logo

bar
logo
Advertisment
SKIP THIS

कसले जितेर के हुन्छ ?

राधाकृष्ण लामिछाने | मङि्सर १७, २०७४

वर्तमान सन्दर्भमा नेपालको राजनीतिमा प्रचण्ड र केपी ओली भरोसा र आसलाग्दा नाम हुन् । कम्युनिस्ट पार्टी पनि गुण र दोषका आधारमा जनताबाट अनुमोदित हुनुपर्छ भन्ने मदन भण्डारीको भनाइसँग सहमत भएपछि एमाले र माओवादी केन्द्र चुनावी तालमेलसहित पार्टी एकताका लागि तयार भएका हुन् । दुई फरक राष्ट्रिय पार्टीलाई एकीकरणका लागि तयार बनाउने यसका अभियन्ता विशेषतः केपी ओली र प्रचण्डलगायतको देन सदियौँसम्मका लागि प्रशंसनीय हुनेछ । विगतमा चुनावपछि सत्ता र पदका लागि गठबन्धन गर्ने संस्कृति अन्त्य गर्दै निश्चित कार्यक्रम र मापदण्डका आधारमा गठबन्धन गर्ने संस्कृतिको पनि जग बसेको छ । यस नयाँ राजनीतिक संस्कार निर्माणका कारण देश अब राजनीतिक स्थायित्वको दिशामा अगाडि बढ्ने आशा पलाएको छ । यस्तो नयाँ परिवेश निर्माण गरेर यी दुई राजनेताले नेपाल र नेपालीका लागि नयाँ भाग्यरेखा कोर्ने महत्वपूर्ण कदमको सुरुवात गरेका छन् ।

लोकतान्त्रिक व्यवस्थामा आवधिक निर्वाचन एक अनिवार्य प्रक्रिया हो । निर्वाचनका माध्यामबाटै जनताले आफ्नो सार्वभौम अधिकार जनप्रतिनिधिलाई हस्तान्तरण गर्छन् । जनताबाट प्राप्त सार्वभौम अधिकार प्रयोग गरेर जनप्रतिनिधिले जनतामा शासन गर्छन् । कुनै पनि समाजमा दुईवटा वर्ग हुन्छन्, गरिब र धनी । गरिब र धनी वर्गका आधारभूत आवश्यकता फरक हुन्छन् । धनीका लागि मोटर, बंगला, कम्प्युटर, बोर्डिङ स्कुल, प्राइभेट अस्पताल आधारभूत आवश्यकता हुन् भने गरिबका लागि दुई छाक खाना, सुरक्षित वासस्थान, स्वास्थ्य चौकी, सरकारी अस्पताल, सूचनामा पहुँच, मल, बिउ, सडक, प्राविधिक सेवाको उपलब्धता आदि आधारभूत आवश्यकता हुन् । यी दुई वर्गबीच जहिले पनि वर्गीय स्वार्थका लागि टकराव हुन्छ र जसको हातमा शक्ति हुन्छ, उसले नै राष्ट्रिय स्रोत र साधन आफ्नो हितमा उपयोग गर्छन् । देशको शासनसत्तामा गरिबको पहुँच नहुँदा गरिब समुदायका आधारभूत आवश्यकताका लागि तड्पिनुपर्छ भने सत्तामा पहुँच भएको वर्गले सहज रूपमा राष्ट्रिय स्रोत र साधन आफ्नो स्वार्थमा प्रयोग गर्छन् । यिनले कथम्कदाचित सहज रूपमा स्रोत र साधन उपयोग गर्न सकेनन् भने देशको नियम र कानुनमै संशोधन गरेर भए पनि देशको स्रोत र साधनको दुरुपयोग गर्छन् । यिनीहरूका लागि शासनसत्ताको शक्ति प्राप्ति नै एक मात्र उद्देश्य हो ।

गरिब वर्ग औषधि नपाएर आत्महत्या गर्न बाध्य छन्, सरकारी विद्यालयको पास प्रतिशत औसतभन्दा निकै कम छ भने अभिजात्य वर्गका लागि सबै कुराको सहज पहुँच छ । राष्ट्रिय ढुकुटीको ब्रह्मलुट गरेर उनीहरूका आधारभूत मात्रै नभएर विलासिताका कुरासमेत परिपूर्ति गरिएका छन् । यो विडम्बनापूर्ण अवस्था अन्त्य नभइन्जेलसम्म सहरी गरिब र ग्रामीण जनसमुदायको जीवनस्तरमा सकारात्मक रूपान्तरण आउन सक्दैन । त्यसकारण बाहिरबाट नदेखिने गरी जरा गाडेर बसेको समस्याको समाधान खोज्न जरुरी छ । विगतमा राजनीतिक शासन व्यवस्थाको अन्योल र अस्थिर सरकारका कारण गरिबी, गरिब र विकासका मुद्दा ओझेलमा परे । अब राजनीतिक मुद्दा हल भइसकेका छन् र विकास एक मात्र एजेन्डा हो । अब तीव्र विकास चाहने कि यथास्थितिमै रमाउने भन्ने हामीले एक भोट कसलाई हाल्छौँ भन्ने विषयले निर्धारण गर्छ ।

अहिले निर्वाचन एउटा अत्यन्त महत्वपूर्ण अवसर बनेर आएको छ । यो नै आमजनताको पक्षमा सकारात्मक प्रभाव पार्ने अचुक माध्यम हो । त्यसकारण यस निर्वाचनमा कसले जिते के हुन्छ भन्ने कुरालाई विगतका क्रियाकलाप र भविष्यका कार्यक्रमका आधारमा मूल्यांकन गरेर सही पात्रलाई भोट दिनुपर्छ । यस महानिर्वाचनमा धेरै प्रकारका पार्टी र उम्मेदवार हाम्रा अगाडि आएका छन् र सबै उस्तै आकर्षक र लोभलाग्दा नारासहित भोट माग्न आएका छन् । यसपटक हामीले को सही र को गलत हो भन्ने छुट्याउन भुल गर्‍यौँ भने हामी निकै पछाडि पर्नेछौँ । कुनै पनि राजनीतिक पार्टी निश्चित सिद्धान्त र दर्शनबाट निर्देशित हुनुपर्छ । यो कसको हित गर्ने पार्टी हो र यसले जनतालाई कसरी सेवा र सहयोग गर्छ भन्नेबारे निक्र्योल गर्न सक्नुपर्छ । नेपालमा कम्युनिस्ट पार्टीहरू वर्गीय रूपमै सामाजिक आर्थिक रूपमा पछाडि पारिएका एवं आधुनिक सेवा सुविधाबाट वञ्चित रहेको मध्यम वर्गको हित गर्ने पार्टी हुन्, जसको प्रतिनिधित्व वाम गठबन्धनले गर्छ । लोकतान्त्रिक पद्धतिमार्फत राष्ट्रिय पुँजीपतिको संरक्षणसँगै आर्थिक विकास गरी समाजवाद स्थापना गर्ने यो गबठन्धनको घोषित लक्ष्य हो । यसभित्र सुकुम्बासीदेखि राष्ट्रिय पुँजीपतिलाई संरक्षण गर्ने सैद्धान्तिक आधारसहितका नीति तथा कार्यक्रम छन् । देश र जनताको नाममा निश्चित मूल्य मान्यता र आदर्श ठानेर शोषक वर्गको विरोधमा दशकौँ जेल, प्राण हत्केलामा राखेर जनताको मुक्तिका लागि सशस्त्र क्रान्ति कुनै पनि सत्तापुजारी वा व्यापारीबाट आस गर्न सकिँदैन । जब घोषित रूपमा क्रान्ति हुन्छ, त्यहाँ कमजोरी पनि हुन सक्छन् । ती कमजोरी स्वीकार गरेर त्यसको पक्षमा आफूलाई उभ्याउन केवल राजनेताले मात्रै सक्छन्, कुनै जग्गा दलाल, कमिसनखोर वा मुनाफाखोरको बुतामा त्यो हुन सक्दैन । मनन गरौँ, जब हिजो त्याग र बलिदानका वेला थियो, विनासंकोच, विनापूर्वाग्रह देश र जनताको हितलाई केन्द्रमा राखेर त्याग र बलिदान गर्ने नेतामा तुच्छ आरोप र लाञ्छानाले कसको सेवा होला ? यो निर्वाचन त्यस्ता त्यागी दूरदर्शी र भिजनरी नेतृत्वलाई सम्मान गर्ने अवसर पनि हो ।

यस निर्वाचनपश्चात् बन्ने सरकारले हामी जनताको पक्षमा गर्नुपर्ने धेरै विषय छन् । यहाँको शिक्षामा आमूल रूपान्तरण गरेर हर गाउँको विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको विद्यालयमा रूपान्तरण गर्नुपर्नेछ । हरेक स्वास्थ्य चौकीलाई सुविधासम्पन्न अस्पतालमा रूपान्तरण गर्नुपर्नेछ । गाउँगाउँमा रहेको जातीय विभेद अन्त्य गरी समावेशी समाज निर्माण गर्नुपर्छ । घरघरमा रहेको छोरा र छोरीबीचको विभेद अन्त्य गर्नुपर्नेछ । दाइजो प्रथा र बोक्सी प्रथाबाट ग्रसित समाजलाई आदर्श समाजमा रूपान्तरण गर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु