logo

bar

ढाडमा बेल्ट बाँधेर अप्रेसन गर्छु : डा. भोला रिजाल

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल ७० वर्ष पुगिसके । तर, आज पनि उनी उत्तिकै सक्रिय छन् । उनी बिहान ७ बजेदेखि बेलुकी ८–९ बजेसम्म बिरामीसँगै हुन्छन् । फुर्सदमा गीत पनि कोरिरहेका छन् । ओम हस्पिटल संस्थापकसमेत रहेको डा. रिजालले नेपालमा पहिलोपटक टेस्ट्युबबाट बच्चा जन्माउने प्रविधिसमेत भित्र्याएका थिए । बिरामीको स्वास्थ्य जाँच गरिरहने डाक्टर भोला रिजालको स्वास्थ्यचाहिँ कस्तो छ त ? नयाँ पत्रिकाका विश्वास खड्काथोकीले सोधेका छन् :

डा. भोला रिजाल
स्त्रीरोग विशेषज्ञ

वेलावेलामा स्वास्थ्य जाँच गरिरहन्छु । भरत रावत र लव जोशीसँग स्वास्थ्य परीक्षण गर्ने गरेको छु । उहाँकै अनुसार ब्लड टेस्ट पनि गरिरहेको हुन्छु । तर, ब्लड टेस्टले पनि स्वास्थ्यमा त्यस्तो गम्भीर केही समस्या नभएको देखाएको छ ।

मुटुमा समस्या देखिएपछि आठ वर्षअघि सिटी एन्जिओग्राम गरेको थिएँ । मुटुको रक्तसञ्चार हुने दुईवटा प्वाल टालिएको रहेछ । त्यसैवेला मुटुमा स्ट्रेन्थ पनि हाल्नुपरेको थियो । वेलावेला त्यसैको परीक्षण गर्नुपर्ने हुन्छ ।

लामो समयदेखि ढाडमा चाहिँ समस्या छ । ०३१ सालमा हलुका सामान उठाउँदा पछाडिको नसामा समस्या भएछ । यसलाई नसा च्यापिएको भनेर पनि भन्छन् । त्यसैले बिरामीको अप्रेसन पनि बेल्ट लगाएर गर्नुपर्छ । मेरो नसा च्यापिएको ठाउँमा अप्रेसन पनि गर्न मिल्दोरहेनछ । अप्रेसन गर्न मिल्छ भनेर फ्रान्ससम्म पनि पुगेँ । तर, त्यहाँबाट पनि निराश भएर फर्कनुपर्‍यो ।

खाना र व्यायाम
धेरैलाई अनौठो लाग्न सक्छ, मैले अहिलेसम्म कुनै व्यायाम गरेको छैन भन्दा पनि हुन्छ । पहिलेपहिले साइक्लिङ गर्थें । तर, ढाडको समस्या भएदेखि त्यो पनि गर्न सक्दिनँ । अहिलेसम्म मेडिटेसन, योगा केही पनि गरेको छैन । कामका लागि जति कुदिन्छ, त्यही नै हो मेरो एक्सरसाइज । खानाको पनि त्यस्तो कुनै सेड्युल छैन । स्वास्थ्यकर्मी भए तापनि नियमित आफ्नो स्वास्थ्यलाई ध्यान दिन नपाइने रहेछ । केही गरौँ भन्ने भावनाले केही मात्रामा अस्तव्यस्त पनि बनाउँदोरहेछ । आफ्नो समय पनि बिरामीलाई नै दिनुपर्ने हुन्छ । सकेसम्म कार्बोहाइड्रेड भएको खानेकुरा भने खाँदिनँ । यो कुरा खानु हुँदैन भनेर इम्याजिन गर्‍यो अनि खायो भने झन् बिरामी पर्न सकिन्छ । बेलुकी घर पुगेपछि सामान्य दाल, भात, तरकारी खाने गर्दछु । मलाई चाहिँ दर्शक, श्रोता र बिरामीको मायाले नै अहिलेसम्म स्वस्थ राखेकोजस्तो लाग्छ ।

अम्मल
अहिले पनि लाग्छ, मैलेजति चुरोट कसले खान्थ्यो होला ? प्रत्येक दिन कम्तीमा २० खिल्ली चुरोट आफू खान्थेँ र २० खिल्ली अरूलाई बाँड्थेँ । मैले १२ वर्षभन्दा बढी समयसम्म यसरी चुरोट खाएँ । म टिचिङ अस्पतालको डाइरेक्टर भएपछि प्रोफेसर गोविन्द शर्माले नो स्मोकिङ दिन भन्नुभयो, ‘म एउटा चिज माग्छु, दिन्छौ ?’ मैले हुन्छ भनेर टाउको हल्लाएँ । त्यही दिनदेखि मैले चुरोट छोडिदिएँ । चुरोट छोडेको ४५ वर्ष भइसकेको छ । त्यस्तै, अल्कोहल छोडेको ३९ वर्ष भयो । अहिले कुनै पनि अम्मल लिँदिनँ । र, सबैलाई चुरोट नखान सल्लाह दिन्छु । बरु अल्कोहल अलिकति खान सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया