logo

bar

डोल्पामा प्रभावकारी बन्दै कृषि बिमा

रामचन्द्र न्यौपाने दुनै (डोल्पा), २० मंसिर | मङि्सर २०, २०७४

हिमाली जिल्ला डोल्पामा कृषि जोखिम बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । शिखर इन्स्योरेन्स कम्पनीले डोल्पामा शाखा विस्तार गरी कृषि बिमा कार्यक्रम लागू गरेपछि कृषि व्यवसायको बिमा गर्न कृषकहरू आकर्षित भएका छन् ।

जिल्लामै पहिलोपटक लागू भएको कृषि बिमा कार्यक्रमले कृषि व्यवसाय ढुक्क भएर सञ्चालन गर्न पाइएको ठूलीभेरी नगरपालिका–८ डाँगीबाडाका कृषक गोकुलबहादुर डाँगीले बताए । ३ सय ५० बोट स्याउको बिमा गरेको र असिना, खडेरी तथा हावाहुरीले स्याउमा नोक्सान गरे पनि कृषक मारमा नपर्ने र नोक्सानबराबरको रकम पनि पाइने भएकाले कृषि बिमा कार्यक्रम राम्रो लागेको उनले बताए । त्यस्तै, त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत जिउँ गाउँका कृषक रञ्जित बोहोरालाई पनि कृषि बिमा कार्यक्रम उचित लागेको छ । उनले भने, ‘३ सय बोट स्याउ लगाएको छु, सबै बोटको बिमा गरेको छु, बिमा गरेकाले अघिल्लो वर्ष हावाहुरी र असिनाले आंशिक नोक्सान पारेको स्याउको बोटको पनि बिमा रकम पाइसकेको छु ।’

चर्को ब्याजमा ऋण खोजेर गरेको कृषि व्यवसाय प्राकृतिक विपत्तिले क्षति पु¥याएपछि व्यवसाय ठप्प हुने हो कि भन्ने डर हुन्थ्यो । अहिले बिमा कार्यक्रम आएपछि ढुक्क भएर व्यवसाय गर्न पाएको उनको भनाइ छ ।

कृषि बिमा कार्यक्रम लागू भएको थोरै समयभित्रै ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका झन्डै ७५ जना कृषकले यो सेवा लिइसकेका छन् । सो क्षेत्रमा स्याउका २ हजार ५ सय ६८ बिरुवाको बिमा गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका संयोजक क्षेत्रविक्रम शाहीले बताए । कृषि बिमा कार्यक्रममले डोल्पाली कृषकको मन जित्दै गएकाले निकट भविष्यमै जिल्लाका आठवटै स्थानीय तहमा लागू हुने उनले बताए ।

कृषि बिमा कार्यक्रमअन्तर्गत कृषकहरूले गरेको बिमाका आधारमा गत वर्ष स्याउमा खडेरी, असिना र हावाहुरीले पुर्‍याएको क्षतिका आधारमा कृषकहरूलाई केही दिनअगाडि ५ लाख ६ हजार ८ सय २३ रुपैयाँ वितरण गरिएको शिखर इन्स्योरेन्स डोल्पा शाखाका बजार प्रबन्धक तिलक शाहीले बताए ।
अहिले डोल्पाली कृषकहरू स्याउ, ओखर र तरकारीको बिमामा आकर्षित भएको उनले जानकारी दिए । फलफूलको प्रतिबोट ७० रुपैयाँ मात्र बिमा खर्च लाग्ने भएकाले पनि कृषकहरू आकर्षित भएको शाहीले बताए । कृषि बिमा सफल भएपछि अब चाँडै पशु बिमासमेत सुरु हुने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया