logo

bar

आर्ट काउन्सिलमा नेचर अनर्‍यापिङ कला प्रदर्शनी

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

नेपाल आर्ट काउन्सिल बबरमहलमा नेचर अनर्‍यापिङ कला प्रदर्शनी भइरहेको छ । गत शुक्रबारबाट सुरु भएको प्रदर्शनीमा नेपाल तथा नेपालबाहिरका चित्रकारहरूका चित्र राखिएको छ ।

देविना आर्टस् प्रमोसनको आयोजना र नेपाल इन्भेस्टमेन्ट बैंकको प्रायोजनमा सुरु भएको प्रदर्शनीमा ९० वटा चित्र राखिएका छन् । चित्रकला हेर्न दर्शकहरूको उपस्थिति उल्लेख्य रहेको र सकारात्मक प्रतिक्रिया आएको चित्रकार विजय कोइरालाले बताए । कोइरालाको चित्र पनि प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका चित्र मन परे दर्शकले किन्नसमेत सक्नेछन् । चित्र बिक्री भएर उठेको रकममध्ये केही प्रतिशत नेपाली चित्रकलाको प्रवद्र्धन तथा विकासमा खर्च गर्ने योजना रहेको कार्यक्रम संयोजक सरोज बज्राचार्यले बताए ।

सन् २००७ बाट फाइन आट्र्सको प्रवद्र्धन गर्दै आएको देविना आट्र्स प्रमोसनले प्रदर्शनीमा राखिएका चित्रले नयाँ कलाकारलाई प्रोत्साहन गर्ने, पुराना कलाकारको विचार र सीपको आदानप्रदान गर्ने अपेक्षा राखेको छ । नेपाली चित्रकलाको विकास र प्रवद्र्धनका लागि अन्तरक्रियाका माध्यमबाट अन्तर्राष्ट्रियकरणका लागि प्रयत्न गरिने उद्देश्यसमेत रहेको बज्राचार्यले प्रष्ट पारे । चित्रकलामा क्षमता भएका, तर अवसरबाट वञ्चित भएकाहरूलाई अध्ययन छात्रवृत्तिमा विशेष सहयोग गर्ने उद्देश्य रहेको पनि उनले बताए ।

प्रदर्शनीमा चर्चित चित्रकारहरू सरोज बज्राचार्य, विजय कोइराला, न्गवाङछिरी शेर्पा, हरिप्रसाद शर्मा, प्रवीण श्रेष्ठ, राजन पन्त, सुनीलबाबु कार्की, युआर रिमाल, अर्पिता शाक्य, नीरज चित्रकार, पल्पसा मानन्धर, विजय महर्जनको चित्र राखिएका छन् । त्यस्तै, बेल्जियमकी कलाकार इशाबेल मालाटाउको चित्र पनि प्रदर्शनीमा राखिएको छ ।

२४ मंसिरसम्म चल्ने प्रर्दशनीलाई हालसम्म करिब एक हजार दर्शकले अवलोकन गरिसकेको आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु