logo

bar

प्रचारमा सुधार

नयाँ पत्रिका काठमाडौं, १७ मंसिर | मङि्सर १७, २०७४

नेपालमा विगत ७० वर्षदेखि विभिन्न तह र प्रकारका निर्वाचनको अभ्यास हुँदै आएको छ । हरेक नयाँ निर्वाचनसँगै निर्वाचन प्रचारका सामग्रीको उत्पादन तथा त्यसको वितरण र व्यवस्थापन, प्रचारको तरिका र प्रविधिमा भिन्नता आएका छन् । हरेक पछिल्लो निर्वाचनमा केही न केही नयाँ प्रविधि उपलब्ध हुने गरेको छ । उम्मेदवार र राजनीतिक दलको आम्दानीमा वृद्धि हुने गरेको छ । मतदाताको चासो भिन्न हुने गरेका छन् । नयाँपनको खोजी मानिस मात्रको सनातन मनोविज्ञान हो । त्यसैले मतदातालाई प्रभावित गर्ने तरिकामा पनि भिन्नता अनिवार्य बन्छ । उपलब्ध विकल्पमध्ये पैसा बढी हुने उम्मेदवार र दलले नयाँनयाँ विकल्पलाई तडकभडकसाथ उपयोग गर्छन् । कतिपय वेला उम्मेदवारले थोरै खर्चमा प्रभावकारी प्रचार गर्न सक्छन् । पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोग, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालको उपलब्धता, हातहातमा पुगेको मोबाइल सेवा, घरघरमा उपलब्ध टिभी, रेडियो तथा एफएम र पत्रपत्रिका अहिले निर्वाचन प्रचारका मुख्य साधन बनेका छन् ।

डिजिटल प्रविधिको प्रयोग, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालको उपलब्धता, हातहातमा पुगेको मोबाइल सेवा, घरघरमा उपलब्ध टिभी, रेडियो तथा एफएम र पत्रपत्रिका अहिले निर्वाचन प्रचारका मुख्य साधन बनेका छन्

केही वर्षपहिलेसम्म पनि निर्वाचन आएको जानकारी भित्तामा लेखिने ठूलाठूला नारा, घरघर र गल्लीगल्लीमा टाँसिने उम्मेदवारका तस्बिरसहितका ठूला र रंगीन पोस्टर, ब्यानर, तुल, तथा मोटरसाइकल र्‍यालीहरूले दिन्थे । टोलछिमेक फोहोर र एक–अर्का पार्टीका मतदातालाई चिढ्याउन पर्याप्त हुने यस्ता दृश्यले भरिएको हुन्थ्यो । यसले एकातिर एक–अर्काबीच आफ्नो बर्चस्व देखाउन हुने होडले आपसी सम्बन्धलाई तिक्ततापूर्ण बनाउन सहयोग गथ्र्यो, अर्कातिर साधारण नागरिकको मनोविज्ञानमा राजनीतिक गतिविधिप्रति विमोह जगाउने काम गथ्र्यो । तर, यतिवेला आएको परिवर्तन भने गज्जबको देखिएको छ । निर्वाचन आयोगले प्रचारको तडकभडक र खर्च नियन्त्रण गर्न तथा प्रतिस्पर्धी शक्तिबीचको द्वन्द्वलाई मत्थर बनाएर वैचारिक प्रतिस्पर्धालाई जोड दिन लागू गरेका नियमले यो सम्भव बनाएको हो । यससँगै निर्वाचनका वेला हुने द्विपक्षीय भिडन्तका घटनामा समेत कमी आएको छ । अनुसन्धानबाट पुष्टि गरिएको नभए पनि ०४८ देखि ०७४ सम्मका निर्वाचनका प्रवृत्तिलाई नियाल्ने जोकसैले पनि अनुभव गरेको विषय हो कि त्यतिवेला र अहिलेको निर्वाचन प्रचार शैलीमा भिन्नता अएको छ । अहिले यो बढी शालीन बन्दै गएको छ । यद्यपि, नेता र दलहरूले एक–अर्कालाई अनावश्यक र हुँदै नभएको दोष देखाउँदै आलोचना गर्ने, काल्पनिक भय सिर्जना गरेर मतदातालाई तर्साउने, गर्न नसकिने काम गर्छु भनेर वाचा गर्ने छलकपटको राजनीतिमा अझै कमी आएको छैन । तर, मतदातामा बढ्दो राजनीतिक चेतनाको सामना दल र तिनका उम्मेदवारले गर्नैपर्ने बाध्यता सिर्जना भएको छ । आफूले बोलेका विषयबारे उत्तरदायी बन्नुपर्ने बाध्यता उम्मेदवारलाई खडा हुँदै छ ।

अहिले त हरेकजसो मतदाता आफ्नो क्षेत्रको उम्मेदवारको भनाइ रेकर्ड गर्ने र पछि उसका कामसँग तुलना गरेर प्रश्न गर्ने हैसियतको भएको छ । एकपटक ढाँटेर हिँड्दैमा काम बनिहाल्ने अवस्था पनि छैन । ठूला शीर्ष नेतालाई बाहेक साधारण नेता, जो उम्मेदवार बनेका छन्, तिनले दोस्रोपटक मत माग्दा सामना गर्ने प्रश्नको जवाफ पनि तयार गरेरै जानुपर्ने बाध्यता सिर्जना भएको छ । यसरी निर्वाचन सामग्री प्रयोगको क्षेत्रमा आएको परिवर्तन र मतदाता चेतनामा आएको वृद्धिले निर्वाचनलाई थप रसिलो बनाउँदै लगेको छ ।

तपाईको प्रतिक्रिया