logo

bar

संयुक्त सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

एजेन्सी प्योङयाङ, २० मंसिर | मङि्सर २०, २०७४

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको उत्तर कोरियाले निन्दा गरेको छ । अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि राजधानी सिउलमा गरेको सैन्य अभ्यासको उत्तर कोरियाले निन्दा गरेको हो । पाँच दिनसम्म चल्ने सो अभ्यास आफूविरुद्ध लक्षित रहेको भन्दै त्यसको उचित जवाफ दिने प्योङयाङले चेतावनी दिएको छ ।

सैन्य अभ्यासमा अमेरिका र दक्षिण कोरियाका करिब २३० वटा युद्धक विमानको प्रयोग गरिएको छ । ती विमान दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको छ । सैन्य अभ्यासलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ, जहाँ हजारौँ स्थल सेना परिचालित छन् । दशौँ हजारको संख्यामा रहेका दक्षिण कोरियाली सेना सो अभ्यासमा सहभागी भइरहेका छन्।

उत्तर कोरियाको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच तिक्तता बढिरहेका वेला वासिङ्टन र सिउलले सैनिक अभ्यास गरिरहेका छन् । सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरूको प्रयोग भएको छ । ती विमान दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा समेत उडाइएको जनाइएको छ ।

सैन्य अभ्यास दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि भएको अमेरिकाले दाबी गरे पनि उत्तर कोरियाको आणविक परीक्षणविरुद्ध लक्षित रहेको अन्तर्राष्ट्रिय समुदायले अनुमान गरेको छ । उत्तर कोरियाले डेढ साताअघि अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रमा खसेको थियो । उत्तर कोरियाका आणविक गतिवधिलाई लिएर विश्व समुदायले विरोध गर्दै आएको छ । उसका गतिविधि रोक्न संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । उत्तरको आणविक होडको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानलगायतका देशले निन्दा गरेका छन् ।

पछिल्लो समयमा दुई कोरियाबीचको सम्बन्ध चिसिएको छ । दक्षिण कोरियाले अमेरिकासँग सैनिक गतिविधि बढाउन थालेपछि प्योङयाङ अमेरिकाविरुद्ध आक्रोशित छ । यसअघि उत्तर कोरियाको सम्भावित आक्रमण रोक्न अमेरिकाले सिउलमा प्रतिरक्षात्मक प्रणाली थाड जडान गरेको थियो । उत्तर कोरियाले प्रतिरक्षा प्रणालीको विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु