logo

bar

११ अंक घट्यो नेप्से परिसूचक

नयाँ पत्रिका काठमाडौं, १९ मंसिर | मङि्सर १९, २०७४

सोमबार नेप्से परिसूचक १० दशमलव ९ अंक (शून्य दशमलव ७१ प्रतिशत) घटेको छ । बिहीबार १ हजार ५ सय ३७ दशमलव ६७ बिन्दुमा पुगेर बन्द भएको नेप्से चार दिनपछि बजार खुल्दा सोमबार घटेर १ हजार ५ सय २६ दशमलव ७७ अंकमा झरेको छ । सोमबार बजार खुल्नेबित्तिकै नेप्से परिसूचकमा केही सुधार आएर १५ सय ४४ दशमलव ७७ अंकसम्म पुगेको थियो । तर, त्यसपछि घट्न थालेको नेप्से बजार बन्द नहुन्जेलसम्म घट्दो क्रममा नै रह्यो ।

यस दिन कारोबारमा आएका १० समूहमध्ये ८ समूहको परिसूचक घटेपछि नेप्से परिसूचक पनि ओर्लिएको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ९२ अंक घटेर ३ सय २१ दशमलव ९७ बिन्दुमा पुगेको छ । अघिल्लो दिन ७४ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको बजारमा सोमबार भने १ सय ५७ कम्पनीको ५ हजार ५ सय ८६ पटकको कारोबारमा ५४ करोड २३ लाख ९३ हजार १ सय ३४ रुपैयाँबराबरको १० लाख १६ हजार ४ सय ९३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कुल बजार पुँजीकरण भने अघिल्लो दिनको तुलनामा १२ अर्ब घटेर १७ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

बुटवल पावर कम्पनीको सर्वाधिक धेरै ३ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । त्यसैगरी, एनसिसी बैंकको २ करोड ९३ लाख र शिखर इन्स्योरेन्सको २ करोड ८६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडको सेयरमूल्य यस दिन करिब ६ दशमलव ४७ प्रतिशत बढेको छ । युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य ५ दशमलव २७ प्रतिशत घटेको छ ।

होटेल समूहको परिसूचक यस दिन सर्वाधिक ० दशमलव ८७ प्रतिशत बढेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत बढेको छ ।

बिमा समूहको १ दशमलव २९ प्रतिशत, माइक्रोफाइनान्सको १ दशमलव ०८ प्रतिशत, विकास बैंकको ० दशमलव ८३, अन्य समूहको ० दशमलव ८१ व्यापार समूहको ० दशमलव ६९ प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ६३ प्रतिशत घटेको छ । त्यस्तै, वित्त समूहको परिसूचक शून्य दशमलव ४६ प्रतिशत र जलविद्युत्् समूहको परिसूचक शून्य दशमलव शून्य ५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया