logo

bar

समाजवादी ‘क्यानभास’मा लाल झन्डा

रणधीर चौधरी काठमाडौं, २ पुस | पुष ०२, २०७४

नेपालको पछिल्लो राजनीतिमा विकसित वाम एकताले आफ्नो प्रभाव देखाउन थालेको छ । भर्खर सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मत परिणामलाई कतिले स्वाभाविक र कतिले अस्वाभाविक रूपमा व्याख्या र विश्लेषण गरिरहेका छन् । र, सबैभन्दा बढी चर्चा छ लोकतन्त्रको हिमायती भन्ने दल कांग्रेसको स्खलनको । कांग्रेस हार्नु भनेको लोकतन्त्र हार्नु हो जस्ता भाष्य आमजनमा फिँजाउने प्रयास गरिरहने कांग्रेसीजनमा के साँच्चिकै लोकतन्त्र हारेकोबारे चर्चा गर्ने नैतिक बल बाँकी छ त ? कांग्रेस एउटा लोकतान्त्रिक दल हो भन्नेमा शंका छैन । तर, लोकतन्त्रको परिभाषासमेत परिवर्तन भइरहेको कालमा कांग्रेसले पुरानै परिभाषाका आधारमा लोकतन्त्रको हिमायती बन्ने छुट पाउँछ त ?

रणधीर चौधरी

नेपाली राजनीतिको विश्वविद्यालय भनिने पार्टी कांग्रेसका कार्यकर्ताले भन्ने गरेका हुन्छन्, ‘वान टाइम कांग्रेस इज फरएभर कांग्रेस’ । अर्थात्, जो एकचोटि कांग्रेस भयो ऊ सदाबहार कांग्रेस नै रहिरहन्छ । तर, समय–कालअनुसार हरेक कुरा परिवर्तनीय हुँदो रहेछ भन्ने यथार्थलाई नस्विकार्नु भनेको बौद्घिक दिवालियापन हो भन्ने पनि बिर्सनुहुँदैन । कांग्रेसको पतनका बाह्य कारणभन्दा पहिला आन्तरिक कारणमाथि प्रकाश पार्नु उचित हुन्छ । भनिन्छ कि कुनै पनि संगठन चलाउन तीन अवयवलाई प्रमुखतासाथ मन्थन र मनन गर्नु बुद्घिमत्ता हुन्छ । पहिलो, विचारमा प्रस्टता, दोस्रो, नेतृत्वमा एकता र तेस्रो, संगठनमा प्रतिबद्घता । यी तीन कुरा कांग्रेसको पराजयका आन्तरिक कारणभित्र पर्छन् ।

कांग्रेसमा प्रस्ट विचारको प्रवाहमा रोकावट छ । संविधानले स्विकारिसकेको धर्मनिरपेक्षतामाथि पार्टी अग्रपंक्तिका नेताले परिवर्तन हुन सक्छ भनेर बयानबाजी गर्ने गर्छन् । भ्रष्टाचारको मुद्दामा सजाय खेपिसकेका नेताले निर्वाचन लड्न पाउने या नपाउने सवालमा प्रस्तुत गरिएको विधेयकमाथि सबैभन्दा बढी अडान कांग्रेसले नै लगाएको थियो । यस्ता कैयन् दृष्टान्त छन् । अर्को, कांग्रेसको सांगठनिक प्रतिबद्घतामाथि जहिले पनि सवाल खडा भएको पाइएको छ । आफूले टिकट पाए ठीक नत्र आफ्नै पार्टीका अरूले टिकट पाए त्यसलाई हराउन चक्रव्यूह रच्नु कांग्रेसको परम्परा हो । पार्टीले लिएको सैद्घान्तिक अडानलाई समेत नमानी जथाभावी वक्तव्य जारी गर्ने पार्टी पनि कांग्रेस नै हो । संविधान संशोधनकै मुद्दामा पार्टीका नेताबीच मतैक्य नरहेको देखिन्छ । नेतृत्वमा एकताको खल्लोपन पनि कांग्रेसभित्र व्याप्त छ ।

कांग्रेस हार्नुका कारण धेरै छन् । जुन कि यो आलेखमा मात्र बयान गर्न सकिँदैन । कांग्रेसको गढ भनिने मोरङमा कांग्रेसले मधेसी समुदायबाट एकजना पनि उम्मेदवार खडा गरेन । जब कि त्यहाँ मधेसी र पहाडीको समान जनसंख्या छ । मधेसविरोधीका रूपमा ‘प्रोजेक्ट’ गरिएका एमाले वा अहिलेको बामगठबन्धनले तीनजना मधेसी उम्मेदवार खडा गरेको थियो । कांग्रेसले मधेसी उम्मेदवार खडा नगर्नुको कारण कांग्रेसीजनको नश्लीय चिन्तन हो या पुरानो दम्भ, उनै जानून् । वाम गठबन्धनका अगुवा केपी ओलीले निर्वाचनको दौरान स्थायी सरकारको सपना आमजनमा बाँडिरहेको वेला कांग्रेसका नेताहरू वाम गठबन्धन आयो भने अधिनायकवाद आउँछ भन्दै हिँडेका थिए । रचनात्मक र मनछुँदो एजेन्डाले कांग्रेसले आममतदातालाई लोभ्याउन सकेन । यथार्थ के हो भने ग्रामीण बस्तीका मतदाता र मजदुरवर्गलाई अधिनायकवादजस्ता सैद्घान्तिक कुराले छोएन ।

कांग्रेसले आफ्नो चुनावी परिणामबारे मिश्रित आकलन गरेको हुनुपर्छ । एमाले र माओवादीको गठजोडपश्चात् चुनावी माहोलमा असर परेर यस्तो लज्जास्पद परिणाम आउला भन्ने आकलन कांग्रेसका नेताले गरेका थिएनन् होला । माओवादी र एमालेबीच टिकट बाँडफाँडमा हुने असन्तुष्टिले ल्याउने चुनावी अवस्थाको फाइदा पाइहालिन्छ भने अनुमानको भरमा कांग्रेसीजन परेको देखियो । एमाले, माओवादी, जनमोर्चा तथा मजदुर किसान पार्टीजस्ता वामपन्थी दल एकढिक्का हुन नपाएका कारण छरिएका वामपन्थीको फाइदा कांग्रेसले सधैँभरि उठाउँदै आइरहेको अवस्थामा यसपालिको जबर्दस्त ‘वाम ब्रान्डिङ’ ले गर्दा कांग्रेसले त्यस्तो लाभ लिन सकेन र देशभरि वामको लालकिल्ला ठडिँदै गयो ।

अब चर्चा गरौँ, वम गठबन्धनको मनोबल बढाइका बाह्य रसायनको । जसले गर्दा मनोवैज्ञानिक रूपमा उनीहरू बलियोे भई निर्वाचनको मैदानमा उत्रिए । वाम गठबन्धन निर्माणमा उत्तरको सहयोग छ भन्ने टिप्पणी बजारमा आइरहेका छन् । तर, स्तम्भकार वाम गठबन्धन कसरी बन्यो भन्नेबारे टिप्पणी गर्न चाहँदैन । यद्यपि, वाम गठबन्धनको मनोबल उच्च राख्नमा उत्तरको वरदान पक्कै पनि कारक बनेको छ ।

लोकतन्त्रको जननी दल कांग्रेस अर्थात् तिनीहरूले ओछ्याएको समाजवादी क्यानभासमा गाडिएको लालकिल्ला स्वाभाविक छ । अब जनताले विश्वास गरी दिएको मतको कदर वामपन्थीले गर्नुपर्छ । उनीहरूले गाडेको लाल झन्डालाई मलिन हुन नदिई त्यसलाई गरिब जनताको अँध्यारो घरदैलोसम्म पुर्याउन सक्नुपर्छ । र, त्यसैगरी कांग्रेसले आफ्नो आवश्यकता महसुस गरी जरैबाट पार्टीको संगठन निर्माण र राष्ट्रिय राजनीतिमा उसको महत्वबारे आमजनतामा आफ्ना राष्ट्र निर्माणका योजनालाई प्रस्टतासाथ राख्न सक्नुपर्छ । अहिलेको जित वामपन्थीको जित त हो नै । उनीहरूले कांग्रेसलाई सुध्रिन पाँच वर्ष दिएको पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु