logo

bar

केन्याविरुद्ध नेपालको सहज जित

नयाँ पत्रिका काठमाडाैँ | मङि्सर १८, २०७४

विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको अन्तिम चरणको खेलका लागि युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यासमा केन्यामाथि ६ विकेटको सहज जित हासिल गरेको छ । यसअघि पहिलो खेलमा अमेरिकाविरुद्ध नेपाल ५ विकेटले पराजित भएको थियो ।

प्रशिक्षक जगत टमाटाले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सोमपाल कामी र विनोद भण्डारीलाई केन्याविरुद्ध उतारेनन् । नेपालले युएईविरुद्ध आगामी बुधबार र शुक्रबार विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणको खेल खेल्नेछ ।

उत्कृष्ट बलिङ

नेपालले नर्सरी ओभलमा टस जितेर केन्यालाई ब्याटिङको निम्तो दिएको थियो । केन्या नेपाली बलरसामु खुलेर खेल्न असफल भयो । केन्या ३२ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय १० रनमा समेटिएको थियो । जबाफमा नेपालले ४ विकेट गुुमाएर लक्ष्य पूरा ग¥यो ।
नेपालले १९ ओभर ५ बलमा लक्ष्य पूरा गरेको थियो ।

खराब सुरुवात

सहज लक्ष्य पछ्याउने क्रममा नेपालको ओपनिङ साझेदारी फेरि पनि धर्मरायो । लामो समयदेखि ओपनिङ ब्याट्सम्यान खोजिरहेको नेपालले केन्याविरुद्ध पनि राम्रो ओपनिङ गर्न सकेन । नेपालले २९ रन जोड्दा सुरुवाती ३ विकेट गुमाउन पुगेको थियो । तर, नेपाललाई दीपेन्द्र ऐरी र शरद भेषवाकरले सम्हालेका थिए ।

७८ रनको साझेदारी

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले धरासायी बनेको नेपाली इनिंगलाई उकासेका थिए । दीपेन्द्र र शरदले चौथो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई जितनजिक पु¥याए । नेपाल जितनजिक रहेको अवस्थामा दीपेन्द्र ४६ रनको अवस्थामा कोलिन्स ओवुयाद्वारा रनआउट भए । ऐरीले ३५ बलमा ७ चौका र एक छक्का प्रहार गरे । दीपेन्द्र आउट भएपछि क्रिजमा आएका आरिफ सेखले विजयी रनका रूपमा चौका प्रहार गरेका थिए । आरिफ ४ रन तथा भेषवाकर ३१ रनमा अविजित रहँदै टिमलाई जित दिलाएर पेभिलियन फर्किएका थिए । शरदले ५० बलमा ३ चौका प्रहार गरेका थिए ।

ललित भण्डारीको ४ विकेट

यसअघि पहिले ब्याटिङ गरेको केन्याले ३२ दशमलव २ ओभरमा १ सय १० रन बनाएको थियो । केन्यालाई सस्तैमा समेट्ने क्रममा ललित भण्डारी एक्लैले ४ विकेट हात पारे । देब्रेहाते फास्ट बलर भण्डारीले १० ओभर बलिङ गरेर १ मेडन फाल्दै ४६ रन खर्चिएर ४ विकेट लिएका थिए । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए । उनले ३ दशमलव २ ओभर बलिङ गर्दै ५ रन मात्र खर्चिएका थिए ।

त्यस्तै, करन केसी , सागर पुन र आरिफ शेखले समान १ विकेट लिए । खेलमा केन्याले राम्रो सुरुवात गरेको थियो । ओपनर रिसब पटेल र एलेक्स ओबान्डाले समान २५ रन बनाए । दुवैले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरे । ओबान्डालाई छैटौँ ओभरमा कारन केसीले पेभिलियन पठाएपछि केन्या लगालग विकेट पतनको सिकार हुन पुगेको थियो ।

तपाईको प्रतिक्रिया