logo

bar

पहिले गाह्रो भयो, पछि सिक्दै गएँ…

नयाँ पत्रिका काठमाडौं, २० मंसिर | मङि्सर २०, २०७४

झन्डै पाँच वर्षअघि जब प्लस टु सकेँ मैले विदेश पढ्न जाने सोच बनाएँ । प्लस टु सक्नेबित्तिकै विदेश पढ्न जानेको लहरै चलेको थियो । मैले अमेरिका पढ्न जान स्याटको तयारी गरिरहेकी थिएँ । बुवाआमालाई मेरो अमेरिका जाने कुरामा खासै चित्त बुझेको थिएन ।

डा. तृष्णा कर्ण

बुवाआमाको चाहना छोरी डाक्टर होस् भन्ने थियो । तर, मलाई धेरै टाढा बनाउन चाहनुभएको थिएन । वुवाले भारतमा मेडिकल पढाउन चाहनुभएको थियो । पछि बुझ्दै जाँदा बंगलादेशमा मेडिकलको पढाइ राम्रो हुने जानकारी पाएँ । धेरै नेपाली बंगलादेश पढ्न गएको थाहा भयो । विभिन्न ठाउँमा बुझेपछि मैले बंगलदेश पढ्न जाने निर्णय गरेँ ।

बाहिर पढ्न जाने भनेपछि म उत्साहित हुँदै गएँ । केही नेपाली साथी पनि थिए । जब नेपालबाट बंगलादेश पुगेँ, त्यहाँको जीवनशैली, त्यहाँका मानिस सुरुमा धेरै अप्ठ्यारो महसुस भयो । मुस्लिम देश, भाषामा समस्या भयो । लगाउने, खाने कल्चर पूरै फरक थियो । कलेजमा जाँदा भाषा बुझिँदैन थियो । कलेजमा पनि बंगाली भाषामा पढाइ हुन्थ्यो । सरले पढाउँदा हामी केही बुझ्दैनथ्यौँ । बिस्तारै त्यहाँको भाषा सिक्दै गयौँ ।

नेपाल र बंगलादेशको पढाइमा अत्यन्त फरक छ । त्यहा पढ्दा दैनिक भाइबा हुने, दैनिक जाँच हुने हुन्थ्यो । दैनिक १२ देखि १४, १५ घन्टासम्म पनि पढ्नुपर्दथ्यो । बुझ्दै गएपछि पढाइ एकदम राम्रो लाग्न थाल्यो । शिक्षकहरूको पढाउने शैली पनि धेरै फरक छ । मैले ६ महिना शिक्षकले पढाएको केही पनि बुझिनँ । बंगलादेशमा खासै अंग्रेजी प्रयोग हुँदैन थियो । प्रश्न गर्न गाह्रो हुन्थ्यो । भाइबा हुँदा शिक्षकले अंग्रेजी नबुझ्ने, आफू बंगाली नबुझ्ने हुँदा गाह्रो पर्दथ्यो ।

बंगाली साथीहरू अत्यन्त मिलनसार हुँदा रहेछन् । पढाइमा नबुझ्दा होस्टेलमा आएर सिकाइदिन्थे । बंगलादेशमा नेपालीहरू अत्यन्त पढ्ने हुन्छन् भन्ने उनीहरूको मानसिकता रहेछ । धेरै सहयोग प्राप्त भयो । नेपालीले अहिलेसम्म पढाइमा राम्रो गरेका रहेछन् । हामीले पनि पढाइमा टप गर्नुपर्छ भन्ने मानसिकता भयो । नतिजा राम्रो बनाउन रातभर पढ्ने गर्दथेँ ।

पहिले साथीहरू नचिन्दा, भाषा नबुझ्दा अत्यन्तै पीडा भयो । कहिलेकाहीँ पढाइ छाडेर जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । लुगा लगाउने शैली, हिँड्ने, खाने सबै कुरामा मानिसले कमेन्ट गर्दथे । कहिलेकाहीँ रुन मन लाग्थ्यो । बाटोमा हिँड्ने पनि कमेन्ट गर्दथे । मुस्लिम देश भएको कारण हरेक कुरामा समस्या भयो । ५ वर्षपछि जब नेपाल आएँ, आएपछि मैले स्वयम्भूमा रहेको जयबागेश्वरी अस्पतालमा काम गरेँ ।

नेपालमा आएपछि पनि धेरै समस्या भोग्नुप¥यो । नेपाल र विदेशको पढाइमा पनि कतिपय कुरा फरक पर्ने रहेछ । जयबागेश्वरीमा केही समय काम गरेपछि वीर अस्पतालको डेन्टर विभागमा काम गरेँ । यसरी विदेशमा अध्ययन गर्दा आफ्नो शैक्षिक योग्यदा त छँदै छ त्यसका साथै त्यहाँको भाषा, संस्कृतिलगायतका धेरै पक्षलाई बुझ्ने मौका पाएँ ।

तपाईको प्रतिक्रिया