logo

bar

सहकारीमा व्यक्तिगत बचत ३ खर्ब २ अर्ब

सुदीपकुमार ढुंगाना काठमाडौं, २० मंसिर | मङि्सर २०, २०७४

देशभरका वित्तीय संस्थामा जम्मा भएको व्यक्तिगत बचतको २० प्रतिशत सहकारीमा

देशभरका विभिन्न वित्तीय संस्थामा जनताले गरेको व्यक्तिगत बचतमध्ये २० प्रतिशत रकम सहकारीमा निक्षेपका रूपमा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंक र सहकारी विभागले आव ०७३-७४ को अन्तिम दिन सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । अघिल्लो आवको अन्तिम दिन देशभरका वाणिज्य बैंक, विकास बैंक र फाइनान्समा कुल व्यक्तिगत निक्षेप १२ खर्ब ६९ अर्ब १४ करोड ९५ लाख रुपैयाँ थियो । सोही समयमा देशभरका सहकारीमा रहेको बचत भने ३ खर्ब २ अर्ब १६ करोड ४५ लाख छ । सहकारी विभागका रजिस्ट्रार केशवप्रसाद रेग्मीका अनुसार संस्थागत बचत नभई सेयर सदस्यहरूको कुल बचत मात्र ३ खर्ब रुपैयाँ नाघेको छ । उनले भने, ‘स्थानीय तह बलियो हुँदै जाँदा स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निभाएको सहकारीले अझ धेरै योगदान दिन सक्छ ।’

देशभर बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यले खुलेका सहकारी संस्था सबैभन्दा धेरै छन् । बचत तथा ऋण सहकारी संस्थाको संख्या आव ०७३-७४ सम्ममा १३ हजार ५ सय ७८ थियो । सहकारी विभागका सूचना अधिकारी नारायणप्रसाद अर्यालका अनुसार बचत तथा ऋण सहकारी संस्थाको संख्या धेरै हुँदा पनि बचत रकम बढी हुन सहज भएको हो । यो तथ्यांक परिष्कृत नभएको भन्दै उनले यसलाई अन्तिम रूप दिँदा थोरै हेरफेर हुन सक्ने सम्भावना व्यक्त गरे ।

सहकारीको प्रकृतिका आधारमा बचत तथा ऋण सहकारी संस्थाहरूमा कुल सेयर पुँजी ५४ अर्ब ३८ करोड ४७ लाख ६९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, निक्ष्ोप २ खर्ब १७ अर्ब ४९ करोड २८ लाख ४३ हजार छ । बचत तथा ऋण सहकारीले कुल १ खर्ब ७९ अर्ब ८७ करोड ९७ लाख १६ हजार रुपैयाँ ऋण लगानी गरेका छन् ।

त्यस्तै, धेरै बचत जम्मा गर्ने र लगानी गर्ने सहकारीमा बहुउद्देश्यीय सहकारी संस्था परेका छन् । ४ हजार ३ सय ७१ वटा बहुउद्देश्यीय सहकारी संस्थाले गत आवमा ६३ अर्ब २६ करोड ५५ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६२ अर्ब ४६ करोड ३२ लाख ९६ हजार रुपैयाँ ऋण लगानी गरेका छन् ।

तेस्रोमा भने कृषि सहकारी छन् । देशभर रहेका १० हजार ९ सय २१ कृषि सहकारीले १६ अर्ब ५४ करोड ७० लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ९७ करोड १७ लाख ९२ हजार रुपैयाँ लगानी गरेका छन् ।

सबैभन्दा कम बचत तथा ऋण परिचालन गर्ने सहकारीमा जुनार सहकारी छ । देशभरमा ४५ वटा जुनार सहकारी रहेकोमा यसले कुल ९४ लाख २४ हजार रुपैयाँ बचत गरी ८३ लाख २८ हजार रुपैयाँ लगानी गरेको छ ।

ठूलाभन्दा साना उद्योगको सम्भावनालाई सहकारीले नै प्रवद्र्धन गर्न सक्ने बचत तथा ऋण सहकारीहरूको राष्ट्रियस्तरको संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव चन्द्रप्रसाद ढकाल बताउँछन् । बैंकिङ कारोबारभन्दा उत्पादकत्व बढाउनेतर्फ सहकारीले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

सहकारी संस्थाले सदस्यको व्यक्तिगत, व्यावसायिक वा पारिवारिक समस्यामा ऋण प्रदान गर्ने हुनाले व्यक्तिगत बचत सहकारीमा बढेको उनको भनाइ छ । एकीकृत बचत तथा ऋण सहकारी संस्था जोरपाटीका अध्यक्ष देवनारायण चौलागाईंले भने, ‘कम आयस्तर भएका केही गरौँ भन्नेहरूलाई सहकारी धेरै सहयोगी भएको छ । सोही कारण न्यून आय भएका नागरिकले सहकारीमा रकम जम्मा गर्ने गरेका छन् ।’

तपाईको प्रतिक्रिया