logo

bar

अर्घाखाँचीमा कांग्रेसले बुथ कब्जा गरी मतपत्र च्यात्यो

नबिन के.सी अर्घाखाँची | मङि्सर २१, २०७४

अर्घाखाँचीमा भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको छ । यहाँ कुल १ लाख ३८ हजार ३ सय २८ मतदाता रहेका थिए । जस मध्ये ८७ हजार ८ सय ३७ मत खसेको छ । जिल्लामा जम्मा ६४.४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

जिल्लाभर ९३ मतदान स्थलका १ सय ७४ मतदान केन्द्र रहेका थिए । जिल्लाको मथुरा माध्यमिक बिद्यालय नेटाको मतदान केन्द्रमा बाहेकका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । नेटाको मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रको ‘ख’ मतदान केन्द्रमा भने कांग्रेसका कार्याकर्ताले बुथनै कब्जा गरि मतपेटिका फाल्ने तथा जलाउने कार्य गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले मतदान स्थल कब्जामा लिई मत पेटिका फालेका कारण मतदान स्थगित गरिएको बताए । उनले भने ‘ख’ केन्द्रको मत पेटिका फालेको तथा मतपत्र च्यातेका कारण मतदान स्थगित गरेका छौँ ।

‘निर्वाचन आयोगलाई रायसहित लेखेर पठाएका छौ आयोगले मिति तोकेसँगै निर्वाचन सम्पन्न गर्ने छौ ।’ उक्त मतदान स्थलको ‘क’ मतदान केन्द्रमा खसेको मत तथा मत पेटिका भने सुरक्षित भएको मतदान अधिकृत जितेन्द्र खत्रीले बताए ।

वाम गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि नियोजित रुपमा मतपत्रमा हस्ताक्षर नगरी खाली मतपत्र दिएको कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कृष्ण भुसालले अाराेप लगाए । उनले भने,‘मतदान अधिकृतकै संलग्नतामा नियोजितरुपमा हाम्रा मत बदर गराउन खोजियो ।’

यता वाम गठबन्धनका नेताहरुले उक्त बुथमा कांग्रेसले आफूले सोचे जस्तो मत नखस्ने देखेपछि मतपेटिका फाल्ने काम गरेको आरोप लगाए।

एमालेको तर्फबाट ऐजेण्ट बसेका अधिकारीले भने,‘मतदान अधिकृतले हस्ताक्षर नगरेको मत भेटिएको र गल्ती स्वीकार गरि सकेपछि दलिय प्रतिनिधी बसेर सहमती गर्ने कुरा भएको थियो । त्यहीबेला कांग्रेसका नेताहरुले कार्यकर्तालाई उत्तेजित पारी बुथ कब्जा गरे ।’ ‘ख’ केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले आफूले भुलबस गल्ती गरेको स्वीकार गरे ।

अधिकृत अधिकारीको बयान

‘ख’ केन्द्रका मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले आफूले भुल बस गल्ती गरेको स्वीकार गरे । उनले भने,‘म मतदान अधिकृत भएको केन्द्रमा फरक क्षमता भएका व्यक्तिको एका घर बाहिरका व्यक्तिले मत राख्न थाले पछि म त्यता तर्फ लागे । विवाद मिलाउँदै गर्दा सुरक्षाकर्मी साथीहरुले मतपत्र सकियो भन्नु भयो  । मैले मतपत्र दिँदा दायाँ साईटमा राखेको दिनु पर्नेमा बायाँ तर्फको दिएछु । जस्मा हस्ताक्षर गर्न भनेर राखिएको थियो । यसरी गल्ती भयो । मतपत्रमा हस्ताक्षर नभएको भेटाएमा कर्मचारी तथा दलका प्रतिनिधि तथा मतदातालाई पनि ख्याल गर्ने विषयमा सर्बदलिय बैठकमा छलफल भएको थियो । यसरी मत पेटीका फल्नु र जलाउनु नै गलत हो ।’

मत पेटिका भिरमा खाली भेटियो : प्रजिअ भुसाल

फालिएको मतपेटिका दिन भर खोज्दा साँझपख भिरमा खाली रहेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । मत मतपेटिका फाल्दा समेत सुरक्षाकर्मी रमिते बनेको आरोप छ ।

तर, यता प्रमुख जिल्ला अधिकारी भुसालले सुरक्षा व्यवस्था कडा हुँदाहुँदै पनि घटना घटेको बताए । उक्त स्थान अत्यन्तै सानो तथा भिर भएको ठाउँ छ । उनले भने, ‘मतदान अधिकृतले कमजोरी गर्दा यस्तो घटना घटेको हो, हामीले सुरक्षा व्यवस्था कडा पारेका थियौँ, स्थान पनि साघुँरो तथा भिर भएकाले मत पेटिका फालेको हुन सक्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु