logo

bar

सिक्लेस हाइड्रोको परीक्षण उत्पादन

रोहितराज पराजुली कास्की, १७ मंसिर | मङि्सर १७, २०७४

१३ मेगावाट क्षमताको हाइड्रोको नियमित उत्पादन एक महिनापछि –

कास्कीको मादी गाउँपािलका–१ सिक्लेस मड्क्युमा सिक्लेस हाइड्रोपावरले निर्माण गरेको १३ मेगावाट क्षमताको सिक्लेस जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाबाट उत्पादित विद्युत् करिब १ महिनापछि राष्ट्रिय प्रसारणलाइनमा जोडिने भएको छ ।

‘रन अफ दी रिभर’ प्रविधिमार्फत कास्कीको पार्चे र नामार्जुङको सिमानामा रहेको मड्क्यु खोलामा बाँध बाँधेर पानीलाई आरसिसी बक्स च्यानल र पाइपमार्फत करिब तीन किलोमिटर तल मड्क्युमा निर्माण गरिएको पावर हाउसमा खसालिएको छ । ६.५ मेगावाट क्षमताका दुई टर्बाइनमार्फत १३ मेगावाट विद्युत् उत्पादन गरिएको कम्पनीका अध्यक्ष सूर्यबहादुर केसीले बताए ।

२ अर्ब १५ करोड लागतमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण गरिएको आयोजना भूकम्प र नाकाबन्दीका कारण निर्धारित समयभन्दा एक वर्षपछि मात्र निर्माण सम्पन्न भएको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि निर्माण अवधि एक वर्ष लम्बिँदा लागतसमेत १८ करोड रुपैयाँ बढेको केसीले जानकारी दिए ।

आयोजनामा ६० प्रतिशत केसी परिवार, बतास अर्गनाइजेसन, सेलवेज ग्रुप, केही एनआरएन र स्थानीय गरी ४९ जनाको लगानी रहेको छ । आयोजना निर्माण सुरु गर्दा १० मेगावाट मात्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिए पनि निर्माणका क्रममा थप ३ मेगावाट क्षमता बढाइएको उनले बताए ।

आयोजनाबाट उत्पादित विद्युत् आयोजनास्थलदेखि करिब २५ किलोमिटर टाढा रहेको पोखरा लेखनाथ– ३२ स्थित बुढीबजारमा रहेको १ सय ३२ केभिए प्रसारणलाइनको सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडिनेछ । आयोजनाको निर्माण पोखराको केसी कन्स्ट्रक्सन कम्पनीले गरेको हो । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणसँग हिउँदमा ७ रुपैयाँ र वर्षायाममा ४ रुपैयाँ प्रतियुनिटका दरले खरिद–बिक्री गर्ने सम्झौता भएको छ । आयोजनाको सहवित्तीयकरण नेपाल बैंक, नेपाल बंगलादेश बैंक, कृषि विकास बैंक, सिद्धार्थ बैंक, एनआइडिसी बैंकलगायतले गरेका छन् ।

तपाईको प्रतिक्रिया