logo

bar

अन्तर्वार्ता : ईश्वर पोखरेल भन्छन्-विकास र समृद्धिको पुनर्जागरण अभियान चलाउँछौँ

सुरोजंग पाण्डे काठमाडौं | मङि्सर १८, २०७४

तेस्रोपटक काठमाडाैँ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नुभएको छ । यसअघि पनि धेरै मिहिनेत गरिरहनुभएजस्तो देखिन्छ, कस्तो परिणामको अपेक्षा गर्नुभएको छ ?

अवश्य, यसपटक परिणाम सकारात्मक आउने कुराप्रति म विश्वस्त छु । ०६४ को संविधानसभा निर्वाचनका वेला एउटा भिन्न अवस्था थियो । ०७० को निर्वाचनमा केही मत अपुग भयो, त्यसमा हाम्रै कमजोरी थियो । त्यसवेला केही प्राविधिक कुरा मतदातालाई बुझाउन सकेनौँ । मलाई आवश्यकभन्दा दोब्बर मत बदर भयो । अर्कातिर, त्यतिवेला दुईवटा शक्तिले एमालेविरुद्ध गठबन्धन नै गरे, त्यसको जबर्जस्त प्रभाव पर्यो । यद्यपि, निर्वाचनमा जित्दा मात्रै होइन, हार्दा पनि म यहाँका जनतासँगै छु । जनताको सुख र दुःखसँग निरन्तर सहयात्रामा, यहाँका सामाजिक विकासप्रतिको चासो र चिन्तामा जोडिँदै आएको छु । म यही क्षेत्रमा झन्डै तीन दशकदेखि स्थायी बसोवास गर्दै आएको छु । निरन्तर पछिल्ला दुई चुनावका परिणामपछि पार्टीभित्रै धेरै साथी र अध्यक्षले समेत अन्य सुरक्षित स्थान खोज्ने हो कि भनेर पनि सोध्नु भएको थियो, तर मलाई त्यसो गर्न मन लागेन । त्यसो गर्दा मैले यहाँका जनताप्रति अन्याय गरेको ठहथ्र्यो । बरू म यही क्षेत्रमा जनतासँगको परीक्षामा सामेल हुनुपर्छ र अनुमोदित हुनुपर्छ भन्ने महसुस गरेर मैदानमा उत्रिएको छु । यसपटक फराकिलो मतान्तरले विजय हुने कुरामा विश्वस्त छु ।

यसपटक जनताले तपाईंलाई किन जिताउने ?

राष्ट्रिय राजनीतिमा हाम्रो पार्टीले निर्वाह गर्दै आएको भूमिका नै सबैभन्दा महत्वपूर्ण आधार हो । हामी जहाँ उभियौँ, त्यहीँ राष्ट्रिय राजनीतिको मियो गाडिन्छ, यो आमजनताले पछिल्लोपटक अनुभूत गरेको तथ्य हो । संविधान निर्माणका क्रममा हाम्रो भूमिका सबैले देख्नुभएकै छ । संविधान जारी गर्नबाट रोक्नेविरुद्ध मुकाबिला गर्ने हामी हौँ । त्यसवेला संविधान जारी नगरौँ भन्दै क–कसले खुट्टा कमाएका थिए, एकपटक सम्झौँ त । अझ संवैधानिक पदमा बसेर पनि कतिपयको बोली नै लर्बराएको थियो । तर, पनि संविधानसभाबाट संविधानको निर्माण गराउनु हाम्रो मूल दायित्व हो भनेर अग्रपंक्तिमा रहेर संघर्ष गर्यौँ, हाम्रै सशक्त पहलमा संविधान जारी भयो । छिमेकसँगको असहज सम्बन्धको निराकरण, उत्तरी छिमेकी मुलुक चीनसँग पारवहन सम्झौता, स्थानीय चुनावमा हामीले पाएको सफलता र वाम गठबन्धनपछि सिर्जना भएको व्यापक जनलहर मेरा जित्ने आधार हुन् ।

पहिलो चरणमा निर्वाचन भएका प्रतिनिधिसभाका ३७ मध्ये कम्तीमा ३० सिट वाम गठबन्धनका उम्मेदवारले जित्ने विश्वास गरेका छौँ । दोस्रो चरणमा एक सय २८ मध्ये सयदेखि एक सय पाँच सिटमा जित्छौँ । ढुक्कका साथ म भन्न सक्छु, हामी वामपन्थी नेतृत्वमा बहुमतको सरकार बनाउँछौँ ।

दोस्रो चरणको चुनावी प्रचार उत्कर्षमा पुगेको छ । वाम गठबन्धनले कस्तो चुनावी परिणामको आकलन गरिरहेको छ ?

पहिलो चरणमा निर्वाचन भएका प्रतिनिधिसभाका ३७ मध्ये कम्तीमा ३० स्थानमा वाम गठबन्धनका उम्मेदवार विजय हुने विश्वास गरेका छौँ । दोस्रो चरणमा एक सय २८ मध्ये एक सयदेखि एक सय पाँच सिटमा जित्छौँ । ढुक्कका साथ म भन्न सक्छु, हामी वामपन्थी नेतृत्वको बहुमतको सरकार बनाउँछौँ । मंसिरको अन्तिम हप्ता सरकार बनाएर मुलुकमा नयाँ सरकारको अनुभूति दिलाउनेछौँ ।

ईश्वर पोखरेल, महासचिव, एमाले

चुनावी घोषणापत्रमा जनतालाई पूर्व–पश्चिम रेल कुदाउनेदेखि थुप्रै सपनाहरू बाँडेर भोट मागिरहनुभएको छ । यी सपना चुनावी एजेन्डा मात्र हुन् कि पूरा गर्ने आधार पनि छन् ?

झन्डै ६ दशकदेखिको राजनीतिक लडाइँ अब सकिएको छ । हाम्रो ध्यान मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराउनेमा केन्द्रित छ । त्यसबाहेक अन्य कुनै विकल्प छैन । एउटा जिम्मेवार राजनीतिक पार्टी र तिनका नेताको अभीष्ट मुलुकको समृद्धिबाहेक अरू केही हुनै सक्दैन । निश्चय नै हामी स्थायित्वको पक्षमा छौँ, जनताको म्यान्डेट पाउनेबित्तिकै हामीले अल्पकालीन र दीर्घकालीन योजना कार्यान्वयनको चरण सुरु गर्नैपर्छ ।

एक वर्षेदेखि पाँच वर्षेसम्म र त्यसपछि दस वर्षसम्म अनि २०९९ सम्म के–के गर्ने भनेर एउटा अवधारणा निर्माण गरिसकेका छौँ । के–के गर्दै जाने छौँ भन्ने विषयमा हामीले आफ्नो संकल्प जनतामाझ प्रस्तुत गरेका हौँ । सपनाको आलोकमै भविष्यको गन्तव्य तय गरिन्छ । हामीले कुनै हवाई कल्पना गरेका होइनौँ, यी यथार्थको धरातलमा छन् । हाम्रा योजना कुनै सपना होइनन्, लगत्तै कार्यान्वयनमा आउने कार्यसूची हुन् ।

हामीलाई अचम्म लागेको छ, केही समयअघि मात्रै हाम्रा सपनालाई उडाउने कांग्रेसीजनले आफ्नो घोषणापत्रमा रेल चलाउने प्रस्ताव लिएर आएका छन् । यसलाई के भन्ने ? जे भए पनि कांग्रेस हाम्रो सपना र योजना पछ्याउँदै आइरहेको छ, यो खुसीकै कुरा हो । हामी दुईतिहाइ बहुमत प्राप्त गर्नेबित्तिकै मुलुकको विकास र समृद्धिको पुनर्जागरण अभियान प्रारम्भ गर्छौं । वैदेशिक लगानी र स्थानीय सरकारसमेतको परिचालनबाट आर्थिक एजेन्डालाई प्राथमिकता दिएर भौतिक पूर्वाधार विकासमा घनीभूत रूपमा केन्द्रित हुन्छौँ । यो कुनै सपना होइन, निकट दिनमै यथार्थमा परिणत हुन थालेको देख्नुहुनेछ ।

एमाले र माओवादी केन्द्रबीच गठबन्धन भए पनि कार्यकर्ता र मतदाताबीचको असमझदारी कायमै रहेकाले प्रत्यक्ष फाइदा कांग्रेसले लिँदै छ भन्ने छ नि ?

सुरुमा टिकटका आकांक्षी वा उम्मेदवारबीचको भागवन्डा मिलाउनै सक्दैनन्, त्यसपछि देशभरि बागी उम्मेदवार हुन्छन् भनेर कोकोहोलो मच्चाइयो । तर, उम्मेदवार छनोटपछि देखिएको हार्दिकता र निर्वाचनका क्रममा दुई पार्टीका कार्यकर्ताबीचमा देखिएको एकताले तपाईंको यो प्रश्नलाई नै खारेज गरिसकेको छ । वास्तवमा, इमान्दारपूर्वक भन्दा कार्यकर्ता तहमा हामीले सोचेकोभन्दा उत्साहजनक अवस्था देखियो । अब त नेतृत्व पंक्ति एकता प्रक्रियाबाट पछाडि हट्ने अवस्था नै देख्दैन । स्थानीयस्तरमा दुई पार्टीका कार्यकर्ता भए पनि हेर्दा उनीहरू एउटै पार्टीका जस्ता देखिन्छन् ।

वाम गठबन्धनको सरकार बने मुलुकमा कम्युनिस्ट अधिनायकवाद आउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र रक्षाका लागि कांग्रेसलाई जिताउन आग्रह गरिरहनुभएको छ, यसमाथि तपाईंको के टिप्पणी छ ?

यो पुरातनपन्थी र आग्रहले विषाक्त भएको मनस्थितिबाट प्रकट भएको अभिव्यक्ति हो । कुनै शेरबहादुरजीले भन्नुहोस् वा अरू कुनै बहादुरजीले नै भन्नुहोस्, मतदाताले यस्ता कुरा पत्याएकै छैनन् । आज देउवाजी कहाँ पुगेर, कुन चस्मा लगाएर अधिनायकवादको कुरा गर्दै हुनुहुन्छ ? म बुझ्न सकिरहेको छैन । यो कांग्रेसको पराजित मानसिकताको अभिव्यक्ति मात्र हो । भर्खरै टेलिभिजनमा देख्दै थिएँ देउवाजीका सभा । उहाँ भन्दै हुनुहुन्थ्यो– कम्युनिस्ट शासनकालमा डाँको छाडेर रुनसमेत पाइँदैन, विदेशी लगानी आउँदैन, पत्रपत्रिका पढ्न पाइँदैन, निजी सम्पत्ति राख्न पाइदैन..! मलाई हाँसो लाग्यो । कांग्रेससँग देशको आर्थिक रूपान्तरणको, समृद्धि र विकासको ठोस योजना र आत्मविश्वास नै छैन । त्यसैले, उहाँहरू यस्ता अधारहीन आरोपका भरमा मतदातासमक्ष गैरहनुभएको छ ।

०५१ मा एमालेको सरकार बन्नुअघि उहाँहरूले नै गाउँ–गाउँमा कम्युनिस्ट पार्टीको सरकार बन्यो भने, बूढाबूढीलाई गोली ठोक्छन् भनेर हौवा पिटाउनु भएको थियो । तर, सरकारमा पुगेपछि हामीले वृद्धभत्तालगायतका सामाजिक लोककल्याणका काम अघि बढायौँ । अनि ती सबै भ्रम समाप्त भए । हामी कति लोकतान्त्रिक छौँ भन्ने कुरा बताउन ०४६ सालयता देखिएको पार्टीको आन्तरिक जीवन, राष्ट्रिय राजनीति र अन्य राष्ट्रिय मामिलामा यस पार्टीले निर्वाह गरेको भूमिका नै पर्याप्त छ ।

एमाले र माओवादीबीच चुनावी तालमेल मात्रै भएको हो, चुनावपछि पार्टी एकता हुँदैन भन्ने आशंका पनि छ नि ?

विचार, गन्तव्य र विश्लेषण मिलेकाले अब एकता अपरिहार्य छ । संयुक्त चुनावी घोषणापत्रका साथ गठबन्धनको तर्फबाट साझा उम्मेदवार मतदातासँग मत माग्दै छन् । केन्द्रीयस्तरमा पार्टी एकता संयोजन समिति गठन भइसक्यो । वाम गठबन्धनको चुनावी अभियान सशक्त रूपमा सञ्चालन भइरहेको छ । त्यसैले, पार्टी एकता अब अवश्यम्भावी बनिसक्यो । म भन्छु, कालिगण्डकी र सेतीगण्डकी नारायणी नदीमा मिसिएपछि पनि अलि परपरसम्म सेतो..सेतो… र कालो..कालो…रङमा बगिराख्या देखिन्छन् । नदी मिसिइसक्या छन्, अब छुट्टिने कुनै गुन्जायस नै छैन ।

उम्मेदवारले करोडौँ खर्च गरिरहेको कुरा बाहिर आइरहेका छन् । के अब धन नहुनेले चुनाव लड्नै नसक्ने स्थिति आएर राजनीतिबाटै पलायन हुनुपर्ने या समर्थक भएर मात्रै बस्नुपर्ने स्थिति आएको हो ?

बढ्दो निर्वाचन खर्चको प्रवृत्ति लोकतन्त्रका लागि राम्रो हुँदै होइन । किनकि, यसले निर्वाचनपछिका नीति–निर्माणमा लगानीकर्ताको स्वार्थबमोजिम नीतिगत भ्रष्टाचारलाई बढवा दिन्छ । त्यसैले बढ्दो चुनावी खर्चलाई निरुत्साहित गरिनुपर्छ । डेमोक्रेसीलाई ‘क्लेप्टोक्रेसी’ हुनबाट बचाउन जरुरी छ । अर्थात् लोकतन्त्रलाई भ्रष्टहरूको संरक्षक बन्नबाट जोगाउनुपर्छ ।

तपाईको प्रतिक्रिया