logo

bar

गंगालालमा विस्तारित स्वास्थ्य सेवा झन्झटिलो

अर्जुन अधिकारी काठमाडौं, १७ मंसिर | मङि्सर १७, २०७४

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सुरु गरेको विस्तारित स्वास्थ्य सेवा झन्झटिलो देखिएको छ । समयका कारण ओपिडी सेवा लिन नपाएका तथा निजी क्लिनिकमा गएर महँगो शुल्क तिर्न बाध्य बिरामीले सरकारी अस्पतालमै विशेषज्ञ चिकित्सकको सेवा पाउने उद्देश्यले सुरु गरेको सेवा झन्झटिलो देखिएको हो ।

विस्तारित सेवाअन्तर्गत बिरामीले नर्मल ओपिडी टिकटको मूल्यभन्दा केही रकम बढी तिरेपछि अस्पतालले बिरामीले चाहेको चिकित्सकको समय मिलाएर स्वास्थ्य परीक्षण गरिन्छ । अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजिवराज भण्डारीका अनुसार विस्तारित सेवा बिरामीका लागि झन्झटिलो बन्दै गएको छ । उनले भने, ‘विस्तारित सेवा भनेको बिरामीले तत्काल पाउने सेवा हो । उनीहरूको सहजताका लागि पनि यो सेवा तत्काल दिनुपर्ने हुन्छ । तर, तीन घन्टासम्म कुरेर सेवा लिनुपर्ने बाध्यता देखिएको छ ।’ अस्पताल प्रशासनको कमजोरीका कारण सेवा प्रवाहमा समस्या देखिएको चिकित्सकहरू बताउँछन् ।

नर्मल ओपिडीमा जस्तै लाइन
केन्द्रले बिरामीको सहजताका लागि सुरु गरेको विस्तारित सेवाले बिरामीलाई थप समस्या बनाएको छ । संखुवासभाका दीपक बस्नेत स्वास्थ्य परीक्षण गर्न गत मंगलबार गंगालालमा आए । तर, उनी निजी क्लिनिकमा उपचार गराउन बाध्य भए । ‘विस्तारित सेवामार्फत सहज रूपमा स्वास्थ्य परीक्षण गराउने तय गरेँ । लामो समय लाइनमा बसेँ तर, सहज रूपमा परीक्षण गराउने आधार नदेखेपछि निजी क्लिनिकमा गएर स्वास्थ्य परीक्षण गराएँ,’ उनले भने ।

विस्तारित स्वास्थ्य सेवाका नाममा बिरामीलाई दुःख दिने कार्य उचित नभएको बस्नेतले बताए । गंगालालमा १५० जनादेखि २ सयको संख्यामा प्रतिदिन विस्तारित स्वास्थ्य सेवा लिने बिरामीहरू हुने गरेको डा. भण्डारीले बताए । नर्मल ओपिडी शुल्क २५ रुपैयाँ रहेको गंगालालमा विस्तारित स्वास्थ्य सेवा लिँदा २ सय रुपैयाँ तिर्नुपर्छ । एक चिकित्सकले १० जना बिरामी हेर्ने गरेका छन् । चिकित्सकका अनुसार नर्मल ओपिडी टिकट काटेर पनि तीन घन्टाको बीचमा बिरामीले स्वास्थ्य परीक्षण गराएर जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरु

लोकप्रिय समाचारहरु