logo

bar

वाम गठबन्धनका पक्षमा जनलहर

अग्नि सापकोटा | मङि्सर १८, २०७४

मुलुक संघीय प्रणालीमा गइसकेपछि इतिहासमै पहिलो पटक प्रतिनिधिसभा र प्रदेश सभा संरचनामा निर्वाचन भइरहेको छ । र, पहिलो चरण अन्तर्गत ३७ निर्वाचन क्षेत्रमा निक्कै उत्साहका साथ जनताले सहभागीता जनाई मतदान पनि सम्पन्न भइसकेको विद्यमान अवस्था छ । पहिलो चरणको निर्वाचनमा एकातिर पुनर्निर्माणका कामले गति लिइरहेको थियो भने अर्कातिर किसानलाई धान भित्र्याउने चटारो थियो । जसकारण सोचेअनुरुपको मत नखसेको देखिन्छ । तर, पनि आधारभूत रुपमा जनताले उत्साह देखाएर मतदानमा सहभागीता जनाए । जसकारण निर्वाचन शान्तिपूर्ण रुपले नै सम्पन्न भएको अवस्था छ । सरकारको व्यवस्थापन चाँहि निक्कै फितलो देखियो ।

वाम गठबन्धनलाई बहुमत

यो निर्वाचनको सबैभन्दा महत्वपूर्ण परिघटना भनेको मुलुकका सर्वाधिक शक्तिशाली दुई कम्युनिस्ट पार्टी र अन्य पार्टी मिलेर वाम गठबन्धन तयार भएको छ, जसको राष्ट्रिय राजनीति र देश विकासका सवालमा दुरगामी महत्व छ । वाम गठबन्धनले अहिलेसम्म देखिएको अराजकता अन्त्य गर्ने, राजनीतिक स्थिरता कायम गर्ने कुरामा आम जनसमुदायमा आशाको रक्तसंचार गरेको छ । जसकारण वाम गठबन्धनका पक्षमा जनमतको अभूतपूर्व लहर देखिएको छ ।

प्रथम चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई बहुमत आउने सुनिश्चित भएको छ । अझ प्रष्ट रुपमा भन्नुपर्दा ३७ सिट मध्ये ३२ सिटमा वाम गठबन्धन विजयी हुने सुनिश्चित देखिएको छ । बाँकी ५ सिटमा पनि चर्को प्रतिस्पर्धा भएको छ । प्रतिपक्षले ५ सिट जित्न ढुक्क भएर बसेको अवस्था छैन । तसर्थ प्रथम चरणको निर्वाचनको मतपरिणाम आइसक्दा वाम गठबन्धन दुई तिहाईले विजयी भएको देख्न पाइन्छ । यसले २१ मंसिरमा हुन लागेको दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा असाध्यै सकारात्मक भूमिका खेलेको छ ।

पहिलो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनमा जस्तो अभूतपूर्व लहर देखियो, दोस्रो चरणको निर्वाचनमा झन् बढी लहर देखिएको छ । उदाहरणका लागि चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनुभएको उम्मेदवारीप्रति चितवनवासीको लहर देखिएको छ । त्यहाँ प्रतिद्धन्दीको रुपमा राप्रपा प्रजातान्त्रिकका नेता बिक्रम पाण्डे देखिनु भएको छ । तर, अहिलेसम्मको स्थितिमा अध्यक्ष प्रचण्डले आफ्नो प्रतिद्धन्द्धीलाई धेरै पछाडि छोडिसकेको अवस्था छ ।

 

चितवनमा पार्टी अध्यक्ष प्रचण्ड पुग्दा निर्वाचन क्षेत्रका बासिन्दा मात्र होइन, सम्पूर्ण चितवनवासी गौरवान्वित भएका छन् । अर्कातिर विकास, निर्माणका लागि राष्ट्रिय राजनीतिको केन्द्रविन्दसमा रहेका नेतालाई जिताउन पाए आफ्नो ठाउँको विकासमा थप मदत पुग्ने चितवनवासीको आशा र भरोसा छ । वाम गठबन्धनका मुख्य घटक एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत जनतालाई सम्बोधन गर्दै हिड्नु भएको छ जसकारण जनमत बाम गठबन्धनतिर उर्लिरहेको छ ।

वामपन्थीप्रति उत्साहित

अलिहे जनतामा देखिएको उत्साहलाई हेर्दा वामपन्थी गठबन्धनको दुई तिहाई बहुमत आउने प्रष्टै संकेत गर्छ । वामपन्थी जनतामा त उत्साह छँदैछ, आम नागरिकमा पनि राजनीतिक स्थिरता होस्, देशमा समृद्धिको ढोका खुलोस्, उद्योग–कलखाना खुलोस् र बरोजगारीको अन्त्य होस्, भन्ने चाहना राख्ने परिवर्तनका पक्षधारी जनता छन्, यी सबै वाम गठबन्धनप्रति उत्साहित छन् ।

मुख्य कुरा ७० वर्षसम्मको अराजकताको स्थितिलाई अन्त्य गरेर भूमरीमा परेको देशलाई निकालेर समृद्धितर्फ लैजाने उदेश्यसहित वाम गठबन्धन बनेको हो र दुई पार्टीबीच एकता गर्न संयोजक समिति पनि बनेको छ । यो कुरालाई आम जनताले बुझेको देखिन्छ । वाम गठबन्धनको कदमले नेपाली जनतलाई साँच्चै नै धेरै आशावादी बनाएको छ ।

राजनीतिक स्थिरता हुन्छ, समृद्धिको ढोका खुल्छ, दुःख गर्ने दिन सकिएर सुखका दिन आउँदैछन् भन्ने कुराले जनता उत्साहित छन् । दोस्रो चरणको निर्वाचनमा अझ बढी चेतनशील मतदाता बाँकी छन् जसले राजीतिक स्थिरता, मुुलुकको समृद्धि र देशभित्रै रोजगारीको स्थितिलाई गहिरो गरी बुझेका छन् । यहीं सकारात्मक माहौलका कारण दुई तिहाई बहुमत हुने सुनिश्चित छ ।

कांग्रेसको भ्रम

ऐतिहासिक निर्वाचनको मुखमा दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्र मिलेर राष्ट्रलाई विकासको बाटोमा डो¥याउन र दिगो राजनीतिक संस्कार विकास गर्न गठबन्धन कायम गरेपछि कांग्रेसमा आतंक पैदा भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका अन्य नेताले वाम गठबन्धनप्रति जसरी आक्षेप लगाउने काम गरेका छन्, त्यसमा लय, नीति, संगति केही मलेको छैन । न त तर्क र तथ्य नै मिलेको छ ।

कतिपय सभामा पुगेर कांग्रेस सभापति देउवासहितका नेताले वाम गठबन्धन चुनावका लागि क्षणिक हो, पार्टी एकताका लागि होइन भन्ने भ्रम फैलाउन खोजिरहेका छन् । अर्कातिर तिनै कांग्रेस नेता वाम गठबन्धनको सरकार आएपछि अधिनायकवाद आउँछ, निरंकुशलता लादिन्छ भन्ने टिप्पणी गरेको पनि सुनिन्छ । यस्तो दोधारे कुरा त गर्नु भएन नी । कांग्रेसले कि त गठबन्धन लामो समय टिक्दैन भनेर भष्यिवाणी गरिदिनुप¥यो की त गठबन्धनले बहुमत ल्याएर सरकार चलाएपछि अधिनायकवाद आउँछ भन्ने कुरा गरिदिनुप¥यो । दुई वटै कुरा कांग्रेस नेताहरुले कसरी भन्न सकिरहेका छन् ।

कांग्रेसले आफ्नो बोलीको आफैले खण्डन गरिरहेको छ । बास्तवमा कांग्रेसले सन्तुलन नै गुमाइसकेर दुई थरी कुरा गरिरहेको हो । यो वाम गठबन्धनप्रतिको नैरस्यता र हतासको उपज हो । तसर्थ काग्रेसले गरिरहेको अनर्गल प्रचारको कुनै तुक छैन । कांग्रेस यतिबेला हारको मानसिकताले आतंकित छ ।

वाम गठबन्धनको रणनीति भनेकै संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थालाई कार्यान्वयन गर्नु हो । जनयुद्ध, जनआन्दोलन, राज्य व्यवस्था, संघीयता सबैमा मौलिकता छ । मुलुकमा अब कायम गरिने समाजवादी व्यवस्था नेपाली विशेषता र मौलिकतासहितको हुनेछ । त्यसकारण अधिनायकवाद, निरंकुशता भन्ने कुरा निराधार हुन् । हाम्रो पहलकदमीले जारी भएको संविधानप्रति पूर्ण प्रतिबद्ध छौं । यसको अक्षरंश कार्यान्वयन हुनेछ । संविधानमा लिपिबद्ध भएको बिषयलाई कार्यान्वयन गर्नु नै वाम गठबन्धनको मुख्य उदेश्य हो । आदिवासी, जनजाति, महिला, सिमान्तकृत, भूमिहिनको केही माग सम्बोधन गर्न बाँकी छ, यी माग पुरा गर्न वाम गठबन्धनलाई दुई तिहाई मत आवश्यक छ ।

रहस्यमयी बम आतंक

अहिले निर्वाचन बहिष्कार अभियान चलाइरहेको एउटा समूहले जनता र निर्वाचनमा उम्मेदवारी दिएका नेताको घर, आँगनमा बम विस्फोट गराई आतंक सृजना गर्न खोजेको देखिन्छ । रुकुम, रोल्पामा बम आक्रमण केन्द्रित भयो, यद्यपि ती सबै प्रयास विफल भएका छन् । अहिलेको बम विस्फोटको घटना केही रहस्यमयी छ । किनभने बम विस्फोटको कसैले जिम्मा लिएको छैन तर, घटनाहरु दोहोरिरहेका छन् ।

सरकार पनि बम विस्फोट गराउँने समूहको खोजी गरी कारबाही चलाउनुकोृ सट्टा ‘पछि कुरा गरौंला’ भन्ने आशयको अभिव्यक्ति दिदैं आवश्यकता भन्दा बढी नरम देखिन्छ । कांग्रेसकै नेताहरु पनि बम विस्फोटको घटनामा संलग्न भएको बिषय चर्चामा आएको छ, यद्यपि पुष्टि भएको छैन ।

बम विस्फोटको घटना राजनीतिक हो भने कसैले जिम्मा लिनुपर्छ । हैन भने यो राजनीतिक बिषय नै हुँदैन । यद्यपि जसले बम विस्फोट गराएको छ, यसले जनतामा क्षणिक त्रास पैदा गरेपनि दीर्घकालमा बम विस्फोट गराउनेलाई नै नोक्सान हुन्छ भन्ने कुरामा सचेत हुनुपर्छ ।

(पूर्वमन्त्री सापकोटा माओवादी केन्द्रका कार्यालय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु