logo

bar

यातायात व्यवस्थापनका समस्या

कृष्णमणि पराजुली काठमाडौं, २६ मंसिर | मङि्सर २६, २०७४

सार्वजनिक सरोकारका सानातिना कुरालाई राज्यले सम्बोधन नगर्दा त्यसको असर र प्रभाव सर्वसाधारणलाई गहिरो रूपमा पर्दो रहेछ । शिक्षा, स्वास्थ्य, खानेपानी, यातायातजस्ता क्षेत्रले महत्वपूर्ण भूमिका निभाउँदै आएको पाइन्छ । तर पनि यी क्षेत्रमा सुधार गर्नुपर्ने धेरै कुरा छन् । यस लेखमा यातायात व्यवस्थापनको विषयमा मात्र केन्द्रित रहेर केही चर्चा गरिने प्रयास गरिएको छ ।

यातायात क्षेत्रमा देखिएका विसंगति एवं बेथितिबारे समय–समयमा अखबारमा सार्वजनिक गुनासाबारे समाचार प्रकाशित भइरहेका हुन्छन् । यद्यपि यस क्षेत्रमा जनताले आशा गरेअनुरूप सुधार भएको पाइँदैन । केही समयअघि मात्र ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सरकारले जेब्राक्रसिङबाहेक अन्यत्रबाट बाटो काट्ने यात्रुलाई जथाभावी बाटो काटेको भनी ठाउँको ठाउँ जरिवाना तिरायो । जसबाट केही दिनमै ठूलो धनराशी पनि जम्मा भयो ।

यो व्यवस्थापनले ट्राफिक प्रहरीमा पनि निकै उत्साह ल्याएको थियो । तर, त्यो उत्साह केही दिन मात्र रहन गयो । कारण त्यो निर्णय अपरिपक्व थियो । जेब्राक्रसको नामोनिसान नभएको ठाउँबाट कसरी बाटो काट्ने ? बाटो काट्नलाई त जेब्राक्रसको चिह्न हुनुपर्‍यो नि । त्यो चिह्न ठ्याक्कै देखिँदैनथ्यो । तैपनि, प्रहरीसामु निरीह जनताको के लाग्थ्यो र ।

यस विषयमा रेडियो, टिभी, पत्रपत्रिकामा छ्याप्छ्याप्ती खबर छापिए र सर्वसाधारणले सुसूचित हुने मौका पनि पाए । यात्रुमाथि पर्न गएको असुविधाबारे सरकारले गल्ती महसुस गर्‍यो र तुरुन्तै निर्णय सच्याउने काम गर्‍यो । जसलाई सर्वसाधारणले राम्रै ठाने । यहाँ जोड्न खोजिएको के हो भने सरकारले यातायात क्षेत्रमा सुधार गर्न चाहे पनि त्यो जनतामैत्री हुनुपर्ने र त्यसको असर र प्रभाव केकस्तो पर्न सक्छ भन्ने विषयमा समेत लेखाजोखा गर्नुपर्छ भन्ने नै हो ।

प्रतिस्पर्धा हुन नदिई आफूखुसी मूल्य निर्धारण गरी ठगी गर्ने सिन्डिकेट प्रणाली आमयात्रुका लागि अत्यन्त अप्रिय भए पनि व्यवसायीका लागि भने निकै प्रिय हुन्छ

यातायात क्षेत्रमा देखिएका विसंगतिलाई सरकारले सुधार गर्दै आए पनि अझ धेरै सुधार गर्नुपर्ने छ । तलको प्रकरणमा यातायात क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा केही उल्लेख गरिएको छ :

कृष्णमणि पराजुली

जेब्राक्रस मूलतः यात्रुको सुविधाका लागि बनाइएको हो । यसमा सवारी चालकको भन्दा यात्रु हितलाई ध्यानमा राखिएको हुन्छ । यस यथार्थप्रति पटक्कै चालकको ध्यान गएको देखिँदैन । जुन ठाउँमा जेब्राक्रसिङ राखिएको हुन्छ, त्यही ठाउँमा तीव्र गतिमा गाडी गुडाउने गरेको पाइन्छ । यहाँ चालकले के बुझ्नु आवश्यक छ भने यात्रुको अधिकार हनन गर्नु हुँदैन र ट्राफिक नियम पालना गर्नुपर्छ । अर्को विषय भनेको जेब्राक्रसिङ प्रस्ट देखिने गरी बनाउनुपर्छ र यात्रुको सुविधाका लागि नजिक–नजिक बनाउन सकेको खण्डमा अझ बढी सुविधा पुग्न जानेछ ।

यातायात व्यवस्थापनसँगै जोडिएको समस्या लाइसेन्स वितरण र रुट परमिटको पनि हो । यो समस्या धेरै अघिदेखि रहिआएको हुनाले निश्चित मापदण्ड बनाई सोका आधारमा व्यवस्थापनमा सुधार गर्दै जानुपर्ने हुन आउँछ । केही समयअघि मात्र बिपी राजमार्गमा तोकिएको सिटसंख्या र भारभन्दा बढीका गाडी सञ्चालन गरेको सम्बन्धमा ट्राफिक प्रहरीबाट चेकजाँच गर्दा त्यस्ता सवारी साधनलाई रुट परमिट दिइएको हुँदा रोक्न नमिल्ने कुरा प्रहरीबाटै जानकारी गराइएको थियो ।

 सिन्डिकेट भन्ने शब्द यातायात क्षेत्रमा निकै प्रचलित शब्द हो । व्यवसायीलाई प्रिय लाग्ने भए पनि सर्वसाधारणका लागि भने यो अत्यन्त अप्रिय हुन्छ । प्रतिस्पर्धा गर्न नदिने गरी आफूखुसी मूल्य निर्धारण गरी जनतालाई ठगी गर्नुलाई नै सिन्डिकेटको नामले चिनिन्छ ।

अहिले यातायात क्षेत्रमा व्यापक रूपमा सिन्डिकेट प्रणाली बढ्दै आएको छ । केही दिनअघि दसैँको मुखमा आएर यातायात व्यवसायीले भाडा आफूले भनेजति बढाउन पाउनुपर्ने, छतमा मानिस राख्न पाउनुपर्नेजस्ता माग गरी आन्दोलन गर्ने धम्कीले पनि सिन्डिकेट प्रणाली जनताका लागि कति घातक रहेछ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

ट्याक्सी र माइक्रोको भाडामा पनि उपभोक्ता ठगिएकै छन् । सरकारले निर्धारण गरेको भाडाभन्दा बढी असुलिराखिएकै छ । यात्रुले आवाज उठाउँदा जहिल्यै खुद्रा पैसा छैन भन्ने, कहिले त्यति नै हो भाडा भन्ने, कहिले जहाँ उजुर गरे पनि गर भन्ने र कहिले गालीगलोज नै गर्ने गरेको समेत देख्नु र सुन्नुपर्छ । त्यसैगरी ज्येष्ठ नागरिकले पाउने यातायात सुविधा पनि कतिपय सवारी साधनले दिने गरेका छैनन् ।

यस विषयमा धेरैपटक यस पंक्तिकारले पनि यातायात सुविधा नपाएकोबारे प्रहरीमा फोनबाट उजुरी गरेको थियो । प्रहरीले उजुरी टिपोट गरेको भए पनि उजुरीमाथि कारबाही भएको लेखकलाई जानकारी भएन । यस्ता कैयौँ प्रसंगबाट उपभोक्ता ठगिइरहेकै छन् । उपभोक्ताले उजुरी गरे पनि कारबाही हुँदैन भने सरकारप्रति जनताको धारणा कस्तो रहन जाला, जो कसैले पनि सहजै अनुमान गर्न सक्छ । यस किसिमको बेथितिलाई सरकारले समयमै सम्बोधन गरी समस्या सुल्झाउनुपर्ने देखिन्छ ।

सडकको खराब अवस्था, पुराना सवारी साधन, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु कोच्ने जस्ता कार्यले गर्दा पनि सडक दुर्घटनामा बृद्धि हुँदै गएको छ । सडक दुर्घटना बढ्दै जानुको अर्को कारण सम्भाव्यता अध्ययनविना जथाभावी सडक निर्माण गरिनु । आवश्यकता र त्यसबाट हुने लाभका आधारमा प्राविधिक रूपमा उपयुक्त देखिएमा मात्र निर्माण कार्य अघि बढाउनु उपयुक्त हुनेछ ।

यस सन्दर्भमा सर्वसाधारणले देखेका र अनुभव गरेका समस्या भनेको सडक लेन र ट्राफिक चिह्नको उल्लंघन, जथाभावी गाडी पार्किङ गरिनु, सवारी साधन चलाएको समयमा मोबाइलमा कुरा गर्नु, चालकले सिल्टबेल्ट प्रयोग नगर्नु, ओभरटेक गर्नु, मोटरसाइकलको आकारप्रकारमा परिवर्तन गर्नु आदि पनि दुर्घटना निम्त्याउने कारक देखिन्छन् । सम्बन्धित निकायले गहन अध्ययन गरी समस्या सुल्झाउनुपर्ने देखिन्छ ।

अन्त्यमा
पहिचान हुँदैमा समस्या नसुल्झिने भएकाले यसका लागि निरन्तर रूपमा अनुगमन गर्नुपर्ने हुन्छ । हालैका दिनमा ट्राफिक प्रहरीबाट अनुगमन गर्दा सवारी चालकले कारबाहीबाट बच्न प्रहरीलाई घुसको प्रलोभन देखाएको र त्यसलाई इन्कार गरी प्रहरीले कारबाही गरेको कुरा सराहनीय छ । साथै, यसबारे सर्वसाधारणमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पनि त्यत्तिकै महत्वको हुनेछ ।

तपाईको प्रतिक्रिया