logo

bar

जनताको मूल्यांकन

नयाँ पत्रिका काठमाडौं, २५ मंसिर | मङि्सर २५, २०७४

निर्वाचनको परिणाम आउने क्रम जारी छ । मतगणनाको प्रारम्भदेखि देखिएको वाम गठबन्धनको अग्रता कायमै छ । प्रत्यक्षतर्फ दुईतिहाइनजिक पुगेको वाम गठबन्धनलाई प्रदेश नम्बर २ बाहेकका सबै प्रदेश र केन्द्रमा सुविधाजनक सरकार बनाउने बहुमत पुग्ने निश्चित छ । समानुपातिकतर्फ पनि यो गठबन्धनले प्रारम्भिक मतमा अग्रता हासिल गरेको छ । यता मधेसका आठ जिल्ला समेटिएको प्रदेश नम्बर २ मा भने वाम गठबन्धनको प्रदर्शन निकै कमजोर रहेको छ । मधेसलाई आफ्नो परम्परागत जनाधार मान्दै आएको कांग्रेस पनि प्रदेश नम्वर २ बाट नराम्रोसँग पराजित भएको छ । अहिलेसम्मको नतिजामा ठूला गठबन्धनमा सामेल भएकाले नयाँ शक्ति पार्टीले प्रतिनिधिसभातर्फ एउटा क्षेत्रमा र प्रदेश सभातर्फ दुई क्षेत्रमा जित हासिल गरेको छ । साना दलका प्रत्यक्षतर्फका उम्मेदवारमध्ये प्युठानबाट जनमोर्चाका उम्मेदवार पनि जित हासिल गर्नतिर अग्रसर छन् । अन्यथा, सबै साना दलले प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि संसद्मा प्रतिनिधित्व गर्न आवश्यक मत पाउने देखिन्न । यसपटकको निर्वाचनमा राप्रपाका दुवै गुट पनि चिप्लिएका छन् । वाम गठबन्धनको सहयोग पाएका झापाका राजेन्द्र लिङ्देनबाहेक कुनै पनि राप्रपा उम्मेदवारले नजित्ने निश्चित भएको छ भने समानुपातिकतर्फको उसको प्रदर्शन पनि अत्यन्त कमजोर देखिएको छ । यसरी हेर्दा एमाले–माओवादी सम्मिलित वाम गठबन्धन र मधेसी दलहरू मात्र जनताबाट अनुमोदित भएका छन् । बाँकी दललाई जनताले यसपटक अस्वीकार गरेका छन् । यसैगरी केही सदावहार राजनीतिक हस्तीहरू पनि पराजित भएका छन् ।

बहुमतसहितको स्थिर सरकारका पक्षमा रहेका जनताले वामपन्थी दलको विगतको संघर्षको पृष्ठभूमिलाई पनि सम्मान गरेका छन्

परिणाम यस्तो आउनुका अनेक कारण हुन सक्छन् । तर, यसपटकका जनताको मूल्यांकनको पक्ष विश्लेषण गर्दा मुख्यतया दुइटा विषयले जनतामा आधार बनाएको पाउन सकिन्छ । वाम गठबन्धनले बहुमत पुर्‍याउनुका पछाडि उनीहरूले दिएको स्थिर सरकारको नारा र देखाइएको विकासको सम्भावनाले काम गरेको छ । नेपालका वामपन्थीले खासगरी पञ्चायत काल र पछि संसदीय कालमा समेत जनताबीच बसेर समाजको आर्थिक राजनीतिक परिवर्तनका लागि गरेको संगठन र संघर्षले यसपटक पुरस्कृत हुन पाएको अर्थमा यसलाई लिन सकिन्छ । अर्थात्, बहुमतसहितको स्थिर सरकारका पक्षमा रहेका जनताले वामपन्थी दलको विगतको संघर्षको पृष्ठभूमिलाई पनि सम्मान गरेका छन् । साथै वामपन्थीले सामाजिक सुरक्षाका क्षेत्रमा आमजनतालाई प्रत्यक्ष लाभ हुने गरी गर्ने वितरणमुखी कार्यक्रम र बजेट वितरणको असर पनि यस निर्वाचनमा आशा जगाउने एउटा माध्यम बनेको छ । यता मधेसवादी दलले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता पनि उनीहरूले विगत ११ वर्षयता मधेसी जनताको अधिकारका लागि गरेको संघर्षको प्रतिफल हो । यद्यपि, सरसर्ती हेर्दा पहाडका अधिकांश क्षेत्रमा अलि वामपन्थी राष्ट्रवादी छवि भएको पक्षले जित्नु र मधेसमा दक्षिणपन्थी शक्तिले जित्नुमा यी दुवै समुदायको मनोविज्ञान निर्माणका आधार फरक छन् भन्नेतर्फ संकेत नगर्ने होइन । तर, अधिकारका लागि संघर्ष र विकास अहिलेको जनमतको दुई मुख्य आधार रहेको निष्कर्ष निकाल्न सकिन्छ । हेर्नु यो छ, प्राप्त जनादेशलाई यी विजेता दलले कसरी सम्मान गर्ने हुन् ?

तपाईको प्रतिक्रिया