logo

bar

एक लाख क्यान्सर रोगीको देश

किशोरकुमार प्रधानांग काठमाडाैं | मङि्सर २१, २०७४

क्यान्सर सरुवा रोग होइन । तर, बर्सेनि अनपेक्षित ढंगले नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेको छ । क्यान्सर प्राणघातक रोग भए पनि जनस्तरमा यसबारे निकै कम जानकारी छ । जसले गर्दा अधिकांश बिरामी शरीरमा क्यान्सर फैलिसकेपछि मात्र अस्पताल पुग्ने गर्दछन् । एउटा अंगमा लागेको क्यान्सर केही समयपछि अर्को अंगमा पनि सर्न सक्छ । त्यसैले यसको समयमै उपचार जरुरी छ । नेपालमा क्यान्सरबारे एक सामग्री :

नेपालमा क्यान्सर
विश्वमा जस्तै नेपालमा पनि क्यान्सरको ग्राफ तीव्र गतिमा चढ्दो छ । क्यान्सरपीडित अधिकांश बिरामी पूर्ण रूपमा रोग फैलिसकेपछि मात्र अस्पताल पुग्छन् । यसको कारण भने क्यान्सरबारे चेतनाको कमी, अज्ञानता र स्वास्थ्य संस्थाको अभाव हो । क्यान्सर फैलिसकेपछि उपचारका लागि लाखौँ रुपैयाँ खर्चिनुपर्छ र निको हुने सम्भावना पनि निकै कम हुन्छ ।
नेपालमा कति क्यान्सर रोगी छन् र यसबाट वार्षिक कतिको मृत्यु हुन्छ भन्ने आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । तर, विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वार्षिक ३५–४० हजारको दरले क्यान्सर रोगी थपिने गर्दछन् ।
हाल नेपालमा करिब एक लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ । क्यान्सर रोगीको संख्या यसरी नै बढे आधा दशकभित्रै दोब्बर हुने सम्भावना छ ।
क्यान्सर लाग्ने ९० प्रतिशत कारण भनेको हाम्रो जीवनशैली नै हो । हामीले खाने अस्वस्थकर खाना, सुर्तीजन्य पदार्थको प्रयोग, वातावरण प्रदूषण आदि कारणले क्यान्सर लाग्ने सम्भावना हुन्छ । जसलाई बाहिरी कारण भनिन्छ ।
क्यान्सर रोक्नका लागि मुख्य कारक सुर्तीजन्य पदार्थको नियन्त्रण, कीटनाशक औषधि र रासायनिक मलको प्रयोगमा नियन्त्रण, स्वस्थकर र अखाद्य पदार्थ नमिसाएको खानेकुराको प्रयोग हो । मौसमअनुसारको फलफूल र हरियो सागपात दिनहुँ खानाले क्यान्सरबाट बच्न सकिन्छ ।


नेपालमा देखिएका प्रमुख क्यान्सर
बिपी कोइराला मेमोरियलमा सन् २००३ देखि २०१२ सम्म ५६ हजार १३ जना क्यान्सर रोगी आए । यो आँकडालाई हेर्दा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय, रगत, घाँटी, दिसा गर्ने नली र पिसाबथैलीका क्यान्सर बिरामीको संख्या निकै ठूलो छ ।

पुरुषभन्दा महिला बढी
सन् २००३ देखि २०१२ सम्मका ५६ हजार १३ जना क्यान्सर रोगीमध्ये ५३ दशमलव ४ प्रतिशत महिला छन् । क्यान्सर रोगी पुरुषको संख्या भने ४६ दशमलव ६ प्रतिशत देखिएको थियो । पुरुषमा फोक्सो, आमाशय र कोलोरेक्टलको पुरुष क्यान्सर रोगी बढी छन् भने महिलामा पाठेघरको मुख, स्तन र फोक्सो आदिको क्यान्सर हुने गरेको पाइन्छ ।

क्यान्सरका मुख्य अस्पताल
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको संयोजन र विश्व स्वास्थ्य संगठनको सहयोगमा सञ्चालित क्यान्सरको सातवटा अस्पताल छन् । ती हुन्– वीर, शिक्षण, कान्ति बाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको बिपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पोखराको मणिपाल मेडिकल कलेज । क्यान्सर उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक रेडिएसनथेरापी लिन्याक मेसिनका साथै विभिन्न विभागमा क्यान्सर विशेषज्ञ चिकित्सकहरूबाट उपचार हुने गरेको छ ।

क्यान्सरको विश्व मानचित्र
क्यान्सर रोग हाल विश्वमा समस्याका रूपमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार हरेक वर्ष एक करोड ४१ लाखको दरले थपिने गरेको छ । क्यान्सरकै कारण ८२ लाखको मृत्यु हुने गरेको छ । यही दरले क्यान्सर रोगी बढेमा सन् २०३० सम्ममा यसको संख्या दुई करोड ६४ लाख हुने डब्लुएचओको अनुमान छ । क्यान्सरका ७० प्रतिशत रोगी भने नेपालजस्ता विकासशील देशका हुन्छन् । हाल विश्वमा फोक्सो, स्तन, कोलोरेक्टल क्यान्सर प्रमुख रूपमा देखिएका छन् । तर, बढी मृत्यु भने फोक्सो, कलेजो र आमाशयको क्यान्सरबाट हुने गरेको छ ।

सरकारल के गर्ने ?
नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सम्बन्धित अस्पतालले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार गर्ने व्यवस्था छ । तर, नेपालमै क्यान्सरको उपचार हुने भए पनि थुप्रै बिरामीहरू भारतलगायत अन्य मुलुकमा जाने गरेका छन् । क्यान्सरको उपचारबाट वार्षिक करिब ६ अर्ब रुपैयाँभन्दा बढी बिदेसिने गरेको अनुमान छ । यस्ता कुरालाई मध्यनजर गर्दै नेपाल सरकारले क्यान्सर उपचारका लागि पेट स्क्यानका साथै अत्याधुनिक प्रविधि भिœयाउन आवश्यक छ । क्यान्सर रोकथाममा व्यापक रूपले जनमानसमा प्रचार प्रसार गर्नका लागि नीति नियम बनाएर आवश्यक बजेट पनि विनियोजन गर्नुपर्दछ । यदि सरकारले तदारुकता देखाएमा सजिलैसँग क्यान्सरको रोकथाम र नियन्त्रण गर्न सम्भव छ ।

  • किशोरकुमार प्रधानांग,  प्रमुख, क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभाग बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर

तपाईको प्रतिक्रिया