logo

bar
logo
Advertisment
SKIP THIS

उपत्यकाका उद्योग पनौती र हेटौँडा सारिँदै

कृष्ण रिजाल काठमाडाैँ | मङि्सर १८, २०७४

जग्गा प्राप्तिको प्रक्रिया अघि बढ्यो, बढी प्रदूषण गर्ने उद्योग सारिँदै

सरकारले काठमाडौं उपत्यकामा रहेका उद्योगलाई हेटौँडा र पनौतीमा सार्ने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (आइडिएम)ले पाटन, भक्तपुर र बालाजु औद्योगिक क्षेत्रभित्र रहेका बढी प्रदूषण गर्ने उद्योगलाई हेटौँडा र पनौतीमा सार्ने तयारी गरेको हो ।

काठमाडौं उपत्यकाका तीनवटै औद्योगिक क्षेत्रभित्र रहेका बढी प्रदूषण गर्ने र जोखिम निम्त्याउने उद्योगलाई पनौती र हेटौँडामा सार्ने तयारी थालिएको आइडिएमका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए । पाटन र भक्तपुर औद्योगिक क्षेत्रभित्रका उद्योगलाई पनौतीको कुशादेवी र बालाजुका उद्योगलाई हेटौँडाको मयूरधापमा सार्ने प्रक्रिया अघि बढाएको उनले बताए । प्लास्टिक, भाँडाकुडा उत्पादन, मैदालगायत उद्योगले बढी प्रदूषण गरिरहेका छन् । ‘अहिले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको मातहतमा जग्गा ल्याउने काम भइरहेको छ,’ उनले भने, ‘जग्गा प्राप्ति सकिएलगत्तै उद्योगहरूलाई सारिनेछ ।’

कुशादेवीमा ३ सय रोपनी जग्गा उपलब्ध गराउन पनौती नगरपालिकाले सहमति जनाइसकेको छ । मयूरधापको जग्गा आइडिएममातहत आइसकेको छ । ‘जग्गा प्राप्ति सकिएलगत्तै मन्त्रिपरिषद्बाट निर्णय गराएर उद्योगहरूलाई स्थानान्तरण गरिनेछ,’ उनले भने, ‘यसका लागि उद्योगीहरूसँग पनि छलफल भइरहेको छ ।’

दुई वर्षअघिको घोषणा

सरकारले दुई वर्षअघि नै काठमाडौं उपत्यकामा भएका औद्योगिक क्षेत्रलाई उपत्यकाबाहिर स्थानान्तरण गर्ने घोषणा गरेको थियो । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष ०७३÷७४ को बजेट वक्तव्यमार्फत उपत्यकाका तीनैवटा औद्योगिक क्षेत्रलाई आगामी दुई वर्षभित्र विस्थापन गर्ने घोषणा गरेका थिए । उपत्यकाको वातावरण प्रदूषण न्यूनीकरणका लागि सरकारले उक्त नीति लिएको थियो । सरकारले लिएको नीतिअनुसार नै औद्योगिक क्षेत्रभित्रका उद्योग सारिने उनले बताए । ‘औद्योगिक क्षेत्र नै सार्न अहिल्यै असम्भवप्रायः देखियो,’ उनले भने, ‘त्यही भएर औद्योगिक क्षेत्रभित्र रहेका बढी प्रदूषण गर्ने उद्योग सारिने तयारी थालिएको हो ।’

कति उद्योग स्थानान्तरण होला ?

हाल काठमाडौंमा बालाजु, पाटन र भक्तपुर गरेर तीनवटा औद्योगिक क्षेत्र रहेका छन् । तीन औद्योगिक क्षेत्रमा कुल २ सय ८५ वटा उद्योग सञ्चालनमा छन् । पाटन र भक्तपुरमा सञ्चालनमा रहेका हस्तकलालगायतका उद्योग स्थानान्तरण हुनेछैनन् । खासगरी प्लास्टिक उद्योगलाई स्थान्तरण गर्ने आइडिएमको नीति छ । तत्काल पाटन र भक्तपुर औद्योगिक क्षेत्रबाट करिब ५० वटा त्यस्ता उद्योग सार्न सकिने देखिएको उनले बताए । बालाजु औद्योगिक क्षेत्रबाट पनि सोही संख्याको हाराहारीमा उद्योग स्थानान्तरण हुनेछन् । तीनैवटा औद्योगिक क्षेत्रको पूर्वाधार र मेसिनरीमा ६ अर्ब १६ करोड ६ लाख रुपैयाँ प्रत्यक्ष लगानी भइसकेको छ । त्यहाँ रहेका उद्योगले ६ हजार ५ सयलाई प्रत्यक्ष रोजगारी दिएको आइडिएमको तथ्यांक छ ।

उद्योग सकारात्मक

सरकारले लिएको प्रदूषण रोक्ने तथा न्यूनीकरण गर्ने नीतिप्रति उद्योगी सकारात्मक रहेको औद्योगिक क्षेत्र उद्योग महासंघका प्रथम उपाध्यक्ष देवराज तामाङले बताए । तर, उद्योग सार्ने विषयमा आफूहरूको असहमति रहेको उनले बताए । ‘प्रदूषणयुक्त नयाँ उद्योग आउन रोक्नुपर्छ र भएका उद्योगलाई प्रविधिको माध्यमबाट प्रदूषणमुक्त बनाउनुपर्छ,’ उनले भने, ‘तर, उद्योग नै सार्ने काम गाह्रो छ ।’ उद्योग नै सार्ने अवस्थामा त्यसको क्षतिपूर्ति तिर्न सरकार तयार हुनुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु