logo

bar

चिनियाँ प्याज आउने भएपछि भारतीयको मूल्य घट्यो

अजित अधिकारी काठमाडाैँ | मङि्सर १८, २०७४

नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ प्याज काठमाडौंका बजारमा देखिने कालिमाटीस्थित थोक विक्रेता प्रकाश गजुरेलले जानकारी दिए । ‘चीनमा प्याज लोडिङ भएपछि भारतीय बजारबाट कम मूल्यमा आउन थालेको छ,’ गजुरेलले भने ।

व्यवसायीले बिहीबारसम्म भारतमा प्रतिकिलो ३६ देखि ४२ भारुमा प्याज खरिद गरेका थिए । तर, शनिबार र आइतबार प्रतिकिलो २८ देखि ३० भारुमा खरिद भएको गजुरेलले बताए । व्यवसायीले बिहीबारदेखि नै नेपाल ल्याउने प्याज चीनमा लोडिङ थालेका हुन् । चिनियाँ प्याज नेपाल आउने सूचना पाएपछि भारतीय व्यवसायीले मूल्य घटाएर दिन थालेको उनको भनाइ छ । यद्यपि चिनियाँ प्याज भारतीयको तुलनामा धेरै सस्तो पर्ने व्यवसायीको भनाइ छ । ‘चिनियाँ प्याज काठमाडौं आउँदा प्रतिकिलो ४० देखि ५० रुपैयाँ पर्छ,’ गजुरेलले भने ।

स्वदेशी किसानलाई सहुलियत दिएर प्याज उत्पादन गर्न प्रोत्साहन नगर्दा मुलुक पूर्ण रूपले परनिर्भर भएको हो । उत्पादन बढाउन सके नेपाली प्याज झन् स्वादिलो हुने र उपभोक्ताको रोजाइमा पर्ने व्यवसायीको भनाइ छ । ‘नेपालमै प्याज उत्पादन बढाउन सरकारी नीति ल्याउने र त्यसलाई केन्द्रित गर्ने हो भने अन्य देशको असर नेपाली उपभोक्ताले भोग्नुपर्दैन,’ गजुरेलले भने ।

भारतीय मूल्य नियन्त्रण गर्न थोरै आयात

चीनबाट आयात भएको १ लाख किलो प्याज ठूलो परिमाण होइन । सामान्य अवस्थामा १ दिनमा १ लाख किलो प्याजले काठमाडौंलगायत सहरी क्षेत्रको मागलाई धान्न मुस्किल हुन्छ । व्यवसायीका अनुसार दिनहुँ डेढ लाख किलोभन्दा बढी प्याज खपत हुन्छ । तर, भारतीय मूल्य नियन्त्रणका लागि पहिलो चरणमा थोरै आयात गरिएको व्यवसायीले बताए । १ लाख किलो चिनियाँ प्याजले मूल्य हस्तक्षेप नगरे थप आयात गर्ने तयारी व्यवसायीको छ । ‘पहिलो चरणमा ल्याएको १ सय टन (१ लाख किलो) प्याजले भारतीय मूल्य घटाउन मद्दत गर्छ भन्ने अपेक्षा छ,’ उनले भने, ‘तर, मूल्यमा सोचेजस्तो अन्तर नआए चीनबाट थप प्याज आयात गर्छौँ ।’

प्याजको भाउ घट्न थाल्यो

बिहीबार खुद्रा बजारमा प्याज प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री भएको थियो । आइतबार घटेर १ सय २० सम्म आइपुगेको छ । कालिमाटीको खुद्रा बजारमा योभन्दा कम १ सय १५ रुपैयाँमा कारोबार भएको कालिमाटी फलफूल तथा बजार विकास समितिले जानकारी दिएको छ । थोक बजारमा पनि मूल्य निरन्तर घटिरहेको छ । प्याजका थोक व्यवसायी गजुरेलका अनुसार आइतबार प्याजको थोक मूल्य ९०–९५ रुपैयाँ कायम भएको थियो । ‘केही दिनअघि थोकमा १ सय १५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो,’ उनले भने, ‘तर, अहिले बिस्तारै घट्न थालेको छ ।’

आयात बढ्यो

भारतबाट प्याज आयात बढेको छ । बिहीबारसम्म व्यवसायीले दुई दिनमा १ ट्रक प्याज आयात गर्ने गरेकोमा हाल दैनिक ५–६ ट्रक आउन थालेको व्यवसायी गजुरेलले जानकारी दिए । ‘प्याज आयात अहिले सामान्य बनेको छ र पहिलेकै परिमाण आउन थालेको छ,’ उनले भने, ‘आपूर्तिमा समस्या छैन, मूल्य घट्नचाहिँ अझै केही समय कुर्नुपर्ने देखिन्छ ।’ नेपाली बजारमा भारतीय प्याज ९५ प्रतिशत र चिनियाँ प्याज ५ प्रतिशतसम्म खपत हुन्छ । प्याजमा मुलुक पूर्ण रूपले परनिर्भर छ ।

यसकारण भारतीय प्याज महँगियो

भारतले निर्यात हतोत्साहित गर्न करिब दुई साताअघि ८ सय ५० डलर प्रतिटन निर्यात मूल्य तोकेको थियो । त्यसभन्दा करिब ७ सय टन प्रतिडलर थियो, तर प्याजको मूल्य बजारमा निर्भर थियो । स्वतन्त्र बजारमा हस्तक्षेप गर्दै राष्ट्रिय नीति बनाई प्याजको न्यूनतम निर्यात मूल्य तोकेपछि नेपालमा समेत भाउ अकासिएको छ । जसकारण खासगरी सहरी क्षेत्रका बासिन्दा महँगीको मारमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु