logo

bar

रुपन्देहीमा उल्लासपूर्ण रूपमा मतदान जारी

रासस बुटवल, २१ मंसिर | मङि्सर २१, २०७४

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणको  निर्वाचन रुपन्देहीमा शान्तिपूर्ण रुपमा जारी  छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्ला पाँचवटै निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि नै मतदान शुरु भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।

जिल्लाका सबै मतदानस्थलमा बिहानदेखि नै मतदान गर्न मतदाताको उल्लासपूर्ण सहभागिता रहेको जिल्ला निर्वाचन आयोगका प्रमुख अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।

जिल्लामा २०८ मतदानस्थलमा ५९८ मतदान केन्द्र तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा आठजना कर्मचारी र चार जना स्वयंसेवक खटाइएको छ ।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८, नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए ।

उनले जिल्लाका प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाका २०८ मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले ७५ अतिसंवेदनशील, ४५ संवेदनशील र ८८ सामान्य रहेको र सोहीअनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन मिलाइएको बताए ।

रुपन्देहीमा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन् ।

रुपन्देही जिल्लाबाट शीर्ष नेतामा नेकपा (एमाले)का उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नं २ अन्तर्गत बुटवल उपमहानगरपालिका–८ स्थित सडक विभाग मतदानस्थलबाट बिहान ७ः१५ बजे मतदान गरेका छन्।

यस्तै नेपाली काँग्रेसका नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले जिल्लाको क्षेत्र नं १ को तिलोत्तमा नगरपालिकास्थित ज्योति निमावि मतदानस्थलमा बिहान ८ बजे मतदान गरे ।

यस्तै स्वास्थ्यमन्त्री तथा राष्ट्रिय प्रजातान्त्र पार्टी (प्रजातान्त्रिक) का उपाध्यक्ष दीपक बोहराले बिहान ७ बजे नै सिद्धार्थनगर नगरपालिका–३ स्थित खजना निमावि मतदानस्थलबाट मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु