logo

bar

इपिएलको तयारी अन्तिम चरणमा

नयाँ पत्रिका काठमाडौं, २० मंसिर | मङि्सर २०, २०७४

३ पुसबाट सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग (इपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले टिकटको मूल्य निर्धारण गरेको छ । जसमा १०० रुपैयाँ टिकटको मूल्य तोेकेको छ भने विद्यार्थीका लागि ५० प्रतिशत डिस्काउन्टको व्यवस्था गरेको छ ।

इपिएललाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी काम अघि बढाइरहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता अवधिभर दर्शकको प्याराफिटमा पब्लिक ट्वाइलेट, फुड स्टललगायत सुविधा हुनेछन् । प्रतियोगितामा लाइभ डिजे, चेयरलिडर्स, मैदानबाहिरपट्टि १६–९ फिटको एलइडी टिभीमा लाइभ हेर्न सक्ने व्यवस्था गरेको पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा थर्ड अम्पायरको समेत सुविधा रहने जनाइएको छ । त्यसबाहेक भिआइपी, मिडिया तथा अन्य केही स्थानमा फ्री इन्टरनेटको सुविधा रहने आयोजकले जनाएको छ । इपिएल डिरेक्टर आमिर अख्तरले प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सक्दो प्रयास गरेको बताए ।

विनोद दास सिइओ
इपिएल क्रिकेटले नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा यू–१९ टिमका प्रशिक्षक विनोद दासलाई सिइओमा नियुक्त गरेको छ ।

इपिएल लिगमा ६ वटा फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्दै छन् । लिगमा काठमाडौं किङ्स इलाभेन, ललितपुर पेट्रियट्स, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सको सहभागिता छ ।

राउन्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ । इपिएलको विजेताले २१ लाख प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया