logo

bar

प्रकाशजी तपाईंसँग समय नै रहेनछ

नयाँ पत्रिका | मङि्सर १८, २०७४

मंसिर २ गते दिउँसो १२ बजेतिर प्रकाशजीलाई फोन गरेँ । फोन अफ थियो । तर, मैले त्यसमा फिक्री मानिनँ किनकि फोन सम्पर्क नहुनासाथ उहाँ फेसबुक मेसेन्जरमा सहजै भेटिनुहुन्थ्यो । प्रकाशजी हरपल अनलाइनमा उपलब्ध हुनुहुन्थ्यो । लगत्तै च्याटमा सम्पर्क गरेँ । मैले लेखेँ– यहाँ झापाको एउटा टेलिभिजनलाई क. प्रचण्डको अन्तर्वार्ताको टाइम जसरी नि नमिलाई भएन । तुरुन्त जवाफ आयो । म अहिले काठमाडौं छु । झापा आइएन, प्रताप सर (जोखबहादुर महरा)लाई भन्नू । यो संवाद नै मेरो प्रकाशजीसँगको अन्तिम संवाद होला भनेर कसरी कल्पना गर्नू र ?

प्रकाशजीले मसँग त्यो संक्षिप्त कुरा गर्दा १ः२० बजेको थियोे । उहाँले १ः१९ बजेमित्र टासी शेर्पालाई पनि रिप्लाई गर्नुभएको रहेछ । त्यसदिन शनिबार म झापाको बिर्तामोडमा थिएँ । माओवादी अध्यक्ष क. प्रचण्ड र एमाले अध्यक्ष क. केपी ओली दिउँसो बी एन्ड सी हस्पिटलमा पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्न आउने कार्यक्रम थियोे ।

प्रचण्डको टोली बिर्तामोडको कार्यक्रम सकेर दमक गयो । दमकमा केपी ओलीको चुनावी कार्यक्रम सम्पन्न भएपछि क. प्रचण्ड ओलीनिवास जानुभयो । लगत्तै आन्तरिक कार्यकर्ता भेटघाट भयो । त्यो सकेर टोली फेरि बिर्तामोड लाग्यो । बिर्तामोडमा पनि कार्यकर्ता भेटघाट हुँदा झन्डै रातिको १० बजिसकेको थियोे । दिनभरको थकानका बाबजुद पनि त्यसवेलासम्म अध्यक्ष प्रचण्ड एकदम शान्त नै हुनुहुन्थ्यो । हामीसँग छुटेपछि अध्यक्ष प्रचण्डले लाजिम्पाटमा सम्पर्क गरी सामान्य सन्चो–विसन्चो बुझेर सुत्नुभएछ ।

भोलिपल्ट काँकरभित्तामा संयुक्त आमसभालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम थियोे । बिर्तामोडमा बिहान सप्राइज मोडमा मर्निङ वाक जाने र एक ठाउँ पुगेर जनतासँगै चिया खाने योजना थियोे । हामी पनि सँगै मर्निङ वाक जाने तयारीमा थियौँ । बिहान सबेरै उठेर नित्यकर्म सकी क. प्रचण्डले ट्र्याक सुट र स्पोट्र्स जुत्ता लगाई मर्निङ वाकका लागि मूलढोकाबाट पाइला मात्र के सार्नुभएको थियोे, अकल्पनीय झट्का र खबरले फनक्कै फर्कनुभयो । र, सोफामा थचक्कै बस्नुभयो । अकल्पनीय खबर झन्झन् सत्यसाबित हुँदै गयो । यो असत्य भइदिओस् भन्ने अध्यक्ष प्रचण्ड र अरू सबैको पुकारको मूल्य निरन्तर घटिरहेको थियोे ।

त्यतिन्जेलमा प्रकाशजी अब यस दुनियाँमा बाँकी रहनुभएन भन्ने सनसनी फैलिसकेको थियोे । हृदयाघातबाट ३६ वर्षको उमेरमै संसारबाट उहाँ फगत एक्लै बिदा हुनुभयो । दिन–रात, स्वदेश–विदेश हरपल साथै रहने उहाँका पिता झापामा हुनुहुन्थ्यो । उहाँको प्राण जाँदै गर्दा आमा आफ्नै कोठामा, श्रीमती चुनावी अभियानमा जिल्लामा, दिदीहरू चितवनको चुनावी अभियानमा । उफ् ! कस्तो अपसोच ।

हामीसँग भेट्दा वा च्याटमा प्रकाशजी पटक–पटक भन्ने गर्नुहुन्थ्यो– मलाई मन्त्री, सांसद वा ठूलो मान्छे बन्ने इच्छा कहिल्यै छैन । मैले त खाली बुबालाई सहयोग गर्ने हो र सफल बनाउने हो । आफू एउटा सामान्य सिपाहीजस्तै भएर अध्यक्ष प्रचण्डलाई सहयोग गर्दा पनि आफ्नो आलोचना किन गरेका होलान् भनेर वेलावेलामा उहाँ चिन्ता गर्नुहुन्थ्यो ।

सुरेन्द्र बस्नेत, उपाध्यक्ष, अखिल क्रान्तिकारी

सशस्त्र जनयुद्धको भूमिगत सुप्रिम कमान्डर पिताको छोरा भएकाले प्रकाशजीको बाल्यकालमा राम्रो शिक्षा–दीक्षा हुन पाएन । स्कुल फेर्दाफेर्दै हैरान भयो । ‘कलम समाउने वेला बन्दुक समाउनुप¥यो । राम्रो पढ्नै पाइएन यार !’ प्रकाशजीले एकपटक मसँग भन्नुभएको थियोे । तर, उहाँ सूचना–प्रविधिमैत्री मात्र होइन, त्यसमा निकै दख्खल पनि राख्नुहुन्थ्यो । युद्धकालमै कम्प्युटरका प्राविधिक काममार्फत पार्टी केन्द्रीय कार्यालयलाई महत्वपूर्ण योगदान पु¥याउनुभएको थियोे ।

पछिल्लो चरणमा सामाजिक सञ्जालमा त झन् प्रकाशजी छपक्कै छाउनुभएको थियोे । नेपालमा बाबुराम भट्टराईपछि फेसबुक पेजमा सबैभन्दा धेरै लाइक भएको युवा राजनीतिज्ञ उहाँ नै हो । उहाँको पेजमा करिब ६ लाख फलोअर थिए । आमपार्टी पंक्ति, मिडिया र जनताका लागि प्रकाशजी आफैँमा एउटा सूचनाको खानी नै हुनुहुन्थ्यो । नेताहरूले बोलेको भाषणको भिडियो रेकर्ड गरेर तुरुन्त अपलोड गर्ने होस् वा बोल्दा–बोल्दै फेसबुक लाइभ दिने सुरुआती चलन करिब–करिब प्रकाशजीले नै चलाएको भन्दा पनि हुन्छ ।

म पत्रकारिताको विद्यार्थी पनि हुँ । मलाई राम्रोसँग हेक्का छ, प्रकाशजी मिडियाको निकै महत्वपूर्ण साथी हुनुहुन्थ्यो । मिडियालाई सहजै सूचना र जानकारी दिन उहाँ अतिरिक्त मिहिनेत गर्नुहुन्थ्यो । पूर्वप्रधानमन्त्री एवं शक्तिशाली नेताको एक्लो छोरा भएर पनि उहाँ घन्टौँसम्म मोबाइल उचालेर लाइभ दिइरहनुहुन्थ्यो । प्रचण्डलाई लाखौँलाख जनतासँग जोड्न हरपल तल्लीन हुनुहुन्थ्यो । कुनै एउटा पत्रकार वा जिज्ञासु कार्यकर्ताले प्रचण्ड कहाँ छन्, के बोल्दै छन्, राजनीति कता जाँदै छ ? भनेर सामान्य संकेत बुझ्नुपर्‍यो भने प्रकाशजीको वालमा गए हुन्थ्यो ।

राजनीतिमा सामाजिक सञ्जालको हस्तक्षेप बढ्न थालेपछि प्रकाशजीकै हुटहुटीमा सामाजिक सञ्जालमा अग्रणी भूमिका खेल्नेहरूको केही राउन्ड मिटिङ पनि बसियो । सामाजिक सञ्जालमार्फत सरकार, पार्टी र आन्दोलनविरुद्ध हुने अर्गनल दुष्प्रचार रोक्न र सही कुरा जनताबीच लैजान प्रकाशजीको विशेष नेतृत्वदायी भूमिका र जोड रहन्थ्यो । यसमा हामी केही युवाको एउटा विशेष टिमको सहकार्य थियोे । यो टिमलाई पनि यस मिसनमा अपूरणीय क्षति भएको छ ।

वाम एकताको अप्रत्यशीत र आकस्मिक झट्का आउने संकेत प्रकाशजीले गरिरहनुभएको थियोे । तर, त्यसलाई समयअघि नै एक्सपोज गर्नुहुन्न भन्नहुन्थ्यो । एक्सपोज भए भाँडिन्छ भन्ने थियोे । वाम एकताको सनसनी सामाजिक सञ्जालमा फैलिएपछि माओवादी केन्द्र र एमाले दुवैमा हलचल मच्चियो । फेसबुकमा अनेक टिप्पणी आउन थाले । प्रकाशजीले मलाई फोन गरेर भन्नुभयो– लौन यार ! युवाहरूलाई कन्ट्रोल गर्नुपर्‍यो । फेसबुकमा छरपस्ट छ । अब गठबन्धन मात्र होइन, एकता नै हुने हो । साथीहरूलाई कन्भिन्स गर्नुपर्‍यो । २५ मिनेटको त्यो कुराकानीमा वाम एकताप्रति प्रकाशजी निकै उत्साहित हुनुहुन्थ्यो ।

यसरी प्रकाशजीले राजनीतिका हरेक उतार–चढाव र मोडहरूमा हेडक्वाटरको लाइन विशेषतः युवाहरूमा अविलम्ब सम्प्रेषण गर्नुहुन्थ्यो । आज सामाजिक सञ्जालमा पोखिएका भावनाहरूबाट युवामाझ प्रकाशजी कति छाउनुभएको रहेछ भनेर सहजै बुझ्न सकिन्छ ।

नर्भिक अस्पतालदेखि पेरिसडाँडा अनि आर्यघाटसम्म उर्लिएको जनसागरले प्रकाशजी कसरी जनजनका मनमनमा बाँच्नुभएको रहेछ भनेर बुझ्न सकिन्छ । सधैँभरि पार्टी र नेतृत्वको असाध्यै धेरै चिन्ता गर्ने प्रकाशजीको आग्रहमा मैले कैयौँपटक फेसबुक प्रयोजनका ब्यानर र प्रचार सामग्री बनाएको छु । तीमध्ये कैयौँ भाइरल पनि बनेका छन् । आज म्यासेन्जर खोलेर हेर्दा सपना हो कि विपनाजस्तो लाग्छ । आँखैअगाडि खरानी भएको देख्दादेख्दै पनि पत्याउनै गाह्रो हुने कस्तो निर्मम सत्य !

आर्यघाटमा दागबत्ती दिएपछि प्रचण्डले जनतालाई हात हल्लाएर अभिवादन गर्नुभयो । हामीले मनमनै अठोट ग¥याँै– अब हामी लाखौँलाख युवाहरू नै तपार्इंका छोरा–छोरी हौँ । लाजिम्पाट निवासमा पुगेर हामीले अनेरास्ववियु, नेवि संघ र क्रान्तिकारीको संयुक्त समवेदना पत्र दिँदै भन्यौँ– अब देशका हामी लाखौँ युवा विद्यार्थी नै तपार्इंका छोरा–छोरी हौंँ ।

क. प्रचण्डले ‘मैले तपार्इंहरूमा नै प्रकाश देखेको छु र म तपार्इंहरूको भविष्यका लागि सम्हालिन्छु’ भन्नुभयो । प्रकाशजी तपार्इंले मलाई पटक–पटक चुनावका लागि चितवन बोलाउनुभएको थियोे । म चितवन त गएँ । तर, दुर्भाग्य तपार्इंकै श्रद्धाञ्जलिमा फूल चढाउनुप¥यो । जीवनमा तपाईं सधैँ हतार, तनाव र दबाबमा हुनुहुन्थ्यो । समय नै छोटो रहेछ । नेपालको परिवर्तनकारी आन्दोलनमा तपार्इंले गरेको योगदान हामी भुल्ने छैनाँै । अलबिदा क. प्रकाश अलबिदा !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु