logo

bar

बैतडीमा आजदेखि निर्वाचनको मतगणना सुरु

नयाँ पत्रिका बैतडी | मङि्सर २१, २०७४

बैतडीमा मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना आज देखि सुरु भएको छ । मतपेटिका भण्डारण गरिएको दशरथचन्द नगरपालिकाको हलमा साँझ ५ बजेबाट मतगणना कार्य सुरु भएको हो ।

सुरुमा प्रतिनिधि र प्रदेशसभातर्फको प्रत्यक्षतर्फको मतगणना गरिँदै छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकको मतपत्र गणना गरिने छ । प्रत्येक वडा अनुसार एकैपटक दुई मतपेटिका मिसाएर गणना गरिन लागिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।

यसअघि हिजो बसेको सर्वपक्षिय बैठकमा कस्तो अवस्थामा सदर र कस्तो अवस्थामा बदर मत मान्ने भन्नेबारेमा पनि सहमति गरिएको थियो । मत गणनास्थलमा मोवाईल, क्यामरा र धुम्रपान निषेध गरिएको छ । प्रत्येक उम्मेदवारका २ जना प्रतिनिधिलाई प्रवेश गर्न दिईने छ ।

खोलिएका प्रत्येक २ वटा मतपेटिका मतगणना गरिसक्दा मतपरिणाम सार्वजनिक गरिने छ । अन्य कुनै विवाद आएमा सर्वपक्षिय सहमति गरेर निर्णय गर्ने र विवाद समाधान नभए मुख्य निर्वाचन अधिकृतको निर्णय मान्य हुने सहमति भएको छ ।

मतगणकहरु बैतडीमा कार्यरत छन् । तर घर जिल्लाबाहिर रहेका निजामति कर्मचारीले गर्दैछन् । मतगणनास्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । यस्तै दलका प्रतिनिधिलाई मत गन्ने कोठामा तारजाली भन्दा बाहिर राखिएको छ ।

तपाईको प्रतिक्रिया