logo

bar

नेपाल र युएर्इ भिड्दै ( LIVE )

नयाँ पत्रिका काठमाडौं, २० मंसिर | मङि्सर २०, २०७४

 

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपाली टिममा  कप्तान पारख खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, शरद भेषावकर, आरिफ शेख, विनोद भन्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन, सन्दीप लामिछाने र ललितसिंह भन्डारी छन्।

डब्लुसिएलको अन्तिम चरणअघि शीर्ष ४ मा पर्न सम्भव नभएपछि नेपाल र युएई दुवै डिभिजन–२ मा झरिसकेका छन्। अन्तिम चरणलाई दुवै टिमले डिभिजन–२ को तयारीका रुपमा लिएका छन्।

प्रतियोगिताको सुखद अन्त्यका लागि दुवै टिम प्रतिष्ठाको यो खेल आफ्नो पक्षमा पार्ने प्रयासमा रहँदा डिभिजन दुईको तयारीको पहिलो एक्सपोजका रूपमा समेत प्रतियोगिता रहनेछ । नेपाल आफ्नो युएईविरुद्धको बलियो छविलाई निरन्तरता दिन मैदान उत्रँदा युएई भने अन्तर्राष्ट्रिय क्रिकेटमा उदाउँदो प्रभाव नेपालविरुद्ध देखाउने उद्देश्यमा छ ।

चिरपरिचित प्रतिद्वन्द्वी
नेपाल र युएई एकअर्काविरुद्ध धेरैपटक भिडेका छन् । पछिल्लोपटक युएई र नेपाल एसिसी प्रिमियर लिगका दौरान २०१४ मा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो । त्यसो त त्यसअघि जनवरीमा भएको विश्वकप छनोटमा युएईले नेपाललाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यसैले पनि दुवै टिम एकअर्काविरुद्ध आफ्नो प्रभाव देखाउन मैदान उत्रने छन् ।

डिभिजन टुको तयारी
नेपाल हङकङविरुद्धको खेलमा पराजित भएपछि डिभिजन ‘टु’ मा घटुवा भइसकेको छ । यस्तोमा नेपालका लागि अन्तिम चरणको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर, नेपाल यसलाई अगामी फेब्रुअरीमा हुने डिभिजन टुको तयारीका रूपमा हेरेको छ ।

युएईविरुद्ध भिड्नुअघि नेपालले अमेरिका र केन्याविरुद्ध दुईवटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो । जसमा अमेरिकासँग ५ विकेटले पराजित भएको नेपाल केन्यालाई ६ विकेटले पराजित गर्दै सहज जित हासिल गर्न सफल भएको थियो ।

युएईविरुद्ध जित निकाल्छौँ : कप्तान खड्का


दुई अभ्याससहित ४ खेलका लागि एक साताअघि नै युएई पुगेको नेपाली टिम अभ्यासमा व्यस्त छ । यस्तोमा कप्तान पारस खड्काले आफूहरू युएईलाई जित्नकै लागि मैदान उत्रने बताए । उनले भने, ‘हामी हरेक प्रतियोगितालाई महत्वपूर्ण मान्छौँ । जित्नकै लागि मैदान उत्रन्छौँ । युएईविरुद्धको जितले स्वाभाविक रूपमा हाम्रो मनोबल उच्च हुनेछ ।’

उनले युवा खेलाडीलाई बढीभन्दा बढी एक्सपोजको मौका प्राप्त होस् भनेर अभ्यासमा मौका दिएको बताए । उनले युएईविरुद्ध पनि युवा खेलाडीले मौका पाउने बताए । डिभिजन टुमा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताले त्यसपछि हुने अन्तर्राष्ट्रिय सहभागिता निर्धारण गर्ने हुँदा पनि अब डिभिजन टु नेपालका लागि महत्वपूर्ण प्रतियोगिता रहनेछ । डिभिजन टुमा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने तय भइसकेको छ भने अर्को एक टिममा स्कटल्यान्ड, हङकङ र केन्यामध्ये एक रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु