logo

bar

सातामा साढे ३ अर्बभन्दा बढीको कारोबार

नयाँ पत्रिका काठमाडौं, १७ मंसिर | मङि्सर १७, २०७४

गत साता नेप्सेमा साढे ३ अर्बभन्दा बढीको कारोबार भएको छ । नेप्से परिसूचक भने गत साता ४४ दशमलव ३८ अंक बढेको छ । गत साता नेप्सेले परिसूचक ‘डबल बटम’ आकृति पूरा गरेर ब्रेक आउट भएको थियो । नेप्सेले सो आकृति पूरा गर्नेबित्तिकै लगानीकर्ताले परिसूचक बढ्ने संकेत पाए । यसले लगानीकर्ताको मनोबल बढ्न टेवा पुगेको थियो । फलस्वरूप गत साता नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार भएको छ ।

साथै पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र दोस्रो चरणको निर्वाचनको तयारी पूरा भइसकेका कारण पनि लगानीकर्ता उत्साहित भएका छन् । गत साता ५ कारोबार दिनका लागि खुलेको बजार दोस्रो कारोबार दिनमा ओरालो लागेको थियो भने अन्य चार कारोबार दिनमा उकालो लागेको थियो । नेप्सेको १४ दिने आरएसआई गत साताको अन्तिम कारोबार दिन ५९ दशमलव ८८ स्केलमा रहेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

गत साता १ सय ७६ कम्पनीको ३१ हजार ९ सय ४१ पटकको कारोबारमा ३ अर्ब ६५ करोड २५ लाख १० हजार रुपैयाँबराबरको ६८ लाख १८ हजार ९ सय ३ कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम ६२ दशमलव ९० प्रतिशत बढेको छ । अघिल्लो साता १ सय ८५ कम्पनीको २३ हजार ४ सय ९९ पटकको कारोबारमा २ अर्ब २३ करोड ७७ लाख ५३ हजार रुपैयाँबराबरको ५४ लाख ७४ हजार ३ सय कित्ता खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ४ सय ९३ दशमलव २९ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार ५ सय ३७ दशमलव ६७ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा २३ दशमलव ३३ अंक बढेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ५ दशमलव ११ अंक बढेर ३ सय २४ दशमलव २६ बिन्दुमा पुगेको छ ।

गत साता कारोबारमा आएका उत्पादनमूलक र व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहका परिसूचक बढेको छ । जलविद्युत् समूहको परिसूचक गत साता सर्वाधिक ८८ दशमलव १२ अंक बढेको छ । त्यसैगरी, बिमा समूहको परिसूचक ७४ अंक, होटेल समूहको परिसूचक ७२ दशमलव २५ अंक, ‘अन्य’ समूहको ४३ दशमलव शून्य ९ अंक, वाणिज्य बैंक समूहको १२ दशमलव ९५ अंक, वित्त समूहको ६ दशमलव शून्य ६ अंक र विकास बैंकको ३ दशमलव ३२ अंक बढेको छ । कारोबारमा आएको उत्पादनमूलक समूहको परिसूचक ५५ दशमलव ५५ अंक र व्यापार समूहको शून्य दशमलव २५ अंक घटेको छ ।

गत साता कारोबार रकमका आधारमा चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा नेपाल बैंक अगाडि रहेको छ । कारोबार संख्याका आधारमा भने बुटवल पावर कम्पनी अगाडि रहेको छ । सो साता चिलिमे हाइड्रोपावरको २५ करोड १६ लाख ३० हजारबराबरको सेयर खरिद–बिक्री भएको छ । नेपाल बैंकको ४ लाख ८० हजार कित्ता सेयर कारोबार भएको छ भने बुटवल पावरको १ हजार ७३ पटक कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया