logo

bar

‘उत्तर कोरियाको धम्की सम्बोधन गर्न अमेरिका आतुर’

एजेन्सी न्यूयाेर्क | मङि्सर १८, २०७४

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले उत्तर कोरियाको धम्कीलाई सम्बोधन गर्न अमेरिका आतुर रहेको बताएका छन् । अमेरिका र उत्तर कोरियाबीचको वाकयुद्ध चलिरहेका वेला ट्रम्पका सल्लाहकारको सो अभिव्यक्ति आएको हो ।

तेलमा प्रतिबन्ध लगाऊ

ट्रम्पका सुरक्षा सल्लाहकार म्याकमास्टरले उत्तर कोरियामाथि तेलमा पूर्ण रूपमा प्रतिबन्ध लगाउन चीनलाई आग्रह गरे । उत्तर कोरियाले आयात गर्ने इन्धनमध्ये ७० प्रतिशतभन्दा बढी कच्चा तेल बेइजिङबाट आपूर्ति हुन्छ । तेलमा प्रतिबन्ध लगाएमा उत्तर कोरियालाई क्षेप्यास्त्र परीक्षणमा समस्या हुने उनको धारणा थियो । ‘हामीले बारम्बार उत्तर कोरियामाथि इन्धन प्रतिबन्ध लगाउन बेइजिङलाई आग्रह गर्दै आएका छौँ । चीनले उत्तरमाथि कडा प्रतिबन्ध लगाउनुपर्छ । इन्धनको अभाव भएमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न सक्दैन,’ उनले भने । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चीनका राष्ट्रपति सी जिनपिङलाई फोन गरी उत्तर कोरियालाई तेल निर्यात रोक्न अनुरोध गरेका थिए ।

अमेरिकी तटीय क्षेत्रमा थप सुरक्षा

अमेरिकाले पश्चिम तटीय क्षेत्रमा थप सुरक्षा बल परिचालन गर्ने भएको छ । उत्तर कोरियाले आफूले प्रहार गरेका क्षेप्यास्त्र सम्पूर्ण अमेरिकी भूमिमा पुग्न सक्ने दाबी गरिरहेकै वेला अमेरिकी रक्षा मन्त्रालयले तटीय क्षेत्रमा बसोवास गर्ने मानिसहरूको सुरक्षाका लागि थप सुरक्षाफौज परिचालन गर्ने भएको हो । उत्तर कोरियाले पछिल्लो समयमा आणविक परीक्षणलाई तीव्र रूपमा विकास गरेको र प्योङयाङको आणविक शक्तिलाई नजरअन्दाज गर्न नमिल्ने विज्ञहरूले बताउँदै आएका छन् ।

‘वासिङ्टन–सिउल सैन्य अभ्यास रोक’

अमेरिका र दक्षिण कोरियाले युद्धोत्तेजक कार्य गरेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न उत्तर कोरियाले माग गरेको छ । वासिङ्टन र सिउलबीचको वार्षिक संयुक्त सैनिक अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाले सो माग गरेको हो । अमेरिकी र दक्षिण कोरियाली सेनाबीच सोमबारदेखि सिउलमा संयुक्त सैन्य अभ्यास हुँदै छ । प्योङयाङले सो अभ्यासलाई उत्तर कोरियाविरुद्धको षड्यन्त्र बताउँदै आएको छ । ‘वार्षिक सैन्य अभ्यास उत्तर कोरियालाई उत्तेजना बनाउने बहाना हो । यस्ता कार्यले प्योङयाङलाई कुनै पनि वेला आणविक परीक्षण गर्न बाध्य पार्नेछ,’ उत्तर कोरियाको सरकारी रोदोङ समाचारपत्रको सम्पादकीयमा भनिएको छ ।

अनुसन्धान रोक्न भनेको छैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकी संघीय गुप्तचर विभाग (एफबिआई) का पूर्वनिर्देशक जेम्स कोमीलाई पूर्व अमेरिकी सुरक्षा सल्लाहकार मिखायल फ्लिनमाथिको अनुसन्धान रोक्न दबाब नदिएको बताएका छन् । ट्रम्पले आइतबार एक ट्विटमा भनेका छन्, ‘मैले अनुसन्धान रोक्न कहिल्यै पनि कोमीलाई दबाब दिइनँ । फ्लिनमाथिको अनुसन्धान रोक्न मैले दबाब दिएको भन्ने भनाइ झुट हो ।’ ट्रम्पले सन् २०१५ मा सम्पन्न राष्ट्रपति निर्वाचनका क्रममा आफू र आफ्नो निर्वाचन अभियानले रसियासँग साँठगाँठ नगरेको पनि पुनः दोहो¥याएका छन् । उनले सो आरोप आधारहीन भएको बताए ।

तपाईको प्रतिक्रिया