logo

bar

सिटी अझै अपराजित

एजेन्सी लन्डन, १९ मंसिर | मङि्सर १९, २०७४

इंग्लिस प्रिमियर लिगमा आफ्नो सनसनीपूर्ण प्रदर्शन जारी राख्ने क्रममा म्यानचेस्टर सिटीले घरेलु मैदानमा उत्कृष्ट ‘कमब्याक’ गर्दैै अपराजित यात्रालाई कायमै राखेको छ । लिगमा एकपक्षीय अग्रता बनाउने क्रममा सिटीले वेस्टह्यामलाई पराजित गर्‍यो ।

इथाइड स्टेडियममा आइतबार वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गर्दा दुवै गोल सिटीले दोस्रो हाफमा सम्भव बनायो । सिटी पहिलो हाफमा १–० ले पछि थियो । ४४औँ मिनेटमा एन्जेलो ओग्बोनाले गोल गरेर वेस्टह्यामलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सिटीको २ गोल
पहिलो हाफमा अग्रता बनाएको वेस्टह्यामविरुद्ध सिटीले ५७औँ मिनेटमा निकोलास ओटामेन्डीको गोलमार्पmत खेललाई बराबरीमा ल्याएको थियो । एकपछि अर्को राम्रो प्रहार गरेको सिटीले अन्ततः ८३औँ मिनेटमा खेलमा अग्रता कायम गर्‍यो । डेभिड सिल्भाले केभिन डे ब्रुुइनको पासलाई सदुपयोग गरेर सिटीको संकट टार्दै महत्वपूर्ण ३ अंक दिलाए ।

लगातार १३ जितको कीर्तिमानी
सिटी प्रिमियर लिगमा लगातार १३ खेलमा जित निकाल्दै प्रिमियर लिगमा यसअघि आर्सनलले सन् २००१ तथा चेल्सीले गत सिजन लगातार १३ खेलमा निकालेको जितको कीर्तिमानीसँग बराबरी गर्न सफल भएको छ ।

अग्रता फराकिलो
जितपछि प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंकदुरी ८ अंकमा कायम राखेको छ । शीर्षस्थानको सिटीको १५ खेलबाट ४३ अंक छ भने दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ३५ अंक छ । तेस्रो स्थानको चेल्सीको ३२ अंक छ भने चौथो स्थानको लिभरपुलको २९ र पाँचौँ स्थानको आर्सनलको २८ अंक छ ।

  • सिटीमा २०१५ को सेप्टेम्बरमा डेब्यु गरेयता केभिन डी ब्रुयनले ३५ गोलका लागि एसिस्ट गरेका छन्, जुन शीर्ष पाँच युरोपियन लिगमा सर्वाधिक हो ।
  • सिटीले वेस्टह्यामविरुद्ध घरेलु मैदानमा खेलेका ११ प्रिमियर लिगमध्ये नौ खेलमा जित हासिल गरेको छ ।
  • म्यानचेस्टर सिटीले वेस्टह्यामविरुद्ध पछिल्ला २० प्रिमियर लिगमा १८ गोल गरेको छ, जसमध्ये पछिल्ला नौ खेलमा लगातार गोल गरेको छ ।
  • वेस्टह्यामले प्रिमियर लिगमा पछिल्लो समय २०१५ मा म्यानचेस्टर सिटीलाई घरेलु मैदानमा पराजित गरेको थियो ।
  • म्यानचेस्टर सिटीले प्रिमियर लिगमा १३ खेलसम्म लगातार जित निकालेको छ । प्रिमियर लिगमा यसअघि दुई टिमले मात्र लामो समयसम्म निरन्तर जित निकालेका छन्, जसमा आर्सनलले २००१ मा र चेल्सीले २०१६ मा लगातार १३ खेलसम्म निरन्तर जित निकालेको कीर्तिमानी थियो ।
  • रहिम स्ट्रलिङले ८४ मिनेटपछि चारपटक सिटीको जितमा निर्णायक गोल गरेका छन् । स्ट्रलिङ पछिल्ला १३ खेलमा १२ गोलका लागि निर्णायक रहेका छन् । उनले १० गोल र २ असिस्ट गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु