logo

bar

स्थिर भारतीय सूचनाप्रविधि क्षेत्र

सिपी चन्द्रशेखर /जयती घोष | मङि्सर २०, २०७४

सूचना प्रविधि क्षेत्रको विकास गर्न सरकारले विशेष व्यवस्था गर्ने सम्बन्धमा भारतमा सो क्षेत्रको व्यापार विस्तार गर्ने निकाय नासकमसँग लामो समयदेखि छलफल तथा बहस हुँदै आएको थियो । हालै आर्थिक वर्ष सन् २०१७-०१८ मा भारतीय सूचना प्रविधि क्षेत्रका वस्तु तथा सेवाबाट हुने निर्यात ७ देखि ८ प्रतिशतसम्म वृद्धि गर्ने सरकारले घोषणा गरेको छ ।

भारतीय सूचना प्रविधि क्षेत्रको विकासका सन्दर्भमा कुरा गर्दाचाहिँ यो विषय निकै दयनीय बन्न पुगको छ । किनभने, यसअघि नै सो क्षेत्रबाट हुने आम्दानी माथि पुगिसकेको छ । विगतका केही वर्षमा त यो क्षेत्रबाट हुने आम्दानी दोहोरो अंकले समेत वृद्धि भइसकेको छ । राज्यको कुल आम्दानीमा ठूलो हिस्सा सूचना प्रविधिको क्षेत्रका वस्तु तथा सेवाबाट प्राप्त हुने गरेको थियो । तर, हालै सरकारले निर्धारण गरेको लक्ष्यले सूचना प्रविधि क्षेत्रलाई खासै उत्साहित तुल्याउन सकेन । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाको तथ्यांकअनुसार सन् २०१२-०१३ मा भारतीय सफ्टवेयर तथा सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित उद्योगको निर्यात २० दशमलव ८ प्रतिशतबाट घटेर सन् २०१४-०१५ मा १४ दशमलव ९ प्रतिशत पुगेको छ । यसैगरी, सन् २०१५-०१६ मा पनि करिब ७ दशमलव ३ प्रतिशतले घटेको केन्दीय बैंकको तथ्यांकले देखाएको छ ।

निर्यात युगको अन्त्य
भारतीय सूचना प्रविधि उद्योगको पछिल्लो विवरण हेर्दा निर्यात युगको अन्त्य भएको संकेत गरेको छ । सन् १९९० को दशकको मध्यदेखि वृद्धि हुन थालेको भारतीय सूचना प्रविधि क्षेत्रको निर्यात करिब एक दशकपछि निकै ठूलो उचाइमा पुगेको थियो । तत्कालीन समयमा सो क्षेत्रको निर्यात करिब ३० प्रतिशतले वृद्धि भएको देखिन्छ भने पछिल्लो समय सो क्षेत्रको निर्यातमा ठूलो परिणाममा घटेको देखिन्छ (चार्ट ः १ र ३ मा हेरौँ) । तर, सूचना प्रविधि क्षेत्रमा सन् २००० पछि आएका विभिन्न खाले नीतिगत कठिनाइका कारण पनि सो क्षेत्रको निर्यात कम हुन पुगेको हो भन्न सकिन्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा भारतीय सरकारले खुला अर्थतन्त्रको नीति अवलम्बन गरेका कारण यो क्षेत्रबाट प्राप्त हुने आम्दानी कम हुन पुगेको हो । भारतीय अर्थतन्त्रको सुधारका लागि खुला अर्थतन्त्र निकै आकर्षक बन्नुका साथै भारतीय अर्थतन्त्रको वास्तविक संकेत गर्ने बताइयो । सुरुमा राजस्व आम्दानीभन्दा कम्पनीको सञ्चालन मुनाफा अझ धेरै थियो । भारतीय बजारका श्रमिक सस्तो पर्ने र सरकारले प्रदान गरेको पूर्वाधार सहुलियतका कारण पनि कम्पनीको नाफाका साथै राजस्व पनि बढी थियो । यही परिस्थितका कारण पछिल्लो सयम भारतीय सूचना प्रविधि क्षेत्रले अर्बपतिहरू जन्माउन सफल बनेको पनि छ । सन् २००७ मा विश्वव्यापी आर्थिक मन्दी सुरु भएपछि भारतीय सूचना प्रविधि क्षेत्रको निर्यातबाट हुने राज्यको आम्दानी पनि कम हुन थालेको देखिन्छ (चार्ट : २) । सन् २०१४-०१५ देखि सो क्षेत्रको आम्दानी फराकिलो अन्तरले कम हुन थालेको छ (चार्ट : ३) । चार्ट ४ मा देखाइएजस्तै सूचना प्रविधि क्षेत्रबाट हुने आम्दानी कम हुन थालेकाले समग्र राष्ट्रको निर्यातलाई प्रभावित पारेको छ । यसले भारतीय सूचना प्रविधि क्षेत्रको भविष्य दिनानुदिन कमजोर बन्दै गएको प्रमाणित गरेको छ ।

सूचना प्रविधि क्षेत्रको योगदान कमजोर बन्नुमा धेरै पक्ष जिम्मेवार छन् । पहिलो त निर्यात हुने राष्ट्रको नीतिगत चासो पनि हो । भारतबाट निर्यात हुने धेरै सेवाको प्रमुख आयातकर्ता राष्ट्र अमेरिका नै हो भने दोस्रो स्थानमा युरोपेली बजार रहेको छ । सन् २००० मा भारतबाट हुने निर्यात (सूचना प्रविधि तथा सफ्टवेयरको मात्र) मध्ये करिब दुईतिहाइ रकमबराबरको निर्यात अमेरिकामा मात्र भएको थियो भने युरोपेली बजारले करिब एकचौथाइ रकमबराबरको सेवा आपूर्ति भारतीय बजारबाट गरेको थियो । सन् २०१५-०१६ मा आइपुग्दा पनि अमेरिकाले करिब ६२ प्रतिशत रकमबराबरका सेवा तथा वस्तु भारतीय बजारबाट नै आपूर्ति गरेको देखिएको छ । युरोपले २४ प्रतिशत रकमबराबरका वस्तु तथा सेवा आयात गरेको देखिएको छ । यसरी हेर्दा खासै ठूलो अन्तर भने आएको देखिँदैन ।

सेवाक्षेत्रमा बढेको चिन्ता
सूचना प्रविधिका हार्डवेयरभन्दा सफ्टवेयर सेवाको आम्दानी निकै बढी छ । श्रमिकको ज्याला र कम्पनीको सञ्चालन मुनाफा कम गरेरै भए पनि यो क्षेत्रको निर्यात वृद्धि गर्न जरुरी भइसकेको छ । तर, यसले समग्र सूचना प्रविधि उद्योगलाई नै जोखिममा पारेको छ । नयाँ स्थानमा व्यापार वृद्धि गर्न सकेको छैन भने रोजगारीका अवस्था पनि जोखिमपूर्ण बन्दै गएको छ । कतिपय रोजगारी स्वचालीकरण हुन थालेका पनि रोजगारीको अवस्था चिन्ताजनक बन्न पुगेको हो । सन् २००७-००८ ताका र त्यसपछि पनि सूचना प्रविधि क्षेत्रको निर्यात खासै सुधार हुन नसक्नु खासै आश्चर्यजनक विषय होइन । तर, यसले लामो समयसम्म चुनौती पुर्‍याएको भने पक्कै हो । आर्थिक मन्दीका वेला अमेरिकामा आएको असरले विशेष गरी सबैजसो विकासशील मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पु¥याएको देखिन्छ । तसर्थ, भारतीय सूचना प्रविधि क्षेत्र पनि अस्थिर बन्न पुगेको हो । पछिल्लो समय सूचना प्रविधि क्षेत्रका सेवा (सफ्टवेयरलगायत अन्य)को माग निकै कम भएको छ । माग वृद्धि नै अर्थतन्त्रलाई सकारात्मक असर पुर्‍याउने एक मात्र कारण भएकाले माग वृद्धि नभएसम्म सम्बन्धित क्षेत्रका उद्योगको अवस्था सुधार हुन पटक्कै सम्भव छैन । विश्व आर्थिक मन्दीको समयदेखि नै कमजोर बनेका क्षेत्रको निर्यात एक दशक बितिसक्दा पनि तत्कालै बढेर चमत्कार हुने सम्भावना छैन । विशेष गरी अमेरिकामा माग कम हुनुका साथै संरक्षणवाद नीतिको अवलम्बनको विषय पनि व्यापक हुँदै गएका वेला विकासशील राष्ट्रलाई धेरै फाइदा हुने देखिँदैन । अर्कातिर विगतमा अमेरिकी उपभोक्तालाई सेवा प्रदान गर्दै आएका भारतीय कम्पनीले प्रदान गर्ने खरिद–बिक्रीपछि प्रदान गरिने सेवासुविधा प्रदान गर्न पनि कठिन र महँगो बन्दै गएको अवस्था छ । दक्ष तथा सीपयुक्त कामदारलाई अमेरिकामा प्रदान गरिने एचवान बी भिजामार्फत आएका विदेशी कामदार सस्तो हुने भए पनि केही महँगो हुने भनिएका स्थानीयको रोजगारी कटौती गरेको अमेरिकी प्रशासनले बताउँदै आएको छ । एचवान बी भिजामा आएका ८० प्रतिशतभन्दा बढी विदेशी कामदारले अमेरिकीले प्राप्त गर्ने औसत ज्यालाभन्दा पनि कम ज्याला प्राप्त गर्ने गरेको र ५ प्रतिशतले दक्ष विदेशी कामदारले मात्र उच्चदरको आम्दानी गर्ने गरेको अमेरिकी प्रशासनका एक उच्च अधिकारीले वित्तीय समाचार सेवा प्रदायक संस्था फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ । यही तथ्यका आधारमा एचवान बी भिजामा अमेरिका भित्रिने कामदारको संख्या र ज्यालादर पनि परिमार्जन गर्न लागिएको छ । यसले कतिपय व्यावसायिक कम्पनी र तिनको नाफा प्रभावित बन्ने देखिन्छ । यसका साथै शून्य कर लाग्ने क्षेत्र (अफसोर)मा भएको लगानी फिर्ता गर्न पनि दबाब दिन थालिएको छ ।

रोजगारी कटौती
अमेरिकी नीतिका कारण भारतीय सूचना प्रविधि क्षेत्रका सेवको बृद्धि खस्किएको हो । स्वचालीकरणले कामदारको माग घटाएको छ । नासकमका अनुसार गत आर्थिक वर्षमा भारतीय सूचना प्रविधि क्षेत्रमा कम्तीमा पनि १ लाख ५० हजार रोजगारी गुमाएको छ । विगत तीन वर्षपहिले २ लाख ३० प्रत्यक्ष अप्रत्यक्ष रोजगारी यो क्षेत्रले गुमाएको यो क्षेत्रमा गत वर्ष भने कमै मात्र रोजगारी गुमेको नासकमले उल्लेख गरेको छ । संख्याकै आधारमा हेर्ने हो भने भारतीय सूचना प्रविधि क्षेत्रले सबैभन्दा धेरै रोजगारी प्रदान गर्छ भन्न मिल्दैन । कुल गार्हस्थ उत्पादनमा पुर्‍याएको योगदानका आधारमा पनि सूचना प्रविधि क्षेत्र मुख्य क्षेत्र होइन । तर, रोजगारी तीव्र रूपमा फैलिँदै गएको क्षेत्र भने थियो । भारतको जनसांख्यिक विवरण हेर्ने हो भने ठूलो संख्यामा युवायुवतीको आकर्षण भएको क्षेत्र भने सूचना प्रविधिको क्षेत्र हो ।

सिपी चन्द्रशेखर र जयती घोष दुवै दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा अर्थशास्त्र विषयका प्राध्यापक हुन् ।

स्रोत : द हिन्दू बिजनेस लाइन

तपाईको प्रतिक्रिया