logo

bar

भूमण्डलीकरण र साहित्यमाथि गम्भीर विमर्श

शशी लुमुम्बू | पुष ०१, २०७४

जीवनमुखी कविता, वैचारिक निबन्ध र समालोचनाका क्षेत्रमा आफ्नो पृथक् र सार्थक पहिचान निर्माण गरेका प्राज्ञ स्रष्टा डा. अमर गिरी एक माक्र्सवादी सौन्दर्य चिन्तक र समालोचकका रूपमा पनि उत्तिकै प्रख्यात छन् । समसामयिक विषयमाथि उनको विश्लेषणात्मक कलम उस्तै दमदार र गतिशील ढङ्गमा चलेको पाइन्छ ।

शशी लुमुम्बू

 

‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’, ‘शब्दहरूका बीचमा’ र ‘समय संवाद’ गरी ५ कविताकृति र यसअतिरिक्त समालोचनात्मक कृति ‘समय, समाज र संस्कृति’, तथा ‘समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य’ गरी ७ कृति प्रकाशनमा ल्याइसकेका गिरीको आठौँ कृतिको रूपमा आएको छ, ‘भूमण्डलीकरण र साहित्य ।’

‘भूमण्डलीकरण र साहित्य’ प्राज्ञ गिरीले विभिन्न कालखण्डमा लेखेका वैचारिक, सैद्धान्तिक तथा प्राज्ञिक लेखरचनाहरूको संकलन हो । यसमा उनका ११ वटा वजनदार लेख समाविष्ट छन् । मूलतः प्रगतिशील कवि, माक्र्सवादी सौन्दर्य चिन्तक एवं वस्तुवादी विश्लेषक गिरी माक्र्सवादी दृष्टिकोणद्वारा नै विश्वजगत्लाई नियाल्न रुचाउँछन् । यसै सिलसिलामा भाषा, साहित्य, दर्शन, कला तथा संस्कृतिलाई पनि उनले माक्र्सवादी दृष्टिबाटै विहङ्गम रूपमा हेरेका छन् । यस कृतिमा उनी एक प्रखर माक्र्सवादी सौन्दर्य चिन्तक र विचारकका रूपमा प्रस्तुत भएका छन् ।

‘भूमण्डलीकरण र सांस्कृतिक आक्रमण’ शीर्षक लेख कृतिभित्रको पहिलो लेख हो । यस लेखमा गिरीले भूमण्डलीकरणलाई नवसाम्राज्यवादको रूपमा विश्लेषण गर्दै यसले विभिन्न मुलुकका मौलिक एवम् प्रगतिशील संस्कृतिमाथि आक्रमण गरिरहेकोे धारणा व्यक्त गरेका छन् । यसविरुद्ध उनी सशक्त प्रगतिशील आन्दोलनको अपरिहार्य आवश्यकता औँल्याउँछन् ।

‘माक्र्सवादी साहित्य सिद्धान्त’मा गिरीले साहित्यलाई सही किसिमले हेर्ने र बुझ्ने सिद्धान्त भनेकै माक्र्सवादी साहित्य सिद्धान्त हो भन्ने दाबी गरेका छन् । यस लेखमा माक्र्सवादी साहित्य सिद्धान्तका विभिन्न पक्षहरूलाई सूक्ष्म रूपमा विश्लेषण गरिएको छ । नेपाली भाषामा माक्र्सवादी साहित्य सिद्धान्तका विषयमा लेखिएका पुस्तक पर्याप्त नभएको अवस्थामा माक्र्सवादी साहित्य सिद्धान्तबारे विस्तृत रूपमा चर्चा गरिएको यस लेखको आफ्नै महत्व छ । यस लेखबाट पाठकहरूले माक्र्सवादी साहित्य सिद्धान्तको समग्र पक्षबारे संक्षेपमा जानकारी प्राप्त गर्न सक्नेछन् । ‘भूमण्डलीकरण, उपभोक्तावाद र साहित्य’ शीर्षक लेखमा उनी बढ्दो भूमण्डलीकरण र उपभोक्तावादी प्रवृत्तिले साहित्यलाई पनि नराम्ररी प्रभाव पारेको देख्छन् । यसले मानवीय मूल्य र मान्यतामा पनि नकरात्मक असर गरिरहेको विश्लेषण छ उनको । यसले साहित्यलाई दिशाविमुख गराउन खलनायकी भूमिका निर्वाह गरिरहेको उनको तर्क छ ।

अमर गिरी वर्गीय मुक्तिसँगै सबै प्रकारका विभेदको मुक्ति हुनेमा विश्वास गर्छन् । पहिचानको नाममा उग्र नश्लीय संकुचित चिन्तनले सामाजिक सद्भावको वातावरण धमिल्याउनु सिवाय अरू केही नगर्ने धारणा छ उनको । माक्र्सवादले मात्रै पहिचानको राजनीति र साहित्यलाई सही मार्गदर्शन गरी तार्किक निष्कर्षमा पुर्‍याउने विचार प्रकट गर्छन् गिरी ‘माक्र्सवाद, पहिचानको राजनीति र साहित्य’ शीर्षक लेखमा । समकालीन पुँजीवादका निम्ति पहिचानको राजनीति विचारधारामा आधारित राजनीतिलाई कमजोर बनाउने प्रभावकारी उपकरण हो भन्ने विश्लेषण गरेका छन् उनले यस लेखमा ।

‘एक्कासइसौँ शताब्दीको विश्व सन्दर्भ र नेपाली साहित्य’ शीर्षक लेखमा गिरीले आजको माक्र्सवाद, पुँजीवाद र साहित्यको चर्चा गर्दै भूमण्डलीकरण, नवउदारवाद, उपभोक्तावाद र बजारशास्त्रलाई नवसाम्राज्यवादको रूपमा चित्रण गरेका छन् । समकालीन पुँजीवाद यिनै कुराहरूको सम्मिश्रणबाट विकसित भइरहेको उनको धारणा रहेको छ । उनले आजको साहित्यमा बहुल रङको नयाँ र विशाल नेपालको तस्बिर देखिन बाँकी रहेको विचार पस्किँदै विश्वबजारमा नेपाली साहित्यलाई प्रस्तुत गर्नका लागि यी कुराको अनिवार्य आवश्यकता बोध गरेका छन् ।

नेपाली साहित्यमा एक प्रकारको नवफेसनको रूपमा भित्रिएको उत्तरआधुनिकतावादी साहित्य–कला चिन्तनलाई गिरीले भ्रान्त धारणाको संज्ञा दिँदै यो प्रगतिवादी इतिहास, कला, चिन्तन र भाषाविरोधी अवधारणा भएको र यो साम्राज्यवादको नयाँ हतियारको रूपमा आएको भनी विश्लेषण गरेका छन् ।

‘सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा’ शीर्षकीय लेखमा गिरीले संरचनावाद, उत्तरसंरचनावाद र विनिर्माणवाद, उत्तरआधुनिकतावाद, माक्र्सवाद, नारीवाद, क्विर सिद्धान्त र उत्तरऔपनिवेशिकतालाई सांस्कृतिक अध्ययनको मुख्य सैद्धान्तिक अवधारणा मान्दै सांस्कृतिक अध्ययनबाट समकालीन सांस्कृतिक यथार्थको वस्तुगत एवं वैज्ञानिक अध्ययन सम्भव छैन र दृष्टिकोण तथा पद्धतिमा गम्भीर त्रुटि रहेका कारण यस सिद्धान्तले कतिपय विषयमाथि गलत निष्कर्ष दिएको विचार व्यक्त गरेका छन् । सांस्कृतिक अध्ययनको अन्तरवस्तुलाई गहिराइमा गएर प्रस्तुत गर्नु यस लेखको विशेषता हो । लेखकले सांस्कृतिक अध्ययनका विविध पक्षलाई सूक्ष्म रूपमा विश्लेषण गरेका छन् । नेपाली साहित्यिक विमर्शमा सांस्कृतिक अध्ययनबारे सैद्धान्तिक रूपमा त्यति चर्चा नभइरहेको अवस्थामा यस लेखको आफ्नै महत्व रहेको छ ।

इटालेली कम्युनिस्ट आन्दोलनका एक प्रमुख व्यक्तित्व एवं माक्र्सवादी चिन्तक एन्टिनियो ग्राम्सीका विषयमा आधारित ‘सांस्कृतिक चिन्तनमा ग्राम्सी’ लेखमार्फत् गिरीले ग्राम्सीको चिन्तनमा दर्शन, राजनीति, शिक्षा, इतिहास आदि सांस्कृतिक चिन्तनको अभिन्न अंग भएको चर्चा गर्दै पुरानो संस्कृतिमाथि हस्तक्षेप गरी नयाँ संस्कृतिको निर्माणमा माक्र्सवादीहरू नै सक्रिय रहनुपर्नेमा जोड दिएका छन् । यस लेखका माध्यमबाट ग्राम्सीको सांस्कृतिक चिन्तनलाई स्पष्ट गर्ने कार्य गरिएको छ ।

समाज र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने विचार छ गिरीको ‘साहित्य र बजार’ शीर्षक लेखमा । बजारले साहित्यको गाम्भीर्यता र गुणवत्तालाई विस्थापित गर्ने हो कि भन्ने चिन्ता छ गिरीको । बजारले बिकाउ चिज मात्रै माग गर्ने भएका कारण साहित्यको बजारीकण हुँदा स्रष्टाको लेखकीय स्वतन्त्रता पनि धरापमा पर्ने र गम्भीर सिर्जना आउनेतर्फ अवरोध पुग्ने उनको ठम्याइ छ । उनी साहित्य र समाजको विशेष सम्बन्धको आवश्यकता देख्छन्, जसबाट समाजका लागि उपयोगी र सार्थक सिर्जना सिर्जित हुन सकोस् । तर, अहिले साहित्यको बजारीकरण भइरहेको र बजारले साहित्यलाई फास्टफुड बनाइरहेकोमा उनी चिन्तित छन् ।

‘नारीवादी आन्दोलन र साहित्य चिन्तन’ शीर्षक लेखमा गिरीले अहिलेको नारीवादी आन्दोलनले सही बिन्दु ठम्याउन नसकेको ठान्दै नारीवाद स्वयंमा स्पष्ट नभएको विचार राखेका छन् । नारी–पुरुष एकताबाट मात्रै सामन्तवाद र पुँजीवादसँगको लडाइँ सफल भई नारी मुक्ति सम्भव हुने देख्छन् उनी ।

कृतिभित्रको अन्तिम लेख हो, ‘बदलिएको सन्दर्भ र भाषा–साहित्य’ । समय–सान्दर्भिक यस लेखमा गिरीले नेपाली भाषा आफ्नो भाषिक सामथ्र्यका कारण मात्रै नभएर राज्यले प्रदान गरेको सर्वाधिक महत्वकै कारण यस उचाइमा आइपुगेको दलिल पेस गर्दै यसमा अन्य मातृभाषाको बलिदानले पनि काम गरेको तर्क राखेका छन् । उनले नेपालभित्र बोलिने सबै भाषा र लेखिने समस्त साहित्यको समान सम्मान गरिनुपर्ने धारणा व्यक्त गरेका छन् । गिरीले यस लेखमा भाषिक उत्पीडन र वर्चस्वको आलोचना गर्दै नेपालभित्रका सबै मातृभाषा र साहित्यको समान विकासमा राज्यले भूमिका सम्पादन गर्नुपर्ने उल्लेख गरेका छन् । बदलिएको सन्दर्भमा नेपाली भाषा र साहित्यसम्बन्धी पुरानो र एकपक्षीय धारणाको अन्त हुनुपर्र्ने दृष्टिकोण लेखमा प्रस्तुत गरिएको छ ।

पुस्तकमा शार्दूल भट्टराईको ‘विचारमाथि विचार’ शीर्षक तेइस पेज लामो भूमिका छ । भूमिकाकार भट्टराईले आफ्नो भूमिकामा मिहिन ढङ्गले सबै लेखकहरूको सङ्क्षिप्त रूपमा शल्यक्रिया नै गरेका छन् । सामयिक सन्दर्भका दृष्टिले पनि गिरीको यो पुस्तक निकै महत्वपूर्ण रहेको जिकिर गर्दै उनले पुस्तकलाई एउटा पाठ्यपुस्तककै रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । दर्शन, विचार र सिद्धान्तजस्तो जटिल विषयलाई पनि उनले सकेसम्म सरल बनाउने प्रयास गरेका छन् । जसले गर्दा पाठकलाई यसले सजिलै तान्छ । विचार, चिन्तन र प्राज्ञिक विमर्शप्रति रुचि राख्नेहरूका लागि यो पुस्तक निकै उपलब्धिमूलक रहेको छ भनेर भन्न हिचकिचाउनु पर्दैन । समकालीन नेपाली साहित्यमा भूमण्डलीकरणको प्रभावलगायत अन्य विषयमा गिरीले जसरी यस पुस्तकमा आफ्ना विचारलाई प्रस्तुत गरेका छन्, यसमा अझ गम्भीर रूपमा विमर्श हुन आवश्यक छ । गम्भीर साहित्यिक विमर्श त्यति हुन नसकिरहेको वर्तमान समयमा यस पुस्तकले हामीलाई यस विषयमा गम्भीर हुन पनि प्रेरित गर्छ । आजको समय गम्भीर साहित्यिक विमर्शको समय हो । गहकिलो साहित्यिक विमर्शका माध्यमबाटै कयौँ विषयमा स्पष्ट दृष्टिकोण निर्माण गर्न सकिने छ । शार्दूल भट्टराईले भनेजस्तै यस पुस्तकलाई गहकिलो पाठ्यपुस्तककै रूपमा लिन सकिन्छ । यस पुस्तकले साहित्यिक विमर्शका कैयौँ महत्वपूर्ण विषयमा हामीलाई स्पष्ट हुन मद्दत गर्छ ।

गिरीले पुस्तकमा विषयवस्तुलाई प्राज्ञिक गहिराइका साथ पर्गेलेका छन् र विश्लेषणमा उनी इमानदार रहेका छन् । यही नै उनको विशेषता हो । यो पुस्तक उनको प्राज्ञिक यात्राको एक महत्वपूर्ण कडी हो । उनीबाट आउँदा दिनमा अझ गहकिला पुस्तकहरूको आशा गर्नु पाठकहरूको अधिकार हो । पुस्तक प्राज्ञिक दृष्टिले निकै महत्वपूर्ण रहे पनि पुस्तकमा भाषिक त्रुटि ठाउँ–ठाउँमा पाइन्छ । कतिपय ठाउँमा प्रयोग भएका गह्रुङ्गा पारिभाषिक शब्द पाठकहरूलाई बुझ्न गाह्रो पनि हुन सक्छ । आउँदो संस्करणमा यसमा ध्यान दिइने नै छ ।

तपाईको प्रतिक्रिया