logo

bar

बढ्दै छ अवैध कल : प्रहरीमा दैनिक ४–५ वटा उजुरी

गोपाल साउद काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

पछिल्ला केही दिनयता भाइबर, स्काइप, ह्वाट्स एपलगायतका ओटिटी सेवाबाट नेपालमा अवैध कल आउने क्रम बढेको छ । नम्बर नै नदेखिने ‘अननाउन’, ‘नो कलर’लगायत विदेशी मोबाइल नम्बरबाट नेपालका मोबाइल प्रयोगकर्ताको नम्बरमा फोन गरी धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको भन्दै झुटो प्रलोभन देखाएर रकम असुल्नेजस्ता आपराधिक गतिविधि बढ्न थालेको छ ।

विभिन्न विदेशी नम्बरहरूबाट कल गर्ने र चिट्ठा परेको छ भन्दै रकम जम्मा गर्न लगाएर ठगी भएको उजुरी धेरै आउने गरेको नेपाल प्रहरीको केन्द्रीय अुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता जीवन श्रेष्ठले बताए ।

सिआइबीले सार्वजनिक सूचना प्रकाशन गरेरै त्यसरी कल गर्नेहरूको भ्रममा नपर्न आग्रह गरेको छ । टेकुस्थित महानगरीय अपराध महाशाखाका अनुसार औसतमा दैनिक ४–५ वटा अवैध कलबाट ठगिएका उजुरीहरू आउने क्रम चलिरहेको छ ।

‘आफूले कुनै पनि किसिमको चिट्ठा काटेकै छैन भन्ने थाहा हुँदाहुँदै चिट्ठा परेको भन्दा विश्वास गरिहाल्ने भएकाले मानिसहरू ठगीमा पर्ने गरेका छन्,’ सिआइबीका प्रवक्ता श्रेष्ठले भने, ‘त्यसरी भ्रममा परेर पैसा नै पठाउँदा पीडितहरूकै समेत कमजोरी देखिने गरेको छ ।’

नियन्त्रण गर्न के हुँदै छ ?
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ओटिटी सेवाबाट आउने अवैध कल नियन्त्रण गर्न यसअघि नै सेवा प्रदायकका नाममा निर्देशन जारी गरिसकेको छ । अवैध कलमार्फत भइरहेका गतिविधिलाई आफूले गम्भीरताका साथ लिएको प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायकहरूले आइपी (इन्टरनेट टेलिफोनी)मार्फत कल ल्याउन पाउने भए पनि प्रयोगकर्ताको पहिचान सुनिश्चितताप्रति ध्यान दिनुपर्ने प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

‘विदेशी कल पहिचानको विषयमा प्राधिकरणबाट हालसम्म छुट्टै निर्देशन त जारी भएको छैन,’ उनले भने, ‘छलफलकै क्रममा रहेको त्यस विषयमा छिट्टै निर्देशन जारी हुनेछ ।’ निश्चित अवैध कल आउने नम्बर ब्लक गर्न दिइएको निर्देशन पालना भए–नभएको विषयमा प्राधिकरणले अनुगमन गर्ने जनाएको छ ।

नेपालका दूरसञ्चार कम्पनीहरूले अन्तर्राष्ट्रिय कल क्यारियरसँग त्यस्ता कल नियन्त्रणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् । अवैध कलको समस्या बढी देखिएका कल क्यारियरसँग समाधानका लागि सहकार्य सुरु भइसकेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

अवैध कलको समस्या ओटिटी एप्लिकेसनबाट आउने कलमा रहेको भन्दै उनले समस्या देखिएकै नाममा सेवा नै बन्द गर्न उपयुक्त नहुने बताइन् । ‘विभिन्न मुलुकमा खुला रहेका ओटिटी सेवाको सम्पूर्ण कल नै ब्लक गर्ने भन्दा पनि सम्बन्धित क्यारियरसँगको सहकार्यबाट समाधानको प्रयास भइरहेको छ,’ उनले भनिन् ।

प्रतिस्पर्धाले अवैध कल
दूरसञ्चार कम्पनीबीच सस्तोमा अन्तर्राष्ट्रिय कल ल्याउने प्रतिस्पर्धा हुँदा नेपालमा अवैध कल आउन थालेको जानकारहरूको भनाइ छ । एउटै सेवा प्रदायकले ३ भन्दा बढी कल क्यारियरसँग सम्झौता गर्ने गरेको प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए ।

अन्तर्राष्ट्रिय कलका लागि दूरसञ्चार सेवा प्रदायकसँग सम्झौता गर्ने कल क्यारियरहरूले विभिन्न सस्तो रुटबाट कल घुमाएरसमेत ल्याउने गरेका छन् । त्यसरी कल डाइभर्ट गरी ल्याउँदा कल गर्ने व्यक्तिको पहिचानमा समस्या पर्ने गरेको रोयको भनाइ छ ।

‘विदेशबाट आउने कलका प्रयोगकर्ता नदेखिनुमा ओटिटी सेवा प्रदायक मात्र नभएर क्यारियरकै पनि भूमिका रहने सुन्नमा आएको छ,’ उनले भने, ‘त्यसतर्फ समेत सेवा प्रदायक सचेत हुन जरुरी छ ।’

अन्तर्राष्ट्रिय टेलिकम युनियन (आइटियू)ले अन्तर्राष्ट्रिय कलका लागि छुट्टै मापदण्ड नै तोकेको छ । जसअनुसार अन्तर्राष्ट्रिय सार्वजनिक नम्बरिङ योजना ‘ई डट १६४’ को संरचनामा आधारित हुनुपर्ने व्यवस्था छ ।

तर, आइपी (इन्टरनेट प्रोटोकल)मा आधारित नम्बरिङमा भने यो मापदण्ड पूर्ण रूपमा पालना हुने गरेको छैन । हाल नेपाल टेलिकम, एनसेल, युटिएल र स्मार्ट टेलिकम गरी चारवटा सेवा प्रदायकले अन्तर्राष्ट्रिय कल ल्याउँदै आएका छन् ।

ओटिटी सेवा चुनौती
दूरसञ्चार सेवा प्रदायकले सर्किट स्विच र भिओआइपी (इन्टरनेट टेलिफोनी) गरी दुई किसिमको प्रविधिबाट अन्तर्राष्ट्रिय कल ल्याउने र लैजाने गर्दै आएका छन् ।

भिओआइपीबाट कल ल्याउने र लैजाने कार्य सस्तो पर्ने भएकाले हाल कुल अन्तर्राष्ट्रिय कलमध्ये ३० प्रतिशतभन्दा बढी भिओआइपीमा आधारित कलको आवागमन हुने गरेको बताइन्छ । त्यसमा भाइबर, ह्वाट्स एप, स्काइप, इमोलगायतका ओटिटी (इन्टरनेटमा आधारित भएर भ्वाइस, भिडिओलगायतका सामग्रीको आदान–प्रदान सेवा)मार्फत आउने कलसमेत पर्छन् ।

यस्ता ओटिटी एप्लिकेसनबाट वास्तविक नम्बर नदेखिने गरेरसमेत कल गर्न सकिन्छ । नेपालमा अधिकांश अवैध कल ओटिटीमार्फत आउने गरेको प्रहरी तथा नियामक प्राधिकरणले स्पष्ट पारिसकेका छन् ।

ओटिटी सेवाका नाममा कल ल्याउने र लैजाने कार्य नगर्न प्राधिकरणले गएको भदौमा निर्देशन दिए पनि आवश्यक नियमन व्यवस्थाका लागि कुनै प्रयास अगाडि बढाएको छैन ।

नियन्त्रणमा सेवा प्रदायक असफल

यस्ता गतिविधि नियन्त्रण गर्ने कार्यमा नियामक निकाय तथा सेवा प्रदायक कम्पनीहरू भने असफल देखिएका छन् । नियन्त्रण गर्ने कार्यमा देखिएको आफ्नो कमजोरी लुकाउन सेवा प्रदायकहरू भने प्रयोगकर्तालाई नै सचेत रहन आग्रह गर्न थालेका छन् ।

प्राधिकरणले अवैध कल ब्लक गर्न यसअघि नै सेवा प्रदायकका नाममा निर्देशन जारी गरिसकेको छ । तर, एउटा नम्बर ब्लक गरे पनि अर्को नम्बरबाट त्यस्ता अवैध कल आउने गरेको सेवा प्रदायकहरूले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया