logo

bar

सम्हालियो श्रीलंका

एजेन्सी दिल्ली, १९ मंसिर | मङि्सर १९, २०७४

भारत र श्रीलंकाबीच जारी तेस्रो टेस्टको तेस्रो दिन श्रीलंका दिनेश चण्डीमाल र पूर्वकप्तान एन्जेलो म्याथ्युजको शतकले ९ विकेट गुमाएर ३ सय ५६ रन बनाउन सफल भयो । खराब प्रकाशका कारण समयभन्दा अघि नै दिनको खेल समाप्त गरिएको थियो । यस्तोमा श्रीलंका १ विकेट हातमा रहेको अवस्थामा १ सय ८० रनले पछि छ । यसअघि, भारतले दोस्रो दिन कोहोलीको दोहोरो शतकमा ५ सय ३६ रन बनाएर इनिङको घोषणा गरेको छ ।

१ सय ८१ रनको साझेदारी
श्रीलंकाले अन्तिम सेसनमा एकपछि अर्को विकेट गुमाए पनि त्यसअघि भने उसको मध्यक्रम सम्हालिँदै भारतमाथि दबाब बढाउन सफल भएको थियो । चण्डीमालले पूर्वकप्तान म्याथ्युजसँग मिलेर चौथो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे । चण्डीमालले ३ सय ४१ बलमा १८ चौका र १ छक्का प्रहार गर्दै अविजित १ सय ४७ रन बनाए भने म्याथ्युजले २ सय ६८ बलको सामना गर्दै १४ चौका र २ छक्का प्रहार गरेर १ सय ११ रन बनाए ।

यद्यपि, म्याथ्युज आउट भएपछि भने श्रीलंकन पारीमा निरन्तर विकेटपतन हुन पुग्यो । चण्डीमाललाई सदिरा समाराविक्रमले केही समय साथ दिएका थिए । ६१ बल खेलेका समाराविक्रम ७ चौकाको मद्दतमा ३३ रन बनाएर पेभिलियन फर्किए । यद्यपि, पछिल्लो क्रमका चार ब्याट्सम्यान दोहोरो रनको स्कोर नबनाई पेभिलियन फर्किएका थिए । क्रिजमा म्याथ्युजलाई लक्सान सन्दाकनले शून्य रनमा साथ दिएका छन् ।

अश्विनको ३ विकेट
श्रीलंकालाई मध्यम स्कोरमा राख्ने क्रममा भारतका रविचन्द्र आश्विनले ९० रन दिएर ८ मेडन राख्दै ३ विकेट लिए । आश्विनले ३५ ओभर बलिङ गरेका थिए । त्यस्तै, मोहमद सामी, इशान्त शर्मा र रवीन्द्र जडेजाले समान २ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु