logo

bar

पोखरा टु घान्द्रुक

गजेन्द्र चालिसे काठमाडौं, १७ मंसिर | मङि्सर १७, २०७४

‘हेर्दा राम्रो घान्द्रुके गाउँ छ
बस्ने भए मायालु दिलमा ठाउँ छ’
गायक तिलक बम मल्लको यो गीत कति सुनेँ कति । अनि, घान्द्रुकलाई आँखामा सजाउने मन कति भयो कति । अवसर जुर्‍यो, अघिल्लो साता ।

पोखरासम्म पुग्नु कुनै नौलो यात्रा थिएन । काठमाडौंबाट निस्केको पहिलो रात पोखरामा शरीर बिसाउँदा पनि मन थान्को लाग्न मानेन । इन्टरनेट तथा टेलिभिजन/पत्रिकामा देख्दै आएका घान्द्रुकका फोटा आँखामा झुल्किएर अस्थिर बनाइराखे । पोखराको एक रात तन्द्रामा बित्यो, घान्द्रुक कल्पेर ।

भोलिपल्ट कास्कीकै घान्द्रुक यात्रा सुरु भयो, पोखराबाट । ‘मुटु छुने लुम्लेको हावाले…’, समूहमा मादल साथमा हुँदा गित नगाउने कुरै भएन । चर्चामा रहेको लुम्लेको हावा छोएर घान्द्रुक जान पाउने भएपछि मन यसै–यसै फुरुंङ भयो ।

आहा ! क्या गज्जब, पोखराका आकाशमा उँडेका प्याराग्लाइडिङ माछापुच्छ्र्रे शिखरमै बस्न लागेजस्तो । लुम्लेबाट देखिएको यो दृश्य क्यामेरामा कैद नगर्ने कुरै भएन ।

नयाँ पुल छिचोलेपछि बल्ल घान्द्रुकको वास्तविक यात्रा सुरु भएझैँ लाग्यो । किनभने पक्की सडकको यात्रा नयाँ पुलबाटै टुंगिन्छ । झोलुंगो हल्लेझैँ हल्लिएको छ गाडी, झ्यालबाट देखिन्छन्, ठुल्ठूला पहाड, नजिकै बगिरहेछ मोदी खोला, पहाडका भित्तातिर हेर्दा मनै हर्ने छहरा । वीरे ठाँटी पुगिसकिएछ, कच्ची बाटोले दिएको पीडा ख्यालै भएन ।

अन्नपूर्ण पदमार्ग भएर घान्द्रुक पुग्नेहरू नयाँ पुल र वीरे ठाँटीतिर बाक्लै भेटिन्छन् । तर, हामीले सडकमार्ग रोजेका थियौँ । तिम्चे पुर्‍याएर गाडीले झारिदियो । साविकको घान्द्रुक गाविसमा पर्ने तिम्चे अहिले अन्नपूर्ण गाउँपालिका–१० मा पर्छ ।

घान्द्रुक हेर्ने रहर तिम्चेबाटै पूरा हुन सुरु हुन्छ । यहाँबाट घान्द्रुक गाउँ पुग्न मच्चिएर हिँड्दा पनि ४५ मिनेट लाग्ने रहेछ । तर, हामी त नयाँ–नयाँ दृश्यको मज्जा लुट्न हिँडेका, भुल्दै र रमाउँदै अघि बढ्यौँ, समयको पर्बाह रहेन ।

तिम्चेबाट २० मिनेटको तेर्पायँ बाटो छिचोलेपछि नबसी साध्यै भएन । थकाइले होइन, पारिपट्टि देखिने मनमोहक लान्द्रुक गाउँले । १० मिनेट आँखा रमाएपछि पाइला अगाडि लम्किए । साँझको मधुरो घामले हिमालमा सुन पोतेको देख्दा केहीबेरमै फेरि पाइला अडिए ।

वरिपरि झपक्क फुलेका पैयुँ फूल र पारिपट्टि टल्केका धौलागिरि र माछापुच्छ्रे हिमालको दृश्यको स्वाद लिँदै घान्द्रुक गाउँ पुग्दा झमक्कै साँझ परिसकेको थियो । रात्रिकालीन घान्द्रुकको मज्जा फेरि बेग्लै । चिसोमा फायर क्याम्प र नाचगानको रसस्वादन । तर, आँखाले प्रकृतिको स्वाद पाएको घान्द्रुक यात्रामा जिब्रोले गाउँलेपन भेटेन । कुनै पनि खान्कीमा स्थानीयपन भेट्न मुस्किल रहेछ । होमस्टे कल्पना गरेर गएको घान्द्रुकमा त ठमेलकाजस्ता होटेल रहेछन् । कोदोको रक्सी होइन, ब्रान्डेड वाइन बिक्दो रहेछ ।

रात्रिकालीन रमझमसँगै अबेर निदाए पनि बिहानी घामको झुल्कोले धौलागिरि र माछापुच्छ्रेमा लाली पोतेको हेर्न सबेरै उठ्नैपर्‍यो । होटेलको झ्यालबाटै त्यो सौन्दर्य क्यामेरामा उतार्न तयार भएँ । खानपान र जीवनशैलीमा स्थानीयपन नभेटेको घान्द्रुकमा सामुन्ने देखिने केही डाँडाकाँडाका यथार्थले पनि खिन्न पार्‍यो । सिख्रा डाँडा हेर्दा सुन्दर नै देखिए पनि विश्वव्यापी तापक्रम वृद्धिको असरले हिउँ गायब भएको सुन्दा नमीठो लाग्यो । एक दशकअघिसम्म यही मौसममा यी डाँडाहरू लपक्कै हिउँले पुरिन्थे रे !

प्रकृति र पुरानो गाउँले शैलीको व्यवसायका कारण आन्तरिक र बाह्य पर्यटकसम्म चर्चित बनेको गन्तव्य आज सबै पाटोबाट फेरिँदै जाँदा कतै घान्द्रुकको अकर्षण कम हुँदै त जाँदैन ? काठमाडौं फर्किंदासम्म यही प्रश्नले मनमा घर गरिरह्यो ।

शब्द/तस्बिर : गजेन्द्र चालिसे

तपाईको प्रतिक्रिया