logo

bar

पञ्चायतदेखि गणतन्त्रसम्म संसद् भवनको कथा

नयाँ पत्रिका | मङि्सर १८, २०७४

सिंहदरबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) अचेल सुनसान छ । संसद् सचिवालयका केही मर्यादापालकले दैनिकजसो यस भवनमा सुरक्षा दिइरहेका छन् । ०६४ सालपछि ढोका बन्द रहेको यही भवनमा कुनै वेला श्री ३ जुद्धशमशेर जबराले विदेशी पाहुनासँग भेटघाट गर्ने गर्दथे । सोही भवनमा राष्ट्रिय पञ्चायतदेखि ०६४ अघिसम्मका संसद् सञ्चालन भए । यो भवन र भवनभित्रका अविस्मरणीय केही घटनाक्रमबारे संसद् सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले नयाँ पत्रिकाका कृष्ण कट्टेललाई विविध रोचक जानकारी दिएका छन् :

जुद्धशमशेरको पाहुना कक्ष

यो भवन एक सय २५ वर्षअघि राणाकालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेर जबराले विदेशबाट आउने पाहुनासँग भेटघाट तथा छलफल गर्न प्रयोग गर्ने गरेको भनाइ छ । कतिपयले भने जुद्धशमशेरले यो भवन आफ्ना भाइ–भारदार भेला पारेर विभिन्न नृत्य हेर्न तथा रमाईलो गर्न प्रयोग गरेका थिए पनि भन्ने गर्दछन् । खास यो भवनबारे कुनै आधिकारिक लेख भने भेटिएको छैन ।

००७ सालमा देशमा प्रजातन्त्र आउनुअघि यो भवन राणाहरूले नै प्रयोग गर्दथे । ०१६ सालमा संसद्ीय व्यवस्था आएपछि मात्रै यो भवन संसद् भवनका रूपमा प्रयोग हुन थालेको हो । संसद्को पहिलो अधिवेशन यही भवनमा बसेको बताइन्छ । यही भवनबाट बिपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसबेला सभामुख कृष्णप्रसाद भट्टराई (किसुनजी) हुनुहुन्थ्यो ।

संसदीय व्यवस्था नटिकाउन मध्यरातमा उद्घाटन

०१५ सालमा प्रतिनिधि सभा निर्वाचन भयो । त्यसपछि नै जनप्रतिनिधिसहितको संसदीय व्यवस्थाको अभ्यास सुरु भएको हो । ०१६ सालमा यो भवनलाई संसद् भवनका रूपमा प्रयोग गर्न उद्घाटन कार्यक्रम राखियो । तत्कालीन राजसंस्थाले संसदीय व्यवस्था रुचाएको थिएन ।

राजा महेन्द्रले कुन समय उद्घाटन गर्दा संसदीय व्यवस्थालाई अशुभ हुन्छ भनेर ज्योतिषीलाई हेराएछन् । ज्योतिषीले ‘रातको १२ बजे उद्घाटन गरेमा संसदीय व्यवस्था धेरै वर्ष टिक्दैन’ भनेछन् । सोहीबमोजिम राजा महेन्द्रले मध्यरातमा तत्कालीन संसद्को उद्घाटन गरेका थिए । साँच्चै नै, त्यतिवेला संसदीय व्यवस्था मुस्किलले दुई वर्ष मात्रै टिक्यो ।

महेन्द्रको ‘कु’पछि राष्ट्रिय पञ्चायत

राजा महेन्द्रले ०१७ साल पुस १ गते पहिलो निर्वाचित सरकार र संसद्माथि ‘कु’ गरे । त्यसपछि लागू भएको पञ्चायतकालमा समेत यही भवनमा राष्ट्रिय पञ्चायतको बैठक बस्दै आयो । पञ्चायतकालमा यही भवनबाट विभिन्न ऐन तथा नियम बनाउने काम भयो । विभिन्न कालखण्डमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुँदै आयो । त्यसपछिको बैठक यही भवनमा बस्दै आयो ।

उतिवेला राजसभा भवन

०४५ सालतिर एक अध्ययन प्रतिवेदनले यो भवन ढल्न सक्ने खतरा रहेको निष्कर्ष निकाल्यो । त्यसपछि राष्ट्रिय पञ्चायतको एउटा अधिवेशन अहिलेको उपराष्ट्रपति कार्यालय रहेको भवनमा बस्यो । त्यो भवनलाई उतिवेला राजसभा भवन भन्ने गरिन्थ्यो । त्यहाँ राष्ट्रिय पञ्चायतको बैठक बस्दा ‘ह्यांगिङ’ माइक प्रयोग गरिएको थियो । तर, यता ग्यालरी भवनमा भने प्रत्येक सदस्यको अघिल्तिर टेबुलमा माइक हुन्थ्यो ।

ग्यालरी भवनलाई प्राविधिकहरूले केही मर्मत–सम्भार गरे । छानो मर्मत गरियो । ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । संसदीय व्यवस्था पुनःस्थापना भएपछि राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक गर्नुपर्ने भयो । यही भवनमा प्रतिनिधिसभाको बैठक चलाइयो भने हाल कृषि तथा जलस्रोत समितिको बैठक कक्ष रहेको हललाई त्यसवेला राष्ट्रिय सभा सञ्चालनका लागि प्रयोग गरिएको थियो । हाल संसद् सचिवालय रहेको भवन नम्बर एकमा पहिले गृह मन्त्रालय थियो ।

संसद् र सचिवालय सञ्चालनका लागि ठाउँ अभाव भएकाले गृह मन्त्रालय त्यस भवनबाट हटाएर सरकारले संसद्लाई नै हस्तान्तरण ग¥यो । ०६२/०६३ को आन्दोलनअघिको दुई सय पाँच सदस्यीय संसद् र अन्तरिम संविधानअनुसारको तीन सय ३० सदस्यीय संसद् यही ग्यालरी भवनबाटै सञ्चालन गरियो ।

सकसका साथ संसद् सञ्चालन

०६२/०६३ को परिवर्तनपछि अन्तरिम संविधान लागू भयो । सो संविधानअनुसार तीन सय ३० सदस्यीय संसद् बन्यो । त्यसअघि दुई सय पाँच जना मात्रै बस्दै आएको ग्यालरी भवनमा तीन सय ३० जना अटाउन मुस्किल थियो ।

तर, सरकारले अन्य क्षेत्रमा भवन उपलब्ध नगराएपछि संसद् सचिवालयले निकै सकसका साथ ग्यालरी भवनमै तीन सय ३० जना अटाउने प्रयत्न गर्‍यो । सोहीबमोजिम हामीले निकै मिहिनेतका साथ सबै सांसदलाई सोही भवनभित्र अटायौँ । तीन सय ३० जना एकैपटक यो भवनमा बस्दा एकापट्टिका ‘माननीय’हरूले अर्कापट्टिका माननीयहरूलाई देख्न नसक्ने अवस्था थियो । बडो सकस भए पनि सचिवालयले अन्तरिम संविधानअनुसारको संसद्समेत यही भवनबाट चलायो ।

अन्ततः बिआइसिसी भाडामा

०६४ सालमा संविधानसभाको पहिलो निर्वाचन हुँदै थियो । सरकारका मन्त्रीदेखि नेता तथा तत्कालीन सभामुख सुवास नेम्वाङसमेत चुनावमा लागिसक्नुभएको थियो । उहाँहरूको व्यस्तताका बाबजुद हामी संविधानसभाअनुसार ६ सय एक सदस्य अट्ने भवनको खोजीमा लाग्यौँ । फलस्वरूप संसद् सचिवालय र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबीच पहिलो संविधानसभा निर्वाचनपछि वार्षिक पाँच करोड ६३ लाख ३२ हजार भाडा तिर्नुपर्ने सम्झौतासहित बिआइसिसी भवन प्रयोग गर्ने सहमति भयो ।

सूर्यबहादुर थापाका कारण हंगामा

०४६ पछिकै घटना हो । संसदीय व्यवस्थाअनुसार भोटिङ हुने क्रममा भवनका चारैतर्फका ढोका बन्द गर्नुपर्ने हुन्छ । सोहीअनुसार भोटिङ हुँदै थियो । सभामुखले ‘चारैतर्फको ढोका बन्द गर्न’ भन्नुभयो । मर्यादापालकले ढोका बन्द गरे । तर, सूर्यबहादुर थापा बाहिरै पर्नुभएछ । उहाँ आएपछि मर्यादापालकले ढोका खोलिदिएछन् । थापा भित्र प्रवेश गरेपछि त्यहाँ हंगामा मच्चियो । हात हालाहालसम्मको स्थिति उत्पन्न भएको थियो ।

बम पड्किएको राति आकस्मिक बैठक

पञ्चायतको पालामै ०३६ सालमा ‘बम कान्ड’ भयो । त्यसवेला अन्नपूर्ण होटेलदेखि सिंहदरबारस्थित राष्ट्रिय पञ्चायत भवनकै अगाडि गेटमा बम विस्फोट भयो । आजभोलि राष्ट्रपतिबाट संसद्लाई सम्बोधन गरेझैँ त्यसवेला राजाले संसद्लाई सम्बोधन गर्दथे । साीिहबमोजिम शाही सम्बोधनपछिको एक दिन संसद्मा बोल्न चाहने माननीयको नाम टिप्ने समय छुट्याइन्थ्यो । बोल्न नाम टिपाउन आएका एकजना सांसद र लेखापाललगायत केही व्यक्ति राष्ट्रिय पञ्चायतको यही भवनअगाडि गेटमा विस्फोट भएको बमले घाइते भए ।

बहुदलीय व्यवस्थाको माग गर्दै त्यसवेला नेपाली कांग्रेसका नेताहरू सिंहदरबार गेटमा अनसन बसेका थिए । बम पड्किएपछि उनीहरूको अनसनसमेत स्थगित भयो । त्यसवेला रामराजाप्रसाद सिंहले बम पड्काएको भनेर सरकारले भने पनि पछि त्यो पुष्टि हुन सकेन । बम पड्किएकै राति ९ बजे राष्ट्रिय पञ्चायतको आकस्मिक बैठक बसेको थियो ।

अपांगमैत्री बनाउने प्रयास

बहुदल आइसकेपछिकै घटना हो । त्यसवेलासम्म ग्यालरी भवन अपांगमैत्री थिएन । त्यसवेला अपांगमैत्री संसद् भएन भनेर आवाज उठ्यो । त्यसपछि संसद् सचिवालयले अपांगता भएका व्यक्तिसमेत सहज तरिकाले जान मिल्ने गरी भर्‍याङ हाल्यो । यसरी यो एउटै बिल्डिङले धेरै परिवर्तन हेरेको छ । संविधानसभामा सभासद्को संख्या ठूलो हुन्थेन भने यो भवन अहिलेसम्म पनि उत्तिकै रूपमा प्रयोग भइरहन्थ्यो । यस भवनमा राष्ट्रिय पञ्चायतदेखि संसद्को बैठक बस्दासम्म धेरै अविस्मरणीय घटना भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु