logo

bar

उपत्यकाका यी ठाउँमा हुन्छ बढी जाम

दीपेन्द्र सापकोटा काठमाडाैं | मङि्सर १६, २०७४

काठमाडौंको मानवबस्ती दिनहुँ बाक्लिँदो छ । बढ्दो जनसंख्यासँगै सवारीसाधनको चाप पनि बढ्दो छ । सडकको अवस्था भने उस्तै छ । सवारी जामका कारण मानिसको दैनिकी पनि अस्तव्यस्त भइराखेको छ । यतिसम्म कि मानिस चाहेर पनि निर्धारित समयमा कार्यालय पुग्न सक्दैन । उपत्यकामा बढी जाम हुने क्षेत्र र जाम हुनका कारण यस्ता छन् :

गाडीका कारण बढी जाम हुने क्षेत्र
कलंकी: कलंकी काठमाडौं उपत्यकाकै बढी जाम हुने क्षेत्रमा पर्दछ । काठमाडौंको पश्चिमतर्फ रहेको कलंकी उपत्यका छिर्ने मुख्य नाका हो । यहाँबाट पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको महेन्द्रनगरका गाडी लाग्छन् । पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैक्षेत्र जाने–आउने जक्सन भएकाले कलंकीमा अत्याधिक जाम हुने गर्दछ । कलंकी ठूला ट्रक–बसदेखि लिएर ट्याक्सी, माइक्रोजस्ता साना सबै गाडीको आगमनस्थल हो । पैदलयात्री अत्याधिक चाप तथा पर्याप्त पार्किङको अभावका कारण पनि कलंकी क्षेत्रमा बढी जाम हुने गर्छ । यस क्षेत्रमा अव्यवस्थित फुटपाथ पसल छन् । साथै, सधैँ सडक निर्माण तथा मर्मत भइरहेको देखिन्छ । यसले थप जाम बढाएको छ ।

कोटेश्वर : केही वर्षदेखि बिपी राजमार्ग सञ्चालनमा आएयता कोटेश्वर काठमाडौं उपत्यकाको हब हुँदै गएको छ । त्यहाँबाट सुदूरपूर्वसँगै काठमाडौं पूर्वका विभिन्न पहाडी जिल्ला जाने गाडीको रुट पर्छ । त्यस क्षेत्रमा पैदलयात्री र फुटपाथ पसलेको पनि चाप हुने हुँदा बढी जाम हुने गरेको छ ।

चाबहिल–गौशाला–एयरपोर्ट : चाबहिलदेखि गौशालासम्मको सडकखण्ड पनि बढी जाम हुने क्षेत्रमा पर्छ । यो क्षेत्र पशुपतिनाथ मन्दिरसँगै रहेकाले बढी जाम हुने गरेको हो । यस क्षेत्रमा भिआपीहरूको आगमन पनि बढी हुने गरेको छ । यसले झन् जाम बढाएको छ । त्यस्तै, गौशालादेखि एयरपोर्टसम्मको क्षेत्र पनि बढी जाममा पर्छ । एयरपोर्टभित्र छिर्ने ट्याक्सी, बाइक तथा अन्य गाडी धेरै हुँदा जाम हुने गरेको हो । साथै यसै क्षेत्रभित्र भारतीय दर्शनार्थी लिएर आएका ठूला गाडी पनि गुड्ने गरेका छन् । ठूला गाडी व्यवस्थित नहुँदा जाम बढ्दो छ ।

थापाथली : थापाथली क्षेत्र ललितपुरबाट काठमाडौं झिर्ने मुख्य हब हो । यस क्षेत्र सिंहदरबार र पुतलीसडकको पनि नजिकै पर्ने भएकाले बढी जाम हुने गरेको छ । यस क्षेत्रमा सरकारीसँग विभिन्न प्राइभेट अफिस पनि बढी मात्रामा छन् । तसर्थ, यस क्षेत्रमा अफिस टाइममा बढी जाम हुन्छ । यस क्षेत्रमा बिहान ९ बजेदेखि बेलुका ७–८ बजेसम्म नै जाम हुने गरेको छ ।

जमल : जमल चोक पनि जाम हुने क्षेत्रमा पर्छ । यस क्षेत्रमा राष्ट्रिय नाचघर र विश्वज्योति हलसमेत छ । उपराष्ट्रपतिको कार्यालयदेखि निर्वाचन कार्यालयको अफिस पनि छ । यसकारण पनि यस क्षेत्रमा सर्वसाधारणसँगै भिआइपीको भिड लाग्छ । अर्को कुरा जमल क्षेत्रबाट असन, इन्द्रचोकजस्ता सपिङ एरिया पनि नजिकै पर्छन् । यसले गर्दा पनि सवारीसाधनको भिड लाग्छ ।
सोह्रखुट्टे : सोह्रखुट्टे सडकखण्डमा पनि बढी जाम हुन्छ । यो क्षेत्र पर्यटकीय क्षेत्र ठमेलसँगै पर्छ । यहाँ मानिसको आगमन बढी हुन्छ । तर, सडक साँघुरो नै छ । नुवाकोटतिर जाने मानिस यसै क्षेत्रबाट बाहिरिने भएकाले पनि जाम बढ्ने गरेको हो । सोह्रखुट्टेदेखि केशरमहलसम्मको क्षेत्र नै जाम हुने क्षेत्र हो ।

ल्होत्से चोक : सिटी सेन्टरबाट ज्ञानेश्वरबीच ल्होत्से चोक पर्छ । यस क्षेत्रमा सिटी सेन्टर भएकाले मानिसको भिड लाग्ने गर्छ । यो सडक पार गरेरै पशुपतिनाथदेखि एयरपोर्टसम्म पुग्नुपर्ने भएकाले पनि जाम हुने गरेको हो ।
पैदलयात्रुका कारण बढी जाम हुने क्षेत्र
केही वर्षयता सडक विस्तार भएसँगै बानेश्वर चोक क्षेत्रमा गाडीको जाम ह्वात्तै घटेको छ । यो क्षेत्र राजधानीको सेन्टरमा पर्ने भएकाले यहाँ पैदलयात्रीको भिड लाग्छ । पैदलयात्री बाटो काट्दा यहाँ जाम हुने गरेको छ । साथै, कलंकी, थापाथली, चाबहिल, गौशालाजस्ता क्षेत्रमा पनि पैदलयात्रीकै कारण जाम हुने गरेको छ ।
मास ट्रान्पोटेसन सिस्टम नहुँदा जाम
अन्य देशमा जस्तो नेपालमा मास ट्रान्पोटेसन सिस्टम नहुँदा उपत्यकामा जाम बढी हुने गरेको प्रहरी अधिकारी बताउँछन् । ट्राफिक प्रवक्ता एएसपी उमेश रञ्जितकार भन्छन्, ‘यसकारण प्राइभेट गाडीहरू बढिरहेका छन् । क्षमताभन्दा गाडी बढी भएपछि जाम त हुने नै भइहाल्यो
नि !’ उनका अनुसार पछिल्लो समयमा उपत्यकामा साझा, महानगरीयलगायत ठूला गाडी थपिए तर साना विस्थापित भएका छैनन् । भन्छन्, ‘यहाँ साना गाडी हटाउने कुरा ग¥यो भने सिन्डिकेट आदि के–के भन्दै आन्दोलन हुन थाल्छ ।’
ट्याक्सी स्टप छैनन्
काठमाडौं उपत्यकामा मात्र १० हजार आठ सयभन्दा बढी ट्याक्सी छन् । तर, एक हजारको संख्यालाई पनि पार्किङको व्यवस्था गर्न नसकिएको प्रवक्ता रञ्जितकार स्विकार्छन् ।
कम ट्राफिक प्रहरी, प्रविधि पुरानै
उपत्यकाका तीन जिल्लामा १२ सय ८३ जना ट्राफिक प्रहरी मात्र कार्यरत छन् । त्यो पनि दरबन्दीभन्दा धेरै । दरबन्दी जम्मा सात सय ८५ को मात्रै छ । प्रवक्ता रञ्जितकारका अनुसार यो पर्याप्त संख्या होइन । उनी भन्छन्, ‘यदि, यति प्रहरी पनि आधुनिक प्रविधियुक्त भए त हुन्थ्यो । त्यो पनि छैन ।’ कम जनशक्तिले धेरै काम गर्नुपर्दा यातायात व्यवस्थापन गर्न कठिन भइरहेको उनको भनाइ छ ।

जहाँ जाम कमी भयो
बानेश्वर एरियामा जाम हटिसकेको प्रवक्ता रञ्जितकारको दाबी छ । त्यस्तै, सिंहदरबार, पुतलीसडक क्षेत्रमा पनि अलि कम हुँदै गएको उनको भनाइ छ । त्यसैगरी, कुपण्डोलदेखि जावलाखेलसम्मको क्षेत्र, महाराजगञ्ज तथा डिल्लीबजारदेखि मैतीदेवीसम्मको क्षेत्रमा जाममा कमी आएको प्रहरी तथ्यांकमा छ ।
यहाँ प्रयासरत
कलंकी, कोटेश्वर, गौशाला, चाबहिल तथा सोह्रखुट्टेदेखि केशरमहलसम्मको क्षेत्रमा जाम कम गर्ने प्रयास भइरहेको प्रवक्ता रञ्जितकारको दाबी छ । उनी भन्छन्, ‘हामी देखिनेगरी नै केही गर्न चाहन्छौँ । हामी आफैँ पनि जाममा पर्छौं । युनफर्ममा हुँदा र नहुँदा पनि प्रहरी अफिसर भएको एड्भान्टेज लिँदैनौँ ।’ उनले थपे, ‘जाममा परेको अनुभवका आधारमा संयन्त्रमा खबर पु¥याउने गर्छौं । सडकको स्थिति पनि आफैँं अवलोकन गर्छौं ।’
एउटै अन्डर पास मात्र बन्दै
विदेशमा जस्तो नेपालमा हालसम्म एउटै पनि अन्डर पास छैनन् । कलंकीमा बल्ल एउटा बन्दै छ पूरा भएको छैन । भोटाहिटीमा मान्छे हिँड्ने एउटा सब वे छ । त्यस्तै, हालसम्म एउटा पनि फ्लाइओभर बनेको छैन । फ्लाइओभर, अन्डरपास र सब वे पर्याप्त नहुँदा जाम हुने गरेको प्रहरीको कथन छ । प्रवक्ता रञ्जितकार भन्छन्, ‘जाम कम गर्न धेरै ठाउँमा अन्डर पास चाहिन्छ । चाहिने स्थानहरूको सूची बनाएर हामीले सम्बन्धित निकायमा माग गरिहेका छौँ ।’
फ्लाइओभर र अन्डरपास
माइतीघर, बानेश्वर, कालीमाटी, डिल्लीबजार, महाराजगन्ज, चाबहिल, त्रिपुरेश्वर, सातदोबाटो, नयाँ बसपार्क र थापाथली चोकमा फ्लाइओभर आवश्यक छ । त्यस्तै जावलाखेल चोक, दमकलमोड, कुमारीपाटी, कुपण्डोल, हनुमानस्थान, बानेश्वर, कलंकी, गट्ठाघर, माली पेट्रोलपम्प (कालिमाटी), साल्टटे«डिङ, ज्ञानेश्वर, वनस्थली, स्वयम्भू, गौशाला, सोह्रखुट्टे, भक्तपुर, सूर्यविनायक, एयरपोर्ट, बौद्ध, मित्रपार्क र कामनपा गेटमा अन्डरपास बनाउनुपर्ने ट्राफिक प्रहरीहरू बताउँछन् ।
हाल सञ्चालनमा रहेका आकाशेपुल
जमल, भोटाहिटी, रणोद्दीप चोक, पुरानो बसपार्क, भद्रकाली, नागस्थान माथिल्लो, नागस्थान तल्लो, न्युरोड गेट, वीर अस्पतालअगाडि, नयाँ बसपार्क, पुल्चोक, जडिबुटी, लोकन्थली चोक, कौशलटार, ट्राफिक प्रहरी प्रभाग गट्ठाघरअगाडि, चारदोबाटो, ठिमी चोक, सिर्जनानगर, सल्लाघारी, चुनदेवी, सूर्यविनायक, बी एन्ड बी हस्पिटलअगाडि र मनहरा पुलछेउ ।

तपाईको प्रतिक्रिया