस अरूलाई उछिन्दा खुसी हुने भएकाले बस चढ्ने र ओर्लने वेला जहिले पनि भिडभाड हुने गरेको छ हामीकहाँ । यात्रुहरू धकेलाधकेल गरेर पनि आफैँ पहिले जान खोज्छन् । यसरी धकेलाधकेल गर्दा वृद्धवृद्धा, महिला र बालबालिकालाई समेत धक्का दिन जुँगामुठे लाठेहरू लाज मान्दैनन् । जहिले पनि कमजोरलाई सास्ती हुन्छ ।

यो उहिल्यैदेखि जानेको हो, यसो गर्नु कत्ति संस्कारयुक्त भएन, असभ्य भयो । तर, कसैले पनि पहल गरेन । जसले पालो पख्र्यो, उसैले दुःख पायो जस्तो देखिने भयो यहाँ । यस्तो वेला जे समाचार आएका छन्, या जे–जस्तो थिती बसाल्न खोजिँदै छ, त्यो आफैँमा गज्जबको व्यवस्था हो । यसले हाम्रो सामाजिक व्यवहार र सोचाइमा कतिपय बिब्ल्याँटा र निमलेका पक्षलाई सब्ल्याँटो बनाउने र सच्याउने प्रयास आरम्भ भएको देखिएको छ । जहाँ यस्तो पालो प्रथा थालिएको छ, त्यहाँ पछि आउनेमध्ये कसैकसैको मन अमिलो भएको होला, तर उसका लागि पनि यो सुविधाले निकै अर्थ राख्नेछ जीवनमा ।

अहिले बलियोबांगो मान्छे कुनै दिन बिरामी पर्न सक्छ । कुनै दिन लडेर अपांग पनि बन्न सक्छ । बिरामी भएर सिकिस्त हुँदा पनि ट्याक्सी चढ्ने पैसा नभएर नियमित सवारीमा ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा फस्न सक्छ । त्यस्तो वेला सबै बलियाले मात्र पालो पाउने चलन कायम रहँदा त बिरामी हुने मान्छेलाई मुस्किल परिरहने नै हुन्छ । यसैले, यो अहिलेका कमजोरका लागि मात्र होइन, बलियाका लागि पनि बिल्कुल व्यक्तिगत हितको विषय हो ।

समाजमा यस्ता साना कुराले धेरै अर्थ राखिरहेका हुन्छन् । सडकछेउमा पिसाब नफेर्दा, मानिसको भिडभाडमै सिँगान नफाल्दा, चुरोट खाएर अरूलाई धुवाँले असर पर्ने गरी फुक्दै नहिँड्दा, गाडीले उछिनपाछिन गर्दै नकुद्दा, अस्पतालमा टोकन सिस्टम लागू गर्दा, आफूले बनाएको फोहोर जथाभावी नफाल्दा मानिसको जीवनमा निकै सकारात्मक प्रभाव परिरहेको हुन्छ । एउटा सभ्य समाजका लागि चाहिने सामान्य आचार व्यवहारका यी पक्षमा ध्यान दिन सके मात्र पनि देश बस्नलायक बन्छ । धेरै बिब्ल्याँटाहरू बाँकी छन्, सब्ल्याँटा बनाउन । क्रमशः हुँदै जान्छ भनेर आशा गरौँ । आखिर खाना खाँदा हात धुने र चर्पीमा दिसापिसाब गर्न थालेको पनि त धेरै वर्ष भएको छैन ।

तपाईको प्रतिक्रिया