logo

bar

गज्जब ब्लग : मृत्यु!

कृष्ण आचार्य काठमाडाैं | मङि्सर १६, २०७४

सञ्जयप्रति सद्भाव र हार्दिकता प्रकट गर्नेहरू धेरै र उनको विरोध गर्नेहरू थोरै थिए । उनी आफ्ना विरोधीको नाम औँलामा गनेर सुनाउँथे । भन्थे, ‘एक दिन आफैँ उनीहरू मेराअगाडि झुक्नेछन् ।’ उनीहरू झुके । सञ्जयको खुलेरै प्रशंसा पनि गरे । तर, यो सब उनले देख्न पाएनन् ।

अमेरिका जानुअघि विश्व पर्वतारोही एवं अल्ट्राधावक सञ्जय पण्डितसँग लामै भलाकुसारी भएको थियो । अलास्काको डेनाली हिमाल चड्नुअघिको त्यो हाम्रो भेट अन्तिम होला भन्ने मैले कल्पनासमेत गरेको थिइनँ । गर्नु पनि कसरी ? २६ वर्षको उमेरमा जोसिला, निरोगी र खाइलाग्दा देखिने सञ्जयले यो संसार छाड्छन् भनेर । तर, जे सोचिएको थिएन त्यही भयो । उनी डेनाली चढेर फर्किएपछि कुनै व्यवसाय गर्ने या ट्रेकिङ एजेन्सी खोल्ने योजनामा थिए । भनेका थिए, ‘हिमाल चढेर नाम त कमाइयो, तर दाम कमाउन सकिएन । अब त बाबु पनि बन्दै छु । बच्चाका लागि भए पनि केही न केही त गर्नैपर्छ ।’ उनकी श्रीमतीको पेटमा बच्चा थियो । र, उनी त्यसलाई लिएर निकै खुसी थिए । उनले बिहे गरेको धेरै वर्ष भएको थिएन । तर, श्रीमतीको साथ, सहयोग र हौसलाको सधै प्रशंसा गरिरहन्थे । जब उनको निधनको खबर आयो तब उनकी श्रीमती अचेत बनिन् । उनले आफूलाई त कसोकसो सम्हालिन्, तर पेटभित्र रहेको बच्चाले यो संसार देख्न पाएन । यसरी उनीबाट सञ्जयको नासोसमेत खोसियो । योभन्दा पीडादायी क्षण एउटी आमाका लागि अरू के नै हुन सक्छ र ? मृत्यु न सञ्जयले टार्न सके न अरूले रोक्न नै ।


कसैको मृत्युपछिका गतिविधि भने निकै भिन्न हुँदारहेछन् । मृत्युपछि उसलाई हेर्ने दृष्टिकोण, उसप्रति गरिने श्रद्धासुमन, समवेदनाका भावहरू, विभिन्न टीका–टिप्पणीमार्फत गरिने व्यक्त वा व्यक्तत्व प्रशंसा । सञ्जयको जीवनमा पनि यस्तै भयो । उनलाई हरेक घडीमा असफल पार्न लाग्नेहरू पहिलो पंक्तिमा उभिएर शोक मनाउन भ्याए । उनैले सञ्जयको वीरता र बहादुरीको प्रशंसा गर्दै गुनगान गाए र आलेखसम्म छपाए । सञ्जयले मलाई हरेक कुरा सेयर गर्थे । उनीप्रति सद्भाव र हार्दिकता प्रकट गर्नेहरू धेरै र उनको विरोध गर्नेहरू थोरै थिए । उनी आफ्ना विरोधीको नाम औँलामा गनेर सुनाउँथे । भन्थे, ‘एक दिन आफँै उनीहरू मेराअगाडि झुक्नेछन् ।’ उनीहरू झुके । सञ्जयको खुलेरै प्रशंसा पनि गरे । तर, यो सब उनले देख्न पाएनन् ।
काल र अकाल गरी मृत्यु दुई किसिमका हुन्छन् भनिन्छ । काल आएपछि हुने मृत्युले त्यतिसारो विध्वंस मच्चाउँदैन । चिन्ता, पीर, मर्का र वेदना हुन्छ, तर क्षणिक । र, यसलाई स्वाभाविक मृत्यु मानिन्छ । तर, अकालमा हुने मृत्यु निकै पीडादायी हुन्छ । यस्तो मृत्युुले थुप्रै सपनासँगै परिवारलाई पनि उजाड बनाइदिन्छ । अर्थात्, गहिरो चोट दिएर जान्छ । केही दिनअघि प्रकाश दाहालको मृत्यु यसको एउटा उदाहरण हो । ३६ वर्षको उमेरमा उनी यस संसारबाट बिदा हुन्छन् भन्ने कसैले कल्पनासमेत गरेका थिएनन् । अन्तिम भेटमा प्रकाशले एउटा अनलाइनमा आएको समाचारको लिंक देखाउँदै भनेका थिए, ‘चुनाव आयो अब फेरि मेरोबारेमा अनेक प्रोपोगान्डा गर्दै बुवा (प्रचण्ड) र श्रीमती (बिना) को भोट घटाउन चलखेल सुरु भइसक्यो ।’ त्यसो त उनी जीवित रहँदासम्म मिडियाले उनको बारेमा कहिल्यै राम्रो लेखेन । आफूलाई नबुझी, आफूसँग नसोधी आफ्नाबारेमा आएका समाचारको प्रकाश सधैँ खण्डन गर्थे । वेलाबेला उनी जनयुद्ध र आफ्नो जीवन सम्झन्थे । भन्थे, ‘परिवर्तनकै लागि भनेर पढ्ने उमेरमै बन्दुक बोकियो । अहिले बुवाले देशका लागि केही गर्ने अठोट लिनुभएको छ र म उहाँलाई साथ दिँदै छु । तर, मेरो त्यागको कहिल्यै कदर भएन ।’ उनी यस कुरामा पनि विश्वास राख्थे कि एक दिन उनको त्याग, भूमिका र देनको पक्कै कदर हुनेछ । त्यो दिन पनि आयो । उनीविरुद्ध खनिने मिडिया र व्यक्तिले प्रकाशको खुलेरै प्रशंसा गरे । प्रकाश यस्ता, प्रकाश उस्ता, प्रकाश त्यागी, प्रकाश दयालु, उनी महान्, असल छोरा आदिआदि । तर, यो सब देख्न, सुन्न र हेर्न पाएनन् ।
रुकुमका नवीन श्रेष्ठ र इटहरीकी अनिता प्रधान
(दुवै प्रहरी निरीक्षक) गत बुधबार विवाहबन्धनमा बाँधिए । उनीहरू बिहीबार खुसी साट्न बेहुलाको घर रुकुमकोट पुगे । र, शनिबार कार्यक्षेत्रमा फर्कने गरी शुक्रबार घरबाट बिदा लिएर हिँडे । तर, शुभसाइत र सफल दाम्पत्यजीवनका लागि गरिएको त्यो बिदाइ उनीहरूको जीवनकै अन्तिम बिदाइ बन्यो । उनीहरूको सपना क्षणभरमै चकनाचुर भयो । रमाउँदारमाउँदै उनीहरू संसारबाट बिदा भए । उनीहरू ‘पब्लिक फिगर’ थिएनन् । व्यक्तिगत रूपमा आरिस गर्नेहरू थिए–थिएनन् त्यो पनि थाहा भएन । तर, उनीहरूको मृत्युमा श्रद्धाञ्जली प्रकट गर्नेको संख्या औँलामा गन्न सकिने थिएन ।
आइतबार भोट हाल्न जाने क्रममा दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर ६ निवासी निर्मला फुँयालको मृत्यु भयो । २३ वर्षको उमेरमा हृदयाघातका कारण उनी यस संसारबाट बिदा भइन् । योभन्दा कारुणिक क्षण अरू के नै हुन सक्छ र ? यस विषयमा थप लेख्न किबोर्डमा हातका औँला चलेनन् । म आफैँ स्तब्ध छु ।
यस्तै रहेछ मृत्यु अनि मृत्युको नियम । मृत्यु जताततै छ । हिमालमा सञ्जय, कोठामा सुतिरहेका प्रकाश र यात्रा गरिरहेको विवाहितदम्पती त यसका केही उदाहरण मात्र हुन् । दैनिक यसरी कैयौँ मानिस संसारबाट बिदा भइरहेका छन् । न त मृत्युलाई देख्न सकिन्छ न रोक्न नै । ‘आयो टप्प टिप्यो लग्यो’ सायद यही हो मृत्युको नियम । न देख्न सकिने, न छेक्न नै । जहाँ, जसरी र जतिवेला पनि आउन सक्ने, जोकोहीलाई लान सक्ने । उमेर, पेसा, धर्म, जात, वर्ग केही केलाउँदैन मृत्युले । न त कुनै सम्झौता नै गर्छ । साँच्चै मृत्यु भयानक छ । जनयुद्धको समयमा जीवन त्याग गरेका १७ हजार जनता पनि यही नियमको परिबन्धनमा परेका थिए सायद ।

तपाईको प्रतिक्रिया