logo

bar

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त सैन्य अभ्यास

| मङि्सर १९, २०७४

संयुक्त सैन्य अभ्यास उत्तर कोरियाविरुद्ध आक्रमणको बहाना भएको प्योङयाङको भनाइ –

अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेका छन् । दक्षिण कोरियाको राजधानी सिउलमा दुई देशले सोमबारदेखि संयुक्त सैन्य अभ्यास गरेका हुन् । सैन्य अभ्यासलाई अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य गतिविधि बताइएको छ । कोरियाली प्रायद्वीपमा शान्ति स्थापना तथा दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि सो अभ्यास गरिएको बताइएको छ ।

उत्तर कोरियाको विरोध
सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । संयुक्त सैन्य अभ्यासले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रूपमा लिएको जनाएको छ । अभ्यासलाई उसले आफ्ना विरुद्ध उत्तेजना ल्याउने कार्य बताएको छ । केही दिनअघि मात्र उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । सोमबारदेखि सुरु भएको सैन्य अभ्यास सो क्षेप्यास्त्रका विरुद्धमा रहेको बताइएको छ । उत्तर कोरियाले सेप्टेम्बरमा पनि समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर क्षेप्यास्त्र छोडेको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रमा परेको थियो । उत्तर कोरियाका आणविक गतिवधिलाई लिएर विश्व समुदायले विरोध गर्दै आएको छ । उसका गतिविधि रोक्न संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । उत्तरको आणविक होडको संयुक्त राष्ट्रसंघ, अमेरिका, दक्षिण कोरिया, जापानलगायतका देशले निन्दा गरेका छन् ।

सम्बन्धमा तिक्तता
दुई कोरियाबीचको सम्बन्ध पछिल्लो समयमा निकै चिसिएको छ । दक्षिण कोरियाले अमेरिकासँग सैनिक गतिविधि बढाउन थालेपछि प्योङयाङ अमेरिकाविरुद्ध आक्रोशित छ । यसअघि उत्तर कोरियाको सम्भावित आक्रमण रोक्न अमेरिकाले सिउलमा प्रतिरक्षात्मक प्रणाली थाड जडान गरेको थियो । उत्तर कोरियाले प्रतिरक्षा प्रणालीको विरोध गरेको छ । सो प्रणालीले उत्तर कोरियाविरुद्ध गुप्तचरी गर्ने उत्तर कोरियाको भनाइ छ । तर, थाडले गुप्तचरीको सट्टा उत्तरका गतिविधि निस्तेज पार्ने अमेरिकाले बताउँदै आएको छ ।

२३० युद्धक विमान प्रयोग
अभ्यासमा अमेरिका र दक्षिण कोरियाका करिब २३० वटा युद्धक विमानको प्रयोग गरिएको छ । यसलाई स्थलमार्गबाट पनि निगरानी गरिएको छ, जहाँ हजारौँ स्थल सेना पनि रहेका छन् । दशौँ हजारको संख्यामा दक्षिण कोरियाली सैनिक पनि सो अभ्यासमा सहभागी भइरहेको बताइएको छ । उत्तर कोरियाको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच तनाव बढिरहेका वेला सैन्य अभ्यास भइरहेको छ । सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरूको पनि प्रयोग भएको छ । ती विमान दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ ।

‘सैन्य अभ्यास नरोके कारबाही हुन्छ’
सैन्य अभ्यास बन्द नगरे आफूहरू पनि त्यसको जवाफका लागि बाध्य हुनुपर्ने चेतावनी उसले दिएको छ । सैन्य अभ्यासका क्रममा दक्षिण कोरिया र अमेरिकाको सेनाले उत्तर कोरियाको जल, स्थल वा आकाशमा छुने मात्र प्रयास गर्‍यो भने पनि आफूले नसहने र त्यसको प्रतिकारात्मक कारबाही गर्ने उसले जनाएको छ । दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण रोेकेको छैन ।

तपाईको प्रतिक्रिया