logo

bar

ओखलढुंगामा सुनुवार एक हजारमतले अगाडि

नयाँ पत्रिका ओखलढुंगा, २२ मंसिर | मङि्सर २१, २०७४

ओखलढुंगाको पछिल्लो मतपरिणामले अन्तिमसम्म युवा नेताद्धय रामहरि खतिवडा र यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धालाई रोचक बनाउने देखिएको छ । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहँदा ०७० मा एकबाट सुनुवार र दुईबाट खतिवडा निर्वाचित भएका थिए । हाल दुबै निर्वाचन क्षेत्र गाभिएर प्रतिनिधिसभा सदस्यको एउटा मात्रै क्षेत्र भएपछि यी दुई आमुन्ने सामुन्ने भएका हुन् ।

ओखलढुंगामा पहिलो चरणमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना बिहिबार साँझ ५ बजेबाट सुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार बाम गठबन्धनका सुनुवारले अग्रता लिइरहेका छन् । एक नगरपालिकासहित ७ स्थानीय तह रहेको ओखलढुंगामा लिखु गाउँपालिकासहित साविकको पलापु, बिलन्दु, रानिवन पलापु गाविसको मत गणना सम्पन्न हुँदा सुनुवारले १ हजार २३ मतले अग्रता लिएका छन् । उनले ५ हजार ३ सय ९८ मत प्राप्त गरेका छन् भने कांग्रेसका खतिवडाले ४ हजार ३ सय ७५ मत पाएका छन् ।

०७० मा खतिवडाले प्रत्यक्ष निर्वाचन जितेको क्षेत्रमा मतगणना जारी छ । यद्यपी मतगणना सम्पन्न भएको लिखु गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको थियो । यो गाउँपालिकाको मत गनिसक्दा एमालेका सुनुवारले १ हजार ३ सय बढि मतले अग्रता लिएका थिए । तर अहिले स्थानीय तहमा कांग्रेसले जितेको चम्पादेवी गाउँपालिकाको मतगणना जारी रहँदा कांग्रेसका खतिवडाले एमालेका सुनुवारसँगको मतान्तर घटाइरहेका छन् ।

स्थानीय तहमा कांग्रेसले जितेको खिजिदेम्बा गाउँपालिका, मानेभञ्ज्याङ गाउँपालिका र सुनकोसी गाउँपालिकाको मतगणना बाँकी छ । एमालेले जितेको सिद्धिचरण नगरपालिका, मोलुङ गाउँपालिका र माओवादीले जितेको चिशंखुगढी गाउँपालिकाको मतले एमाले उम्मेदवार सुनुवारलाई अघि लैजाने देखिन्छ । तर कांग्रेसले जितेको र मत गन्न बाँकी रहेको स्थानीय तहमा कांग्रेसको पकड बलियो भएकाले मतपरिणाम कसको पोल्टामा जाला भन्ने आंकलन गर्न गाह्रो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु