logo

bar

निर्णायक टेस्टमा भारत हाबी

एजेन्सी दिल्ली, १७ मंसिर | मङि्सर १७, २०७४

कप्तान विराट कोहली र मुरली विजयको सानदार शतकीय साझेदारीको मद्दतमा भारत जारी भारत–श्रीलंका बीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन गतिलो सुरुवात गर्न सफल भएको छ । पहिलो दिन भारतले ४ विकेटको क्षतिमा ३ सय ७१ रनको विशाल स्कोर खडा गर्‍यो ।

भारतीय कप्तान विराट कोहोलीले लगातार तेस्रो शतक प्रहार गर्दा ओपनर ब्याट्सम्यान मुरली विजयले पनि श्रीलंकाविरुद्ध लगातार दोस्रो शतक प्रहार गरे । अन्तिम टेस्टको पहिलो दिन ४ विकेट गुमाएर ३ सय ७१ रनको विशाल स्कोर तयार गर्दा कप्तान कोहोली र विजय श्रीलंकाविरुद्ध पूर्ण रूपमा हाबी भए ।

२ सय ८३ रनको साझेदारी
कोहोलीले १ सय ८६ बलमा १६ चौकाको मद्दतमा १ सय ५६ रनको अविजित इनिंग खेल्दा विजयले पनि २ सय ६७ बलमा १३ चौकाको मद्दतमा १ सय ५५ रन बनाए । कोहोली र विजयले तेस्रो विकेटका लागि २ सय ८३ रनको उत्कृष्ट साझेदारी सम्भव बनाए । ओपनर शिखर धवन २३ रनमा पेभिलियन फर्किंदा चेतेश्वर पुजारा पनि २३ रन बनाएर आउट भए । त्यसपछि भने पूरा दिन कोहोली र विजयको नाममा रह्यो । दिनको खेल सकिने समयसम्ममा रोहित शर्माले ६ रन बनाएर कोहोलीलाई साथ दिइरहेका छन् ।

एकैदिन २ सय ५० बढीको पहिलो साझेदारी
कप्तान कोहोली र विजयबीच भएको २ सय ८३ रनको साझेदारी भारतका लागि कुनै पनि खेलाडीले एकैदिन गरेको सर्वाधिक ठूलो साझेदारी हो । भारतका कुनै पनि खेलाडीले एकैदिन २ सय ५० रन बढीको साझेदरी गरेको यो पहिलोपटक हो ।

पहिलो र अन्तिम सेसनमा दोहारो सफलताबाहेक श्रीलंकन बलरहरू दिनभर विकेटका लागि संघर्ष गरिरहे । भारतले पहिलो सेसनमा २७ ओभरमा दुई विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । त्यस्तै, दोस्रो सेसनमा विनाविकेट क्षतिमा ३० ओभर ब्याटिङ गर्दै १ सय २९ रन जोड्दा अन्तिम सेसनमा ३३ ओभर बलिङ गर्दै दुई विकेट गुमाएर १ सय २६ रन बनायो ।

अन्तिम समयमा श्रीलंकाको आस
दिनको खेल समाप्तितर्फ अघि बढ्दा श्रीलंकाले अन्तिम सेसनमा २ विकेट लिँदै केही राहत महसुस गर्‍यो । विजयलाई १ सय ५५ रनको व्यक्तिगत स्कोरमा आउट गरेको श्रीलंका थप ३ रन जोड्दा १ रनकै अवस्थामा रहानेलाई पेभिलियन पठाउँदै केही राहत महसुस गर्न सफल भयो ।

श्रीलंकाका बायाँहाते स्पिनर लक्ष्यन संदकनले १ सय १० रन दिएर २ विकेट लिए । अन्तिम ओभरमा गमागेले ६८ रन दिएर १ विकेट लिए । त्यस्तै, अफ स्पिनर दिलरुवान परेराले ९७ रन दिएर १ विकेट लिएका थिए ।

कोहलीको निर्णय सही
कोहलीले ब्याट्सम्यानका लागि राम्रो मानिएको पिचमा टस जितेर पहिलो ब्याटिङ गरेका थिए, जुन निर्णय भारतका लागि राम्रो साबित भयो । सुरुवातमा २३ रनको अवस्थामा दुई ब्याट्सम्यानलाई गुमाए पनि कोहोली र विजयले पाहुना टोलीलाई विकेटको कुनै मौका दिएनन् । भारतीय ब्याट्सम्यानद्वय कोहोली र विजय ६५ दशमलव ४ ओभरसम्म विकेट नगुमाई क्रिजमा थिए ।

हाइलाइटस्
कोहलीले टेस्ट क्रिकेटमा लगातार तेस्रो शतक प्रहार गरे । सन् २००२ मा राहुल द्रबिडले लगातार ३ शतक प्रहार गरेपछि भारतीय खेलाडीले लगातार ३ शतक प्रहार गरेको यो पहिलोपटक हो ।

भारतका तर्पmबाट सर्वाधिक छिटो ५ हजार रन पूरा गर्ने कोहली चौथो खेलाडी बने । उनले राहुल द्रबिडलाई पछि पारे । द्रबिडले १ सय ८ इनिङमा ५ हजार रन पूरा गर्दा कोहोलीले १ सय ५ इनिङमा ५ हजार रनको कोसेढुंगा पार गरे । उनीभन्दा अघि शीर्षस्थानमा सुनील गावस्कर, दोस्रोमा वीरेन्द्र सहवाग र सचिन तेन्दुलकर छन् ।

५२ कप्तान विराट कोहलीले आफ्नो करिअरको ५२औँ अन्तर्राष्ट्रिय शतक पूरा गरे । कोहलीको यो २०औँ टेस्ट शतक पनि हो । कोहलीले एकदिवसीयमा ३२ शतक प्रहार गरेका छन् ।

२० कोहलीले टेस्टमा २०औँ शतक प्रहार गर्दा टेस्टमा व्यक्तिगत छिटो शतक बनाउने खेलाडीका रूपमा रहे । उनले १ सय १० बलमा १४ चौका प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु