logo

bar

सनुसरीमा एउटै मतदान केन्द्रबाट १२ जना क्रियापुत्रीद्वारा मतदान

देबेन्द्र कार्की धरान, २१ मंसिर | मङि्सर २१, २०७४

सुनसरीमा उत्साह पूर्ण मतदान –

सनुसरी क्षेत्र नं.१ अन्तरगत धरान उपमहानगरपालिका वडा नं. –६ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रबाट १२ जना क्रियापुत्रीहरुले मतदान गरेका छन् ।

उनीहरुले आफ्ना सहयोगिका साथ १ः३० बजे मतदान गरेका हुन । ५ दिन अघि बुवा गुमाएका पत्रकार रणध्वज लोहार, उनकी श्रीमति माया कट्वाल विक, दाई विनोद विक भाउजु देविका विकले मतदान गरेका छन् । देविका ६ नं. वडाकी वडा सदस्यसमेत हुन ।

यस्तै सोही मतदान केन्द्रबाट १७ गते आमाको मृत्य पछि दुखमा परेका हरि अधिकारी श्रीमति जमुना अधिकारीले मतदान गरेका छन् । यस्तै ७ दिन अघि आमाको मृत्युका कारण दुखमा बसेका शिव कट्वाल, श्रीमति कमला, दाजु नैन, भाउजु हर्कमाया, चन्द्रबहादुर र दुर्गाकुमारी कट्वालले मतदान गरेका छन् ।

मानिस राजनीतिक प्राणी भएकाले पहिलो पटक बन्न लागेको प्रदेशसभामा आफ्नो योगदान छु्ट्ने भएकाले आफु ७ जना परिवार नै लिएर मतदान गर्न आएको शिव कट्वालले बताए । ‘यो एतिहासिक काममा छुट्न हुँदैन भनेर दुख बोकेर पनि हामी मतदानमा सहभागी भयौ’ कट्वालले भने– ‘हाम्रो मतले जितेर मुलुकमा स्थायी सरकार बनोस । मुलुक सम्वृद्ध बनोस यही आशा छ ।’

सुनसरीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । धरान–१६ स्थित चन्द्रसँस्कृत मावि मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिका सहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

विस्फोटको बेला केहीबेर मतदानस्थल बाहिर लामबद्ध भएका मतदाताहरु त्रसित भए पनि स्कुलको मैदानमा मतदान गर्न पुगिसकेका मतदाताहरु भने निर्भयका साथ मतदानमा सहभागी भएका थिए । कुनै ठूलो क्षति नभएको कारण बाहिर लाममा लागेका मतदाताहरु पनि केहीबेरमा पुनः मतदान गर्न आएका थिए ।

मतदानस्थलभन्दा करिब सय मिटर टाढा विद्यालयको कम्पाउण्डमा सुतली बम बिस्फोट भएकाले मतदान बिथोलिन नसकेको डीएसपी रामेश्वर पौडेलले बताए । अहिले सुनसरीका ४ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरमा निर्वाचन भएको छ ।

पैसा बाढ्ने कांग्रेस कार्यकता पक्राउ
गच्छदारको क्षेत्र सुनसरी क्षेत्र नं. ३ अन्तरगत गढी गाउँपालिका–६ मा स्थानीयलाई पैसा बाढ्दै गर्दा नेपाली कांग्रेसका विन्देश्वर यादवलाई प्रहरीले पक्राउ गरेको छ । विहीबार विहान ५ बजे उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो ।

स्थानीय कुशेश्वर खेरवारका अनुसार राती नै नेपाली काङ्ग्रेसले पैसा बाढेको खवर युवाहरुले थाहा पाएका थिए । प्रहरीलाई खवर गरिए पनि लुकेर बसे पछि प्रहरीले भेट्न सकेको थिएन । तर विहान ५ बजे स्थानिय सत्य नारायण उरावको घरबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

२ बोरा मासु बरामद
यता बुधबार राती ११ बजे गढीगाउँपालिका–३ बाट नेपाली कांग्रेसले स्थानियलाई बाढ्न लागेको २ बोरा मासुसमेत नेपाली सेनाले बरामद गरेको थियो ।

तपाईको प्रतिक्रिया