logo

bar

‘भारत र चीनसँग मिलेर सम्पन्नता हासिल गरौँ’

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

बंगलादेशका प्रधानमन्त्री सेख हसिनाका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी सल्लाहकार डा. गोहेर रिज्भीले चीन र भारतसँग सहकार्य गरेर दक्षिण एसियाले सम्पन्नताको बाटो तय गर्नुपर्ने बताएका छन् । नेपालस्थित बंगालदेश दूतावास तथा थिंकट्यांक संस्था एआइडीआइएद्वारा सोमबार आयोजित कार्यक्रममा सल्लाहकार रिज्भीले नेपाल, भारत, बंगलादेश र भुटानबीच ऊर्जामा सहकार्य हुनुपर्नेमा पनि जोड दिएका छन् । ‘साना छिमेकी मुलुकहरूको स्थायित्व र सम्पन्नतामा भारत र चीनको साझा रुचि छ, हाम्रो साझा शत्रु गरिबीविरुद्ध उनीहरूसँग सहकार्य गर्नुपर्छ र सम्पन्नता तय गर्नुपर्छ,’ रिज्भीले भने, ‘गरिबीविरुद्ध लड्न हामीले प्राकृतिक स्रोतहरूको उपयोगका लागि साझा सहकार्य गर्नु आवश्यक छ । ’

दक्षिण एसियाको आर्थिक वृद्धिमा बाधक तत्व ऊर्जा रहेको भन्दै रिज्भीले यो क्षेत्रमा देशहरूबीच सम्पर्क सञ्जालमा समेत मिलेर काम गर्नुपर्ने बताए । भुटान, बंगलादेश, भारत र नेपालको उपक्षेत्रीय सहकार्य (बिबिआइएन)मा भुटानले हात झिके पनि तीन देशबीच मोटर भेइकल एग्रिमेन्ट कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । भुटानले भारतलाई बिजुली बेचेर दक्षिण एसियामा उल्लेख्य आर्थिक वृद्धि हासिल गरेको उदाहरण दिँदै रिज्भीले दक्षिण एसियाली मुलुक मिलेर सार्क ग्रिड स्थापना गर्नुपर्ने र ऊर्जामा साझा काम गर्नुपर्ने पनि बताए ।

‘बंगलादेशले १५ हजार मेगावाट बिजुली उत्पादन गर्न सक्छ, भुटान, भारत र बंगलादेश मिलेर भुटानमा एक हजार मेगावाट बिजुली उत्पादन गर्ने सहमति गरेका छौँ,’ रिज्भीले भने, ‘नेपाल, बंगलादेश, भुटान र भारतबीच साउथ एसिया पावर ग्रिड स्थापना भएको अवस्थामा श्रीलंका, पाकिस्तानसहित अरू देशले पनि लाभ लिन सक्छन् ।’ भुटान र नेपालसँगको कनेक्टिभिटीमा बंगलादेशले प्राथमिकता दिएको उनको भनाइ थियो । ‘हाम्रो चटगाउँ र बंगलापोर्टमा नेपाल र भुटानलाई एक्सेस दिने भनिसकेका छौँ, यसबाट दुई देशको समुद्रसम्मको पहुँच सुनिश्चित हुनेमा हामी विश्वस्त छौँ,’ सल्लाहकार रिज्भीले भने ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपाल उपक्षेत्रीय र क्षेत्रीय सहकार्यमा प्रतिबद्ध रहेको बताए । परराष्ट्रमन्त्रालयका सहसचिव भृगु ढुंगानाले नेपाल, भारत, बंगलादेश र भुटानबीच उपक्षेत्रीय सहकार्यका लागि वर्किङ ग्रुप गठन भएको र तीन चरणको बैठक पनि सम्पन्न भएको बताए । पारबहन, जलस्रोत उपयोग र सम्पर्क विस्तारलगायतका क्षेत्रमा सहकार्यका लागि छलफल भइरहेको उनको भनाइ थियो ।

पूर्ववाणिज्यसचिव पुरुषोत्तम ओझाले विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन हुनुपर्ने बताए । भुटान तयार नभए पनि तीन देशले मोटर भेइकल एग्रिमेन्ट कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो । भारतीय दूतावासका उपनियोग प्रमुख डा. अजय कुमारले क्षेत्रीय तथा उपक्षेत्रीय सहकार्यका लागि भारतको प्रतिबद्धता दोहोर्‍याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु