logo

bar

नेपाली वायुसेवामाथि युरोपको प्रतिबन्ध अझै हटेन

अच्युत पुरी काठमाडौं, १७ मंसिर | मङि्सर १७, २०७४

इयूको कालोसूचीमा नेपालका सबै र विश्वका १ सय ७८ वायुसेवा कम्पनी –

युरोपेली युनियनले नेपाली वायुसेवामाथिको प्रतिबन्धलाई निरन्तरता दिएको छ । २० मंसिर ०७० (५ डिसेम्बर २०१३) मा पहिलोपटक युरोपेली युनियनको ‘एयर सेफ्टी लिस्ट’मा सूचीकृत नेपाली वायुसेवा कम्पनी पछिल्लो ४ वर्षयता युरोपमा प्रतिबन्धित छ ।

इयूले गत बुधबार अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड पूरा नगरेका युरोपभन्दा बाहिरका कम्पनीहरूको पछिल्लो सूची सार्वजनिक गरेको छ । इयूको यो प्रतिबन्धको सूचीलाई ‘कालोसूची’ भन्ने गरिन्छ । यो सूचीमा नेपालका सबै वायुसेवा कम्पनीसहित विश्वका १ सय ७८ कम्पनी परेका छन् ।

इयूद्वारा जारी विज्ञप्तिअनुसार पछिल्लो अपडेटमा भेनेजुएलाको एक कम्पनी थपिएको छ भने दुईवटा वायुसेवा कम्पनीको प्रतिबन्ध फुकुवा भएको छ । युरोपेली आकाशमा हवाई सुरक्षालाई उच्च प्राथमिकता दिइएको र यस्तो प्रतिबन्ध हवाई सुरक्षा अभिवृद्धिका लागि प्रभावकारी उपाय बनेको इयूले जनाएको छ । इयू एयर सेफ्टी कमिटीको ब्रसेल्समा १३ देखि १५ नोभेम्बरसम्म बसेको बैठकले तय गरेको एयर सेफ्टी लिस्टलाई युरोपेली संसद्को यातायात समितिले समेत सहमति दिएपछि सार्वजनिक गरिएको हो ।

नेपालका १९ वायुसेवा कम्पनी प्रतिबन्धमा
इयूले नेपालका सबै वायुसेवा कम्पनीको प्रतिबन्धलाई निरन्तरता दिएको छ । नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनी सेफ्टी लिस्टमा परेका छन् । सेफ्टी लिस्टको आधार इयूमा आबद्ध मुलुकका हवाई सुरक्षा विशेषज्ञले दिने सुझाब तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तोकेका मापदण्ड कार्यान्वयनलाई बनाउने गरिएको बताइएको छ । नेपाल गत साउनमा आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटेकाले यस वर्ष इयूको प्रतिबन्धबाट पनि हट्ने अपेक्षा गरिएको थियो । तर, हरेक ६-६ महिनामा समीक्षा हुने यस सूचीबाट नेपाल हट्न सकेन ।

नेपालमा हाल एयर डाइनेस्टी, एयर काष्ठमण्डप, बुद्ध एयर, फिस्टेल एयर, गोमा एयर, हिमालय एयरलाइन्स, मकालु एयर र मनाङ एयरले उडान भरिरहेका छन् । त्यस्तै मुक्तिनाथ हेलिकोप्टर्स, नेपाल एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर, सिम्रिक एयरलाइन्स, सीता एयर, तारा एयर र यती एयरलाइन्सले पनि नियमित उडान भरिरहेको छ ।

किन हटेन नेपालमाथिको प्रतिबन्ध ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार युरोपेली युनियनले तत्काल नेपालमाथिको प्रतिबन्ध नहट्ने संकेत हवाई सुरक्षा समितिको बैठक अगाडि नै दिएको थियो । उनका अनुसार यस बैठकमा नेपालको एजेन्डा नै प्रवेश नगराउने संकेत दिइएको थियो । अर्कोतर्फ इयूले थप केही प्रश्न इमेलमार्फत पठाउने जानकारीसमेत गराएको थियो ।

आइकाओले नेपाललाई गम्भीर सुरक्षा चासो (एसएससी)को सूचीमा राखेपछि सोही सूचीलाई आधार मान्दै युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीलाई युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाउने गरी एयर सेफ्टी लिस्टमा सूचीकृत गर्‍यो । नेपाल आइकाओले उठाउँदै आएको विविध ८ विधामा सुधार गर्दै गम्भीर सुरक्षा चासोबाट हटिसकेको छ । प्राधिकरणका महानिर्देशक गौतमका अनुसार इयूले आइकाओको मापदण्डलाई एक आधार माने पनि आफ्नो निर्णय लागू गर्ने हुँदा एसएससी लिस्टबाट हट्नासाथ इयू प्रतिबन्ध हट्ने पक्का हुँदैन । इयू हवाई दुर्घटना, हवाई सुरक्षाका विश्वव्यापी मापदण्डको परिपालनालगायत विषयमा प्राधिकरण र वायुसेवा कम्पनीप्रति आश्वस्त हुन सकेको छैन ।

प्रतिबन्धको असर के हो ?
-मुलुकभित्रका सबै वायुसेवा युरोपको प्रतिबन्धमा पर्दा यसले युरोपेली बजारमा नेपाली पर्यटनबारे नकारात्मक छवि बनेको व्यवसायीहरूले बताउँदै आएका छन् ।

-नेपाल वायुसेवा निगम अहिले वाइडबडी जहाज खरिद गर्ने प्रक्रियामा छ । उसले यी जहाज युरोपका विभिन्न मुलुकसहित जापान, अस्ट्रेलिया, कोरियालगायत मुलुकमा उडाउने योजना बनाएको छ । प्रतिबन्ध नहटे नेवानिको योजना असफल हुन्छ ।

-प्रतिबन्ध नहटेसम्म नेपालमा दर्ता भएका अन्य सबै वायुसेवा कम्पनीका लागि युरोपको ढोका बन्द रहनेछ ।

म आफैँ भेटेर कुरा गर्छु
सञ्जीव गौतम
महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
हामीले नेपालमा हवाई सुरक्षा अभिवृद्धिका सन्दर्भमा धेरै काम गरेका छौँ । यसपटक भने युरोपेली युनियनबाट प्रतिबन्ध नहट्ने संकेत दिइसकेको थियो । उसले खासगरी नेपालभित्र व्यवस्थापन फेरबदलको सन्दर्भमा पनि प्रश्न उठाएको थियो । त्यसबाहेक थप केही प्रश्न इमेलमार्फत पठाउने जानकारीसमेत दिएको थियो । यसै महिना (डिसेम्बर)को अन्त्यतिर म आफैँ इयूका जिम्मेवार अधिकारीलाई भेटेर नेपालले गरेका कामबारे जानकारी गराउँछु ।

तपाईको प्रतिक्रिया