logo

bar

रुपन्देहीका सबै केन्द्रमा उत्साहपूर्ण मतदान जारी

विष्णु घिमिरे बुटवल २१ मंसिर | मङि्सर २१, २०७४

आज भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन रुपन्देहीमा उत्साहजनक रुपमा भइरहेको छ । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीका अनुसार, जिल्लाका सबै मतदान केन्दमा उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

बुटवलका विभिन्न मतदान स्थल कता केन्द्रहरुमा वृद्धवृद्धा तथा अशक्तहरु पनि मतदानका लागि पुगेका छन । उनीहरुका लागि सहज रुपमा मतदानको ब्यवस्था मिलाइएको मतदानका लागि खटिएका कर्मचारीहरुले बताए ।

२०८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्र रहेको रुपन्देहीमा सबै केन्द्रहरुमा उत्साहजनक रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । रुपन्देहीमा ५ वटा प्रतिनिधि सभा र १० प्रदेश सभा रहेका छन । यहा मतदानका लागि झण्डै ४ हजार ८ सय कर्मचारी मतदान केन्द्रहरुमा खटिएका छन् ।

जिल्लामा रहेका ५ सय ९८ मतदान केन्द्रमा त्यति नै संख्यामा मतदान अधिकृत र सहायक मतदान अधिकृत, २ हजार ३ सय ९२ सहायक कर्मचारी, ११ सय ९६ कार्यालय सहयोगी गरी जम्मा ४ हजार ७ सय ८४ जना कर्मचारी खटिएका छन् ।

कुन कुन नेताले कहाबाट गरे मतदान ?

यसै क्रममा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २, रुपन्देहीका बामगठबन्धनका उम्मेदवार एमाले उपमहासचिब एवं पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलबाट विहान मतदान गरेका छन । उनले बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन । यस मतदान केन्द्रबाट पहिलो मतदाताका रुपमा पौडेलले मतदान गरेका छन् ।

यस्तै मतदान केन्द्रबाट एमाले नेतृ राधा ज्ञवालीले पनि मतदान गरेकी छन । त्यस्तै एमाले नेता नेत्र पन्थीले पनि यसै मतदान केन्द्रबाट मतदान गरेका छन । एमाले नेता तथा रुपन्देही २ प्रदेश सभा १ का लिला गिरीले तिलोत्तमा नगरपालिका स्थीत न्यू लाइट स्कूलको मतदान केन्द्रबाट मतदान गरेका छन ।

कांग्रेस नेता बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थीत जनज्योति माविमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन । रुपन्देही २ प्रतिनिधि सभाका कांग्रेसका उम्मेदवार युवराज गिरीले बुटवल स्थीत सिद्धेश्वरी माविको मतदान केन्द्रबाट मतदान गरेका छन ।

इलाका वन कार्यालयमा रहेको मतदान केन्द्रबाट कांग्रेसका रुपन्देही क्षेत्र नम्वर ५ प्रदेश सभा १ का उम्मेदवार विष्णु पोखरेलले मतदान गरेका छन । त्यस्तै रुपन्देही एकका कांग्रेस उम्मेदवार अब्दुल रज्जाक तथा रुपन्देही ३ का राप्रपाका उम्मेदवार दीपक बोहोराले पनि मतदान गरेका छन ।

कहाँ कहाँ हुन्छ मतगणना ?

रुपन्देहीमा मतदानपछि निर्वाचन क्षेत्र नम्बर ४ र ५ लाई भैरहवा स्थीत शैक्षिक तालिम केन्द्र रहेकै स्थानमा मतगणना गर्ने, त्यहाँका मतपेटिकाहरु त्यहीं सुरक्षितसाथ भण्डारण गर्ने र निर्वाचन क्षेत्र नम्बर १, २ र ३ लाई भैरहवा बहुमुखी क्याम्पसमा मतपेटिका भण्डारण गर्ने र मतगणना गर्ने ब्यवस्था मिलाइएको छ ।

यस्तो छ मतदाताको विवरण

जिल्लाको निर्बाचन क्षेत्र नम्बर १ मा कुल मतदाता १ लाख १२ हजार १ सय ३० छन् भने प्रदेश सभा १ मा ५७ हजार ४ सय २१ र प्रदेश सभा २ मा ५४ हजार ७ सय ९ जना छन् । क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख ५ हजार २ सय ६ छन् भने प्रदेश सभा १ मा ५१ हजार ६ सय ३ र प्रदेश सभा २ मा ५३ हजार ६ सय ३ छन् ।

यस्तै क्षेत्र नम्बर ३ मा कुल मतदाता १ लाख ९ हजार २ सय ७८ छन् भने प्रदेश सभा १ मा ५५ हजार १ सय ७६ र प्रदेश सभा २ मा ५४ हजार १ सय २ छन् । यस्तै क्षेत्र नम्बर ४ मा कुल मतदाता ८९ हजार ८ सय ३५ छन् भने प्रदेश सभा १ मा ४३ हजार ४ सय ६८ र प्रदेश सभा २ मा ४६ हजार ३ सय ६७ जना छन् । क्षेत्र नम्बर ५ मा कुल मतदाता १ लाख ६ हजार १ सय ५३ छन् भने प्रदेश सभा १ मा ६१ हजार ५ सय ८३ र प्रदेश सभा २ मा ४४ हजार ५ सय ७० जना मतदाता छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु