logo

bar

कंग्रेस अध्यक्षमा राहुलको उम्मेदवारी

एजेन्सी नयाँदिल्ली | मङि्सर १९, २०७४

भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनका लागि पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबार राहुलले पार्टी अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् ।

राहुलकी आमा सोनिया गान्धी भारतीय कंग्रेसकी वर्तमान अध्यक्ष हुन् । स्वास्थ्यलगायतका समस्या देखाउँदै सोनियाले पार्टी अध्यक्ष पदमा निरन्तरता दिन नसक्ने बताइसकेकी छिन् । राहुल विगत पाँच वर्षदेखि कंग्रेस पार्टीका उपाध्यक्ष छन् । कंग्रेसबाट कसैले पनि उम्मेदवारी नदिएपछि उनी पाँच वर्षअघि निर्विरोध रूपमा पार्टी उपाध्यक्षमा चयन भएका थिए ।

पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबार साँझसम्म कसैले उम्मेदवारी नदिए राहुल नै र्निविकल्प रूपमा सो पार्टीको अध्यक्ष हुन सक्ने बताइएको छ । सन् १९९८ बाट पार्टी अध्यक्ष पद सम्हाल्दै आएकी सोनिया राहुललाई अध्यक्ष बनाउन लामो समयदेखि प्रयासरत छिन् ।

राहुल गान्धी कंग्रेसका लागि निर्विकल्प अध्यक्षको उम्मेदवार भएको र उनमा कार्यक्षमता राम्रो भएको उत्तरी भारतीय राज्य पन्जाबका मुख्यमन्त्री अमारिन्दर सिंहले बताए ।

तपाईको प्रतिक्रिया