logo

bar

किन गर्छन् मानिसले आत्महत्या

नयाँ पत्रिका कास्की, १७ मंसिर | मङि्सर १७, २०७४

आदर्श प्रधान
मनोविज्ञ, होलिस्टिक माइन्ड्स
एन्ड लाइफ सेलिब्रेसन सेन्टर,धापासी

नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका छन् । बर्सेनि आत्महत्याको संख्या बढी नै रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ स्थानमा पर्छ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा छ । तर, लक्षण पहिचान गरी रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न पनि सम्भव छ :

कारण
-अत्यधिक रिसका कारणले पनि आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घटना, गम्भीर रोग, अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्,

-चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्महत्या गर्ने गर्छन्,

-प्रायः उदास र निराशावादी भावनाका कारण मानिसले आत्महत्यालाई रोज्छन् । आत्महत्या गर्ने समय मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुँदैनन्,

-कतिपय आत्महत्या वंशानुगत कारणले हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ,

-काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छन् ।

लक्षण

-आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ,

-यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छ,

-यस्ता मानिसले आफैँलाई हानि गर्ने विधिको खोज गरिरहेका हुन्छन्,

-अत्यन्त धेरै वा कम सुत्ने हुन्छन्,

-यस्ता मानिसले कि त अत्यन्तै धेरै खाने गर्छन् कि त कम खान्छन् साथै तौल पनि अधिक बढ्ने वा घट्ने हुन्छ,

-सामाजिक कार्यमा सहभागी नहुने, हुन नचाहने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन्,

रिसर्च

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ स्थानमा पर्छ । महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ वर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नुको कारण किटान गर्न त सकिँदैन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने देखाउँछ । डिप्रेसन आत्महत्या गर्न सघाउ पुर्‍याउने प्रमुख मानसिक रोग हो । त्यस्तै, बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगीहरूले पनि आत्महत्या गर्ने गर्छन् ।

यसरी गर्छन्
धेरै मानिसले झुन्डिएर आत्महत्या गरेको पाइन्छ । पुरुषले घरको सिलिङमा झुन्डिएर, धारिलो औजारले काटेर र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गर्छन् भने महिलाले हातको नसा काट्ने, अधिक मात्रामा निद्राको औषधिको सेवन गर्नेजस्ता आत्महत्याको उपाय अपनाउँछन् ।

रोकथाम
-आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलीमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।

-विशेष गरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । यस्तो लक्षण देखाउने व्यक्तिसम्म लामो समय रहन पनि आवश्यक हुन्छ ।

-यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ ।

-यस्ता प्रकृतिका मानिस लागुपदार्थ र मद्यपानको लतमा फसेको भए तत्काल मुक्त गर्न प्रयास गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया