logo

bar

ट्रम्पको यात्रा प्रतिबन्ध सर्वाेच्च अदालतद्वारा सदर

एजेन्सी वासिङ्टन, २० मंसिर | मङि्सर २०, २०७४

सोमालिया, सिरिया, यमन, चाड, इरान र लिबियाका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा लगाएको यात्रा प्रतिबन्धलाई सर्वोच्च अदालतले सदर गरेको छ । एक महत्वपूर्ण फैसला सुनाउँदै अदालतले मंगलबार ट्रम्पको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न आदेश दिएको हो । राष्ट्रपति ट्रम्पले केही महिनाअघि छुट्टाछुट्टै आदेशमा विभिन्न ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । तर, ट्रम्पको आदेशलाई संघीय र पुनरावेदन अदालतले उल्टाइदिएका थिए ।

६ देशका मुस्लिम नागरिकमाथि प्रतिबन्ध
सर्वोच्चको फैसलासँगै ६ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लाग्नेछ । मुस्लिम नागरिकको बाहुल्यता रहेका सोमालिया, सिरिया, यमन, चाड, इरान र लिबियाका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लाग्नेछ । सोमबारको फैसलाले अमेरिकाको उच्च न्यायिक निकायले राष्ट्रपतिको पक्षमा निर्णय गरेको कानुनविद्हरूले बताएका छन् । यसअघिका विवादास्पद विषयहरूमा पनि सर्वोच्च अदालतले बहालवाला राष्ट्रपतिकै पक्षमा फैसला गरेको उनीहरूको भनाइ छ ।

पुनरावेदनद्वारा बदर, सर्वोच्चद्वारा सदर
यसअघि पुनरावेदन अदालतले राष्ट्रपति ट्रम्पका निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न नमिल्ने भन्दै उनको आदेश उल्टाएको थियो । गत वर्षको जनवरी, मार्च र सेप्टेम्बरको अन्त्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पले तीनपटकसम्म मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए । तर, ट्रम्पको आदेशविरुद्ध विभिन्न समूह र अधिकारवादीहरूले पुनरावेदन तथा संघीय अदालतमा उजुरी गरेका थिए । ट्रम्पको घोषणाले निश्चित धर्मावलम्बी र समुदायमाथि विभेद गरेको भन्दै पुनरावेदन र संघीय अदालतले ट्रम्पका निर्णय उल्टाइदिएका थिए । तल्लो तहका अदालतहरूले ट्रम्पको यात्रा प्रतिबन्ध मुसलमानविरुद्ध लक्षित भएको र त्यसले अमेरिकी संविधानको पहिलो संशोधनले समेटेको धर्मसम्बन्धी स्वतन्त्रताको हक उल्लंघन गरेको जनाएका थिए ।

७ न्यायाधीश ट्रम्पको पक्षमा
सोमबार सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरू ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धको पक्षमा उभिएका थिए । उनीहरूले ट्रम्पको पूर्ववत् आदेशलाई रोक लगाउने तल्लो तहका अदालतको निर्णयलाई खारेज गरिदिएका थिए । सो अदालतका नौमध्ये सात न्यायाधीशले प्रतिबन्धको पक्षमा फैसला दिएका हुन् । दुई न्यायाधीशले भने राष्ट्र«पतिको आदेशविरुद्ध आफ्नो धारणा पेस गरेका थिए ।

फैसलापछि मिश्रित प्रतिक्रिया
यसैबीच, सर्वोच्च अदालतको पछिल्लो फैसलामा विभिन्न व्यक्ति र समुदायले मिश्रित प्रतिक्रिया दिएका छन् । केही मुस्लिम समुदायले सो फैसलाको विरोध गरेका छन् । फैसलाको विरोधमा केही सहरमा प्रदर्शन भएका छन् । अध्यागमनसम्बन्धी राष्ट्रिय कानुन केन्द्रकी निर्देशक क्यारेन टम्लिनले सोमबारको आदेशलाई विध्वंसकारी बताएकी छिन् । ट्रम्पका प्रशंसकहरूले भने अदालतको फैसलाको स्वागत गरेका छन् । राष्टपतिको कार्यलय हवाईट हाउसका प्रवत्ता होगन गिड्लेले सर्बोच्चको फैसलाबाट हवाईट हाउस अचम्मित नभएको बताए । महान्याधिवक्ता जनरल जेफ सेसनले फैसला अमेरिकी नागरिकको सुरक्षाका लागि महत्वपूर्ण बिजय भएको बताए ।

यसअघि कुनै निश्चित मुस्लिम देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको तीव्र विरोध भएको थियो । ट्रम्पले धर्म र जातिका आधारमा निश्चित समुदायलाई अमेरिकामा निषेध गरेको मानवअधिकारवादी संघसंस्थाले आरोप लगाएका थिए । ट्रम्पको घोषणालाई लिएर सम्पूर्ण अमेरिका नै विभाजित भएको थियो । उनको घोषणाको मुस्लिम मुलुकहरूले कडा विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु